|

बिर्तामोड : झापाको सुरुङ्गामा सञ्चालित चौथो सहारा सुरुङ्गा गोल्डकपको उपाधि विभागीय टोली एपीएफले जितेको छ। टाइब्रेकरमा रुपन्देही–११ लाई ५–३ गोलअन्तरले पाखा लगाउँदै एपीएफले उपाधि उचालेको हो।

निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि टाइब्रेक्रको सहायताले खेलको निर्णय लिइएको हो। टाइब्रेकरमा एपीएफका तर्फबाट अञ्जन विष्ट, नविन लामा, आदित्य चौधरी, मिलन राई र  सन्तोष कटुवालले गोल गरे।

रुपन्देहीका तर्फबाट भने विजय धिमाल, विक्रम लामा र रजिन धिमालले गोल गरे। भरपर्दा खेलाडी विमल घर्ती मगरको प्रहार एपीएफका गोलरक्षक अमृतकुमार चौधरीले बचाएपछि रुपन्देहीले उपविजेतामै चित्त बुझाउनुपर्‍यो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६४ औं मिनेटमा एपीएफका राजेन्द्र रावलले गोल गर्दै टिमका लागि को १–० को अग्रता दिलाएका थिए। तर, ७९ औं मिनेटमा रुपन्देहीका विमल घर्ती मगरले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका हुन् । खेलको म्यान अफ द म्याच एपीएफका आदित्य चौधरी घोषित भए। रुपन्देहीका विक्रम लामा प्लेयर अफ द टुर्नामेन्ट बने।

सहारा सुरुङ्गा गोल्डकपमा एपीएफले खेलेका तीनवटै खेलमा टाइब्रेकरको सहायताले निर्णय लिइएको हो। पहिलो खेलमा एपीएफले टाइब्रेकरमा झापा–११ लाई हराउँदै सेमिफाइनल पुगेको थियो। सेमिफाइनलमा पुलिसलाई पनि टाइब्रेकरमै हराएको एपीएफले फाइनल पनि टाइब्रेकरमै जितेको हो।

जितसँगै एपीएफले नगद ३ लाख ५१ हजार प्राप्त गरेको छ भने उपविजेता रुपन्देहीले २ लाख ५१ हजार नगद पाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.