|

इलाम : सुनसरीको धरानमा जारी बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल शनिबार हुँदैछ। फाइनलमा आयोजक धरान फुटबल क्लब र क्यामरुनको डाफिन्स फुटबल फेमिली उपाधिका लागि भिड्दैछन्।

शुक्रबारको दोस्रो सेमिफाइनल खेलमा विजयी भएको क्यामरुनी क्लब ४८ घण्टा नबित्दै फाइनलमा उत्रिनु पर्ने भएको छ। जुन अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)को नियम विपरीत छ। फिफाको नियमअनुसार एउटा खेल खेलेको ४८ घण्टापछि मात्र त्यस टिमलाई अर्को खेलमा सहभागी गराउनुपर्ने हुन्छ। तर, बुढासुब्बा गोल्डकपको आयोजक धरान फुटबल क्लबले उक्त निमयको उल्लंघन गर्दै फाइनल खेल खेलाउँदैछ।

फुटबल खेल विश्लेषक सञ्जिव मिश्र नेपालमा फिफाको नियम खासै पालना नभएको बताउँछन। ‘फिफा र अन्य अन्तर्राष्ट्रिय नियममा खेलाडीको स्वास्थ्यलाई ध्यानमा राखेर ४८ घण्टा अनिवार्य आराम हुनुपर्छ, तर नेपालमा खेलाडीको स्वास्थ्यलाई खासै वास्ता गरेको पाइँदैन,’ उनले भने, ‘ बुढासुब्बा मात्र होइन अन्य प्रतियोगितामा पनि उस्तै छ। कतिपयमा आयोजकको कमजोरी छ भने कतिपय उनीहरुको बाध्यता।’

अखिल नेपाल फुटबल संघ (एन्फा)ले विभिन्न प्रतियोगिता र अन्य ए डिभिजनका खेलाडी सम्मिलित प्रतियोगिता व्यवस्थापनका लागि पुस २१ देखि बैशाख २१ सम्म २३ वटा गोल्डकप फुटबलको मिति तय गरेको छ। तर, त्यस तालिकामा प्रतियोगिता लगातार जुध्नाले खेलाडीहरुको स्वास्थ्यमा असर पर्ने देखिन्छ। ‘प्रतियोगिता व्यवस्थापनका नाममा मिति त तय गरियो, तर त्यसले खेलाडीहरुलाई भने सास्तीबाहेक केही छैन,’ नेपाली राष्ट्रिय टोलीका एक सदस्यले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘लगातार एकपछि अर्को प्रतियोगिता आरामविना खेल्दा इन्जुरी हुन्छ।’ यस्तो तरिकाबाट राष्ट्रिय टिमबाट सगरमाथा छुने रिजल्ट खोजेर असम्भव रहेको उनको भनाइ छ। 

आयोजकको समस्या

यता आयोजकका धरान फुटबल क्लबका महासचिव प्रताप तामाङ अखिल नेपाल फुटबल संघको प्रतियोगिताको तालिकालाई असर पर्ने भएकाले फाइनलका लगातार भएको बताउँछन्। खेलाडीको स्वास्थ्यको विषय र फिफा नियमबारे जानकारी भए पनि एन्फाले एकपछि अर्को प्रतियोगिताको मिति तय गरेकाले २४ घण्टा नबित्दै फाइनल गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ।

तामाङले फिफाको नियमका अतिरिक्त प्रतियोगिता सञ्चालनसम्वन्धी आफ्नै नियमावलीलाई टेकेर पनि प्रतियोगिता सञ्चालन हुने बताए। शनिबारदेखि नै बुटबलमा तिलोत्तमा गोल्डकप सुरु हुँदैछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.