|

काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको एकवर्षे कार्यकाललाई आफूले ‘पासमार्क’ समेत नदिने बताएका छन्। उनले भने, ‘मैले यो सरकारको एक वर्षे कार्यकाललाई पास मार्क दिन सकिँन्।’

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष केसीले यो एक वर्षको अवधिमा सरकारले धेरै ठूला–ठूला विकासका काम गर्न नसकेको आरोप लगाए। उनले भने, ‘दुई तिहाईको बलियो सरकार भएकोले जनताले यसले महँगी नियन्त्रण गर्ला र भ्रष्टाचार नियन्त्रण गर्ला भन्ने आशा गरेका थिए। तर, यो सरकारले त्यो काम गर्न सकेन्।’

शिक्षा र स्वास्थ्य क्षेत्रमा निजीकरण भएको पनि उनले आरोप लगाए। उनले नेपालीको व्यवहार यहाँ उत्पादन निर्यात गरेर चलेको होईन, नेपालले गर्ने निर्यात भनेको हाम्रा छोराछोरीहरु हुन्। उनीहरुले पठाएको रेमिट्यान्सले व्यवहार चलेको छ।’ सरकारले यो एक वर्षको अवधिमा साना तिना भ्रष्टाचारीहरुलाई पक्राउ गरेको भएपनि ठूला तस्करी र भ्रष्टाचारीहरुलाई पक्राउ गर्न नसकेको केसीको आरोप छ।

नेकपा (माले) का महासचिव एवं पूर्व उपप्रधानमन्त्री सिपी मैनालीले वर्तमान सरकारको एक वर्षे कार्यकाललाई आफूले शून्य अंक दिने बताए। उनले भने, ‘यो सरकार दुई तिहाईको सरकार हो, तर यो परम्रागत ढंगबाट नै चल्यो। यसले आफ्नो कम्युनिस्ट चरित्रअनुसार काम गर्न सकेन। त्यसैले शून्य अंक पाउनुपर्ने हो।’

उनले मदन भण्डारी राजमार्ग र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्ने पक्षमा आफू रहेको बताए। यद्यपि यसको निर्माणसँगै बायोलोजिकल डाईभर्सीटीलाई पनि ध्यान दिनुपर्नेमा उनले जोड दिए। सरकार दलाल पुँजीपतीहरूको पक्षमा रहेको पनि उनले गम्भीर आरोप लगाए। उनले भने,‘भन्नलाई यसले समाजवादउन्मुख भनेपनि यसले व्यवहारमा त्यो चरित्र छोडिसक्यो। राष्ट्रिय चिकित्सा शिक्षा विद्येयक ल्याउँदापनि सरकारले प्राईभेटहरुलाई प्रोत्साह गर्नेगरि ल्याएको छ।’

नेकपा (क्रान्तिकारी माओवादी) का वरिष्ठ नेता सिपी गजुरेलले यो सरकारले एक वर्षमा गरेको कामको फेहरिस्त भन्दा पनि गर्न नहुने काम के–के गर्यो भन्ने फेहरिस्त आफूहरूसँग रहेको सुनाए। उनले भने, ‘यो सरकारले महँगी बढाउने काम गर्यो । यही सरकारको पालामा तस्करी उजागर भयो । साँढे ३३ केजी सुन गिरफ्तार भयो, तर त्यो सुन कहाँ छ भन्ने कुरा अहिलेसम्म थाहा छैन् । अहिलेसम्म यसबारेमा जनतालाई कुनै सूचना छैन् ।’

शिक्षा र स्वास्थ्य क्षेत्रमा निजीकरणमात्रै नभएर माफीयाकरण भएको उनले आरोप लगाए। त्यस्तै उनले मुलुकको शान्ति, सुरक्षाको अवस्था पनि चिन्ताजनक रहेको सुनाए। गजुरेलले भने, ‘निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज यतिका दिन भयो । त्यसपछि पनि कयौं घट्ना भए, तर यो सरकारले जिम्मेवारी लिँदैन्। गृहमन्त्री र प्रधानमन्त्रीको अभिव्यक्ति तपाई हामिले सुनिहालेकै छौं । उहाँहरु अनुशन्धान भैरहेको छ, १२ वर्षसम्म पनि लाग्न सक्छ भन्नुहुन्छ।’

नेकपाका नेता एवं पूर्वमन्त्री आनन्द प्रसाद पोखरेलले सरकारको एक वर्षे कार्यकालको मुल्यांकन गर्दा आफूले ‘डिस्टिंक्शन’ दिने बताए। उनले भने, ‘सरकार अलोकप्रिय भएको भए अरु दलको समर्थन यतिबेलासम्म फिर्ता भइसक्थ्यो। अहिलेसम्म समर्थन जारी छ। त्यसैले सरकार अहिलेपनि सही ट्रयाकमा छ ।’

पोखरेलले वर्तमान सरकार घोषित उद्देश्यअनुसार नै अघि बढिरहेको पनि जनाए। उनले भने, 'कांग्रेसले बजेट ल्याउँदा समर्थन गरेकै हो। बजेट सर्वस्विकृत पारित भएको हो।’ उनले सरकार प्रमुख प्रतिपक्षी दललाई समेत विश्वासमा लिएर अघि बढिरहेको जिकिर गरे। सुन तस्करीदेखि लिएर अन्य तस्करहरुलाई समेत सरकारले नियन्त्रणमा लिएको र कानुनी कारबाही गरेको उनले बताए। उनले भने, ‘कतिपयलाई त जेल हालेको छ। तस्करी नियन्त्रण गर्न सरकारले काम गरेको छ।’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह-महामन्त्री एवं पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको एक वर्ष पूरै असफल भएको आरोप लगाएका छन्। नेता महतले यो एक वर्षमा सरकारले जनतालाई पुरै निराश तुल्याएको आरोप लगाएका हुन्। उनले भने, ‘सरकारले सुखी नेपाली र समृद्ध नेपाल भनेर अत्यन्तै राम्रो नारा ल्यायो । तर, यो एक वर्षमा जनता पूरै निराश भए । देश समृद्ध भयो त ? भएन ।’

उनले मूल्यवृद्धि आकाशिएको, व्यापार घाटा बढेको र लगानी घटेको दृष्टान्त पेश गरे। त्यस्तै उनले संस्थागत भ्रष्टाचार बढिरहेको पनि आरोप लगाए। महतले ‘ईज अफ डुईङ बिजनेश’ पनि राम्रो नभएको टिप्पणी गरे। महतले भने, ‘सुशासनको त कुरै नगरौँ। सुनकाण्ड त्यो अब पृष्ठभूमिमा गैसक्यो। चिनी काण्ड त्यस्तै, वाईडबडी काण्ड अब अख्तियारले हेर्ने भनिएको छ, हामी सुक्ष्म रुपमा हेरिरहेका छौँ।’

संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थालाई कार्यान्वयन र संस्थागत गर्नतर्फ लाग्नुपर्ने उनको सुझाव छ। सरकारले संसदीय मर्यादालाई नै कुल्चिएको उनले आरोप लगाए। ‘सभामुख र उपसभामुख एउटै पार्टीको मान्छे हुनुहुन्छ । पार्टी एकता भएपछि पनि अहिलेसम्म त्यतातर्फ सोच्नुभएको छैन्’ महतले भने।

सरकारले कर्मचारीतन्त्रलाई पूरै पार्टीकरण गरेको पनि महतले आरोप लगाए। उनले सरकारले लोकतान्त्रिक संस्थाको स्वतन्त्र रुपमा काम गर्ने ‘स्पेश’ लाई नै समाप्त पारेको आरोप लगाए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.