|

धनगढी : सीवाइसी अत्तरियाले रुपन्देही च्यालेन्जर्सलाई ३९ रनले पराजित गरी धनगढी प्रिमियर लिग क्रिकेटमा लगातार दोस्रो जीत हात पारेको छ।

अत्तरियाले दिएको १२२ रनको लक्ष्य पछ्याएको रुपन्देही २० ओभर खेल्दै ८२ रनमा अलआउट भयो। रुपन्देहीका लागी सुमित महर्जनले अविजीत २२ रन बनाए। प्रदीप ऐरी १४, सन्दीप सुनार १५, विनोद भण्डारी १०, र विक्रम सोव १४ रन बनाएर आउट भए। भीम सार्की, वसन्त रेग्मी र ललितसिंह भण्डारी समान एक रनमा आउट भए।

रुपन्देहीका विदेशी खेलाडीद्वय बाबर हायत र पुनित मेहरा शून्यमा आउट भए। बलिङ तर्फ अत्तरियाका सन्नी पटेल, भुवन कार्की, दिपेन्द्रसिंह ऐरी, र दीपेन्द्र राउतले समान २-२ विकेट लिए। यस्तै कमलसिंह ऐरीले एक विकेट लिए ।

यसअघि अत्तरियाका कप्तान दीपेन्द्रसिंह ऐरीले यस प्रतियोगिताको व्यक्तिगत उच्च स्कोर बनाउने क्रममा ६७ रन जोडे। ५० बल खेलेका उनले १० चौका र एक छक्का प्रहार गरे। उनले ऋत गौतमसँग तेस्रो विकेटमा ५७ रनको साझेदारी गरे। ऋतसहित सुबेन्दु पाण्डे र सन्नी पटेल समान १२ रनमा आउट भए।

रुपन्देहीका ललितसिंह भण्डारीले तीन विकेट लिए। त्यस्तै विक्रम सोबले दुई तथा कप्तान वसन्त रेग्मी र पुनित मेहराले १-१ विकेट लिए। अलराउन्ड प्रदर्शन गरेका अत्तरियाका कप्तान दीपेन्द्रसिंह ऐरी प्लेयर अफ दी म्याच घोषित भए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.