|
File Photo

राजकुमारीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने प्रयास गरेको आरोप लगाउँदै थाईल्याण्डको एक पार्टीलाई विघटन गर्ने प्रक्रिया सुरु गरिएको छ। निर्वाचन आयोगले राजकुमारीलाई राजनीतिमा ल्याउन खोज्ने ‘थाई रक्षा चार्ट पार्टी’लाई विघटनका लागि प्रक्रिया अगाडी बढाएको हो ।

आयोगले पूर्वप्रधानमन्त्री थाक्सिन शिनावात्राको सो पार्टीलाई विघटनका लागि बुधबार संवैधानिक अदालतसँग सोधेको छ। उनकै प्रभावमा परेर रक्षा चार्टको तर्फबाट थाई राजकुमारी उबोलरतनाले केही दिन अगाडी प्रधानमन्त्रीका लागि आफूले उम्मेदवारी दिने घोषणा गरेकी थिइन्।

उनको घोषणाप्रति उनका भाइ तथा थाइल्याण्डका राजा माहा वाजिरालोङकोर्नले आपत्ति जनाएका थिए भने उनले आपत्ति जनाएपछि निर्वाचन आयोगले उनलाई उम्मेदवार बन्न आयोग्य घोषणा गरेको थियो। राजाको असन्तुष्टि र आयोगको निर्णयपछि राजकुमारी उबोलरतनाले पनि कमजोरी भएको स्वीकार गर्दै क्षमा याचना गरेकी छन्।

उनले क्षमा याचना गरेसँगै निर्वाचन आयोगले उनलाई उम्मेदवार बनाउन खोजेको पार्टीलाई विघटनको प्रक्रिया थालेको हो। शाही परिवारका सदस्यलाई सक्रिय राजनीतिमा संलग्न गराउन खोज्नु कानुनविपरीत भएकाले त्यस्तो कार्यमा संलग्न रक्षा चार्टलाई विघटन गर्ने प्रक्रिया सुरु गर्नु परेको आयोगका अधिकारीहरूको भनाई छ।

आउदो मार्च २४ मा निर्वाचन हुन लागेकाले त्योभन्दा अगाडी नै अदालतले यस विषयमा निर्णय गर्नु पर्ने भएको छ। अदालतले विघटन गर्ने निर्णय गरेमा यसले शिनावात्रा परिवार र सो पार्टीले अझ लामो समय प्रतिवन्ध भोग्नु पर्ने छ भने आसन्न निर्वाचनमा भाग लिन पाउने छैन।

सैन्य विद्रोहपछि पदच्युत भई अहिले निर्वासित जीवन विताईरहनु भएका शिनावात्रालाई अहिलेको सत्ता पक्षले निषेध गर्ने रणनीतिको रुपमा यो विषयलाई अगाडी सारेको टिप्पणी गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.