|
फोटो : दीपक केसी

काठमाडौं : २०२२ सालमा त्यतिबेलाको चर्चित साहित्यिक पत्रिका आरतीमा 'गर्भ' शीर्षकको कथा प्रकाशित भयो। कथाकार कुनै चिनारु साहित्यकार थिएनन्। धेरैले उनको कथा रुचाए भने साहित्यकारमा कथाकार को हुन् भन्ने कौतुहलता समेत जगायो। 

हुन पनि त्यतिबेला पत्रिकामा कथा छापिनु ठूलो कुरा थियो। यो कथा छापिएपछि पाएको स्याबासीले विश्वम्भर प्याकुरेललाई साहित्यिक क्षेत्रमा कलम चलाउन निकै उत्प्रेरणा भयो। उनले निरन्तर साहित्यिक कृतिहरु लेख्न थाले। एकातर्फ पत्रिकामा लेख्दा पाइने स्याबासी त अर्को तर्फको पकेट मनी। उनलाई दुबै कुराले उत्प्रेरणा जगाएको थियो। 

गोरखापत्रका नियमित लेखक

२०२३ सालदेखि गोरखापत्रको साप्ताहिक परिशिष्टाङ्क शनिवारेश्‍वरीमा प्याकुरेलका कथा, कविताहरु नियमित प्रकाशित हुन थाले। आरती, रुपरेखा र सञ्चयजस्ता साहित्यिक पत्रिकामा पनि उनले निरन्तर लेखिरहे। 'त्यो बेला गाोरखापत्रको साह्रै राम्रो रेस्पोन्स थियो, घर घरमा चर्चा हुने गर्थ्यो, गोरखापत्रमा साहित्य छापिएपछि हिरो सरहको सम्मान पाइन्थ्यो' आफ्नो साहित्यिक यात्रा सम्झिँदै अर्थविद प्याकुरेलले भने। 

त्यतिबेला गोरखापत्रमा भैरव अर्याल साहित्यिक पेजको चिफ थिए। पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईका दाइ गोपालप्रसाद भट्टराई सम्पादक थिए। प्याकुरेल छोटो समयमा नै पाठकबाट रुचाइएका थिए। उनी भन्छन् 'एक वर्षको अवधिमा गोरखापत्रमा प्याकुरेलको के आउँछ भनेर कुर्ने अवस्था मैले बनाइसकेको थिएँ, मलाई साहित्यकार भन्न थालिएको थियो।' 

कुनैबेला कथाकार र लेखक थिए विश्वम्भर प्याकुरेल जो अहिले अर्थविदको रुपमा परिचित छन्। २५ बर्षभन्दा बढी अवधि त्रिभुवन विश्‍व विद्यालयमा अर्थशास्त्र पढाएका प्याकुरेल सरकारले सार्वजनिक गर्ने नीति, कार्यक्रम तथा योजनामा प्राय सल्लाहाकारको भूमिकामा रहन्छन्। सटिक र यथार्थपरक विश्‍लेषण गर्ने प्याकुरेलको साहित्य र संगीत फरक पाटो हो।

स्कुलमा भित्ते पत्रिकाको सम्पादक 

२०१९ सालमा लैनचौर स्कुलमा पढ्दा विश्वम्भर प्याकुरेलहरुले हातले लेखेर साहित्यिक पत्रिका प्रकाशन गर्थे। पत्रिका निकाल्न साहित्यिक कमिटी पनि गठन गरिएको थियो। पत्रिकामा सम्पादन कमिटीमा कांग्रेस नेता तथा अहिलेका शहरी विकास मन्त्री अर्जुननरसिंह केसी र प्याकुरेल थिए। '२०१९ सालमा हामीले लैनचौर स्कुलमा पढ्दा हातले लेखेर कैयौ कपी निकाल्यौं, अर्जुन नरसिंह केसी र म एडिटर बोर्डमा थियौं पत्रिका निकाल्नको लागि हेडमास्टरसँगबाट पैसा झार्न निकै समस्या हुन्थ्यो' प्याकुरेलले विद्यालय समय सम्झिए।  

कविता कम र कथा बढी लेख्ने प्याकुरेलले ५ वर्षमा आफूले लेखेका राम्रा कथा संग्रह गरेर आधुनिक कथा संग्रह प्रकाशित गरे। २०२८ सालमा साहित्यिक पत्रिकाहरुमा छापिएका कथाहरुलाई संग्रह गरेर 'इन्द्रेणीको गुम्बजभित्र' आधुनिक कथा संग्रह प्याकुरेलले प्रकाशित गरे यो नै उनको पहिलो कथासंग्रह थियो। 

पहिलो कथा संग्रहको शीर्षक जुटाउन भने प्याकुरेललाई निकै गाह्रो भएको थियो। 'टाइटल जुराउन मलाइ निकै समस्या परेको थियो, पछि रत्नशमशेर थापाको सहयोग मागे उनले नै मलाई 'इन्द्रेणीको गुम्बजभित्र' टाइटल जुधाइदिनु भयो' प्याकुरेलले भने। ७० पेजको इन्द्रेणीको गुम्बजभित्र कथासंग्रहको मूल्य १ रुपैयाँ ५० पैसा थियो।

