|

विराटनगर : प्रदेशक १ सरकार गठनको १ वर्षमा उल्लेख्य उपलब्धि हासिल गर्न नसके पनि जग निर्माण गर्न आफूहरू सक्षम रहेको प्रदेशका मुख्यमन्त्री शेरधन राईले बताएका छन्। प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबा एक समारोह गरी मुख्यमन्त्री राईले जनताको विश्वास आर्जन गर्न र आशाको किरण कोर्न प्रदेश सफल भएको दाबी पनि गरे।

गत फागुन २ गते प्रदेश सरकार गठन भएको थियो। त्यसयता प्रदेश सरकारले दुई दर्जन कानून निर्माण गर्नुको साथै विभिन्न विकास निर्माणका कामको सुरुआत गरेको छ। प्रदेश सरकारको १ वर्षे उपलब्धि सार्वजनिकीकरण गर्न शुक्रबार आयोजित कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले अभावै अभावका बीचमा गठन भएको प्रदेश सरकारले ६ महिना कार्यालय स्थापना गर्दा समय व्यतित गरेको र अन्य समयमा कानून निर्माण र विकास निर्माणको जग निर्माणमा ध्यान दिएको बताए। प्रदेश सरकारले भनेजस्तो काम गर्न नसक्नुमा संघबाट अधिकार हस्तान्तरण नहुनु र कानून निर्माणमा संघीय सरकारबाट सहयोग नहुनु पनि मुख्य रहेको उनको भनाइ थियो।

मुख्यमन्त्री राईले उद्योग, पर्यटन, ऊर्जालगायतका क्षेत्रमा निजी क्षेत्रसँग सहकार्यको बाटो खुलेको र लगानीकर्ताका हिसाबले पनि प्रदेश १ अनुकूल हो भन्ने सन्देश दिने कुरामा सफल भएको दाबी पनि गरे। उनले कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण र बजारीकरणलाई मुख्य जोड दिँदै त्यसमा हामीले नीतिगत रूपमा कृषि क्षेत्रमा संलग्न हुन चाहनेहरूका लागि सुनिश्चित आधार तयार गरेको दाबी पनि गरे।

कार्यक्रममा बोल्दै १ नम्बर प्रदेश सभाका सभामुख प्रदीप भण्डारीले संघीय सरकारले आगामि फागुन सम्ममा कानून निर्माण गरेर दिएपनि सबै कुराको हल हुने बताए। अहिले संघीय सरकारले कानून नबनाउँदा प्रदेशलाई र प्रदेशले कानून नबनाउँदा स्थानीय सरकारलाई अप्ठ्यारो परेको बताउँदै सम्बन्धित निकायलाई आफूहरूले घच्घच्याइरहेको उनले बताए।

प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङले अभाव र समस्याका बीच प्रदेश सरकारले गरेको काम र चालेका कदमप्रति आफू सन्तुष्ट रहेको बताए। कार्यक्रममा प्रदेशका सबै मन्त्री, सांसदहरू, मन्त्रालयका सचिवहरू, सुरक्षा अधिकारी तथा विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो। सो अवसरमा मुख्यमन्त्री राईले १ नम्बर प्रदेशका ९० वर्ष माथिका वृद्धवृद्धा ज्येष्ठ नागरिकलाई चालू आर्थिक वर्षमा एकमुष्ट ५ हजार नगद दिने घोषणा पनि गरेका थिए।

गाडी र चावी हस्तान्तरण

प्रदेश १ सरकार गठन भएको १ वर्ष पुगेको अवसरमा प्रदेश १ प्रहरी कार्यालयलाई सुरक्षा सतर्कता र आपतकालीन उद्धारका लागि भन्दै १४ थान गाडी र ३ सय ४५ थान मोटरसाइकल हस्तान्तरण गरेको छ। प्रदेश सरकारको १ वर्षको उपलब्धि सार्वजनिकीकरण कार्यक्रमका अवसरमा आन्तरिक मामिला मन्त्रालयले मुख्यमन्त्री मार्फत प्रदेश प्रहरी कार्यालयलाई उक्त सवारी साधनहरू हस्तान्तरण गरेको हो।

तराई क्षेत्रको प्रयोजनका लागि १ सय थान १ सय ५० सिसिका बजाज पल्सर मोटरसाइकल र पहाडी क्षेत्रको प्रयोजनका लागि १ सय थान १ सय ६० सिसिका टिभिएस अपाचे मोटरसाइकल, १ सय ५० सिसिका बजाज पल्सर टिडी १ सय थान १ नम्बर प्रदेश प्रहरी कार्यालय अन्तर्गतका जिल्ला प्रहरीलाई, १ सय सिसीका यामाहा एफजेड आर आर ३० थान सशस्त्र प्रहरीलाई र १४ वटा जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रलाई हस्तान्तरण गरिएको हो।

यस्तै फोर डब्लु डि पिकअप टाटा जेनन १५ थान गाडी १ नम्बर प्रदेश प्रहरी कार्यालयलाई हस्तान्तरण गरिएको छ। उक्त गाडीको चार करोड ५५ लाख ८३ हजार ५ सय लागत परेको छ भने सबै मोटरसाइकलको लागत मूल्य ८ करोड ४८ लाख ९५ हजार रहेको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.