|
फाइल फोटो

काठमाडौं : कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्न सरकारसँग माग गरेको छ। अध्यक्ष थापाले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संविधानमा रहेको धर्म निरपेक्षता तत्काल खारेज गरी पूर्ण धार्मिक स्वतन्त्रतासहित हिन्दु राष्ट्र घोषणा गर्न सरकारसँग माग गरेका हुन्। उनले राजसंस्थासहितको सबै राजनीतिक शक्तिहरु हटाउने मौलिक प्रजातन्त्र कायम गर्न अविलम्ब सर्वपक्षीय गोलमेच सम्मेलन गर्न पनि सरकारलाई दबाब दिए।

पार्टीले संघीयताबारे जनमत बुझ्न राष्ट्रिय जनमत संग्रह गर्नुपर्ने लगायतका २२ बूँदे माग सरकारसँग राखेको छ। ती मध्ये तत्काल गर्नुपर्ने माग पूरा नभए चैत्रको पहिलो हप्ताबाट सरकारविरुद्ध सशक्त संघर्ष गर्ने अध्यक्ष थापाले चेतावनी दिए। उनले सरकारलाई सो माग तत्काल पूरा गराउन दबाब दिन फागुन ७ गतेबाट जनसंघर्षको कार्यक्रमलाई पनि सुरुवात गर्ने घोषणा गरे। फागुन मसान्तसम्म पनि पार्टीले राखेको माग पूरा गर्न सरकार तयार नभए चैत्रको पहिलो हप्ताबाट सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने पनि अध्यक्ष थापाले बताए।

राष्ट्रिय प्रजातन्त्र पार्टीले यस अघि पनि पटक पटक हिन्दु राष्ट्र स्थापना गर्नुपर्ने अडान राख्दै आएको थियो। अध्यक्ष थापाले मुलुकमा हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि सरकारलाई दवाव दिन फागुन १५ बाट चैत्र १ गतेसम्म ‘मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’ सुरु गर्ने पनि जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.