|

काठमाडाैं :  प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले महेन्द्रनगरमै आएर संगठन शुद्धीकरण गरिरहेको र प्रहरी संगठनभित्रको भ्रष्टाचार निमिट्यान्न पार्ने भनेकै केही दिनमा नेपाल प्रहरीमा रहेका भाइको संलग्नतामा सुन तस्करी भइरहेको खुलेको छ। कञ्चनपुरको पुनर्वास नगरपालिका–२ दशरथ बस्तीमा सीआईबी सहितको नेपाल प्रहरीको टोलीले बिहीबार १८ किलो सुन बरामद गरेपछि यो रहस्य खुलेको हो भन्ने खबर अन्नपूर्ण पाेस्ट दैनिकमा छ।

निर्मला हत्याकाण्ड छानबिनका लागि महेन्द्रनगरमा रहेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एपी सुदीप गिरी नेतृत्वको प्रहरी टोलीले बिहीबार कञ्चनपुरको पुनर्वास नगरपालिकामा आलुको थुप्रोमुनि लुकाई राखेको अवस्थामा १८ किलो सुन बरामद गरेको हो।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रहरी उपरीक्षक सुदीप गिरी नेतृत्वको प्रहरी टोलीले कञ्चनपुरको पुनर्वास नगरपालिका–२ दशरथबस्तीका गंगालाल विकको घरभित्र आलुको थुप्रोमा लुकाई रोखेको अवस्थामा १०८ थान सुनका बिस्कुट फेला पारेको हो।

स्रोतका अनुसार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ घर भई भारतमा चालकको काम गरिरहेका लक्ष्मण तिरुवाले सुन ल्याएर भाइ सुरज तिरुवालाई दिएका थिए। सुरज नेपाल प्रहरीका जवान हुन् । सुरजले सुन ससुराली घरमा राखेको सूचना पाएपछि प्रहरी त्यहा पुगेको थियो।

सुरज जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत छन्। ‘सादा पोसाकका प्रहरी र सुरजको सहभागितामा उक्त सुन भारतबाट तस्करी गरी उनको ससुरालीमा लुकाइएको थाहा भएको छ’, अप्रेसनमा खटिएका एक अधिकृतले भने।

सीआईबीले सुरज तिरुवालाई पनि पक्राउ गरेको छ। सुरजलाई नै लगेर प्रहरीले अप्रेसन सफल गरेको सुदूरपश्चिम क्षेत्रका निमित्त प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विक्रमबहादुर चन्दले बताए। ‘सीआईबी, त्रिभुवन बस्ती प्रहरी र कैलालीबाट खटिएको अपराधविज्ञ प्रहरीको टोलीले सुन बरामद गरेको हो’, एसएसपी चन्दले भने।

यसअघि निर्मला पन्त हत्याकाण्डपछि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल पहिलो पटक भदौ २२ गते र त्यसपछि पुस १५ गते दुई पटक महेन्द्रनगर आएका थिए। उनले प्रहरीभित्रको भ्रष्टाचार हटाउने र संगठन शुद्धीकरणमा लागिरहेको बताएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.