भैरव अर्याललाई निबन्ध लेखाए

न्युरोडको पिपलको बोट साहित्यकार जमघट हुने स्थान थियो। विश्‍वम्भर प्याकुरेल पनि साहित्यकारहरुको संगतमा थिए। उनी सहित हरिभक्त कटुवाल, रत्नशमशेर थापा, कृष्णगोपाल, तलसी देव, उपेन्द्र श्रेष्ठको जमघट हुने गर्थ्यो। एक दिन भेट भइएन भने पनि के बिराएँ के बिराएँ हुन्थ्यो' प्याकुरेल भन्छन्।

२०२९ सालपछि हरिभक्त कुटुवाल अछाम जाने निर्णय गरे। उनले बान्की गोजीका भन्ने पकेट पत्रिका निकाल्थे तर त्यो पत्रिकालाई जीवितै राख्न प्याकुरेललाई जिम्मा लगाए। २५ पैसा मूल्य पर्ने बान्की गोजीका भित्र कथा, यात्रासंस्करण कविता प्रकाशित हुन्थ्यो।

त्यो पत्रिका निकाल्ने जिम्मा दिएपछि प्याकुरेलले नाइ भन्न सकेकनन् तर पत्रिका निकाल्न निकै चुनौती थियो। आफ्न साथी राम थापासँग सल्लाह गरेर पत्रिका निकाल्ने निर्णय गरे। उनले पत्रिकामा केही लेख्नको लागि भैरव अर्याललाई आग्रह गरे। अर्यालले आइमाईको अर्थ खुलाएर लघुकथा लेखिदिए, 'उनको कथाको कारण पत्रिकाको माग अझै बढ्यो।

नारायणगोपालसँग संगत

कथासँगै गजल र गीत लेखनमा समेत दख्खल राख्ने प्याकुरेलले सन् १९६९ मा पहिलो गीत रेकर्ड गराएका थिए। 'छातीभरीका माया, आखाभरीका कुरा सबै सबै मानुलाई' गीत १९६९ मा रेडियो नेपालमा रेकर्ड भएको प्याकुरेल सम्झन्छन्। सोही समयबाट स्वर सम्राट नारायण गोपालसँग प्याकुरेलको चिनजान भएको थियो।

त्‍यसपछि भने उने नियमित गीति कथा लेखिदिन थाले। 'बेलुका पौने ८ बजे गीति कथा आउँथ्यो चार वर्ष जति मैले लगातार गीति कथा लेखेँ' प्याकुरेल सम्झन्छन् 'गीतिकथा लेखेपछि पैसाको केही पीर नहुने। रेडियो नेपालबाट पैसा आएपछि साथीहरुलाई खाजा खुवाउन न्युरोड लैजाने गर्थेँ।' एउटा गीति कथा बज्दा २० रुपैयाँ उनले पाउथे।

प्याकुरेलले हालसम्म ४५ वटा गीत लेखेका छन् उनका गीतहरु दीपक खरेल, दीप श्रेष्ठ, प्रकाश श्रेष्ठ, उदय सोताङ, प्रेमध्वज प्रधान, मिरा राणा लगायतले गाएका छन्। नारायण गोपालको स्‍वर रहेको प्याकुरेलको तिमीले भनेका सारा देव छोएर भन्ने गीत निकै चल्यो।

अनि फेरियो परिचय

सन १९८३/८४ (२०४१ साल) सम्म साहित्यकारको नामबाट परिचित प्याकुरेल त्यसपछि भने अर्थशास्त्रीको रुपमा नै चिनिन थाले। 'पछिल्ला दिनहरुमा साहित्य पनि कम लेख्न थालेँ नारायण गोपालले मलाइ अल्छी भन्थ्यो, जाँगर लाग्दा कहिलेकाहीँ मात्रै लेखेँ, ४५ वर्षमा जम्मा ४५ गीत र केही कथा कविता मात्रै लेखेँ' प्याकुरेलले भने। उनको पहिलो र अन्तिम कथा संग्रह नै 'इन्द्रेणीको गुम्बजभित्र' भयो।

उनको अर्को गीतिसंग्रह 'विश्वम्भर प्याकुरेल' भने गत वर्ष सार्वजनिक भएको छ। सोही गीति एल्बमको विमोचन कार्यक्रममा प्रमुख अतिथिको रुपमा राष्ट्र कवि माधवप्रसाद घिमिरे थिए।' प्याकुरेल पनि राम्रो साहित्यकार हुनुहँदो रहेछ' घिमिरेले भनेका थिए। त्यस भनाईले प्याकुरेल झस्किए 'धेरै पहिले नै मैले उहाँको निकै संगत गर्थेँ मेरा कथाहरु निकै मन पराउनु हुन्थ्यो तर अहिले विर्सि सक्नुभएछ भन्ने भयो' प्याकुरेलले भने। प्याकुरेल २०७२ सालमा समेत नातीकाजी विशेष संगीत सम्मानबाट सम्मानित भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.