|

न्युजिल्यान्डका ओपनर मार्टिन गुप्टिलले आफ्नो उच्च फर्मलाई जारी राखेका छन्।  बंगलादेशविरुद्धको तीन खेलको एकदिवसीय सिरिजको दोस्रो खेलमा शतकीय पारी खेल्दै यो वर्ष मात्र तेस्रो सतक पुरा गरे। गुप्टिलको पारीमा किवी टिमले एक खेल अगावै सिरिजपनि २–० ले आफ्नो पक्षमा पार्नसफल भएको छ।

गुप्टिलले न्युजिल्यान्डका लागि विष्फोटक इनिङ खेल्दै करिअरको १६ औं शतक बनाउने क्रममा ८८ बलमा १४ चौका र ४ छक्काको सहयागमा १ सय १८ रन बनाए। उनको शानदार इनिङमा पाहुना टीम न्युजिल्यान्डले बंगलादेशविरुद्ध ८ विकेटको जित निकाल्दै सिरिजमा २–० को अग्रता बनाउन सफल भयो। यसअघि घरेलु टोली बंगलादेश ४९.४ ओभरमा सबै विकेट गुमाएर २ सय २६ रन बनाएको थियो। बंगलादेशका लागि मोहमद्ध मिथुनले सर्वाधिक ५७ रनको इनिङ खेलेका थिए। जवाफमा न्युजिल्यान्डले ३६.१ ओभरमा २ विकेट गुमाएर २ सय २९ रन बनाएको थियो। गुप्टिलपछि कप्तान केन विलियमसन ६५ रनमा अविजित रहे। दोस्रो विकेटका लागि गुप्टिल र विलियमसनले १ सय ४३ रनको साझेदारी गरेका थिए।

म्यान अफ द म्याच घोषित मार्टिन गुप्टिलले प्रहार गरेको शतक २०१९ मा तेस्रो एकदिवसीय सतक हो । उनले यो वर्षको आफ्नो पहिलो खेल ३ जनवरीमा श्रीलंकाविरुद्ध खेलेका थिए। जहाँ उनले १ सय ३९ बलमा ११ चौका र ५ छक्काको मद्दतमा १ सय ३८ रन बनाउँदै वर्षको पहिलो शतक प्रहार गरे। त्यसपछि जारी बंगलादेशविरुद्धको ३ खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा पनि गुप्टिलले शतक प्रहार गरेक थिए। उनले १ सय १६ बलमा ८ चौका र ४ छक्काको मद्दतमा १ सय १७ रनको अविजित इनिङ खेले।

गुप्टिलले यो वर्ष अर्थात पछिल्लो डेढ महिनामा अहिलेसम्म कुल ९ एकदिवसीय खेल खेलेका छन्। जहाँ उनले आफ्नो उत्कृष्ट फर्मलाई जारी राख्दै करिअरमा कुनैपनि वर्षमा सर्वाधिक छिटो धेरै अर्धसतकको कीर्तिमान बनाएका छन्। उनले ३ शतकको मद्दतमा ४ सय ३५ रन बनाएका छन्। न्युजिल्यान्डका ब्याट्सम्यानहरुको औैषत स्ट्राइक रेट ५४.३७ हो। तर उनको स्ट्राइक रेट १०६.८७ रहेको छ। उनले यस दौरानमा ४० चौका र १५ छक्का प्रहार गरे।

सर्वाधिक रन बनाउने शीर्ष तीनमा सबै किवी खेलाडी

यो शतक सँगै २०१९ मा अहिलेसम्म सर्वाधिक रन बनाउने शिर्ष तीन खेलाडीको सुचिमा सबै न्युजिल्यान्डका खेलाडी रहेका छन्। गुप्टिल अघि तेस्रो नम्बरमा भारतीय स्टार रोहित शर्मा रहेका थिए। उनलाई पछि पार्दै गुप्टिल दोस्रो नम्बरमा उक्लीए। यो अवधिमा सर्वाधिक रन बनाउँदै रोस टेलर ५ सय २४ रनका साथ शिर्ष स्थानमा छन्। उनले १० खेलमा ५ सय रनको आँकडा पार गर्ने एक्लो खेलाडीका रुपमा आफुलाई अहिलेसम्म कायम राखेका छन्। खेलाडीको शिर्ष ३ मा न्युजिल्यान्डका कप्तान केन विलियमसन रहेका छन्। उनले ३ सय ७० रन प्रहार गरिसकेका छन्। भारतीय स्टार शर्मा ३ सय ५४ रनका साथ चौंथो स्थानमा धकेलिए। फेरि पाँचौ नम्बरमा न्युजिल्यान्डकै हेनरी निकोलस रहेका छन्। उनले ३ सय २२ रन बनाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.