|

जनकपुरधाम : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले वीरगञ्जस्थित बिपी कोइराला उद्यानको नाममा रहेको जग्गामा प्रदेश सरकारले अवैद्यानिक रूपमा शहीद पार्कको शिलान्यास गरेको बताएका छन्। बिपी कोइराला उद्यानको नाममा रहेको सो जग्गामा शहीद पार्क निर्माणको कार्यप्रति असन्तुष्टि जनाउँदै तत्काल निर्णय फिर्ता नलिए प्रदेश सरकारविरुद्ध आन्दोलनको गर्ने चेतावनी दिएका हुन्।

आइतबार जनकपुरधाममा कांग्रेसको नगर सम्मेलनलाई सम्बोधन गर्दै नेता निधिले स्थानीय, संघीय, प्रदेश र स्थानीय तहको सरकार काम गरेर देखाउन एक वर्षको समय अवधिमा निराशाजक काम गरेको बताउँदै यस पाराको कामलाई हेरेर कांग्रेस एक वर्ष चुप लागेर नबस्ने बताए। उनले मुलुकमा बढ्दै गएको हत्या, हिंसा, बलात्कार जस्ता जघन्य अपराधिक घटना नियन्त्रण गर्न नसक्ने ओली सरकारले डराइ, धमक्याई देशका सबै अदालतहरूमाथि हस्तक्षेप गर्न खोजेको आरोप लगाउँदै आफुंहरू केही नबोलेको भन्दैमा कांग्रेसलाई कमजोर नठान्न समेतसचेत गराए।

पूर्वगृहमन्त्रीसमेत रहेका निधिले निर्मला पन्तको हत्यारा पत्ता लाग्न १२ वर्षसम्म लाग्न सक्ने भन्नुसरकारको सबैभन्दा ठूलो असफल नमुना रहेको दावी गरे। उनले भने, ‘संघीयता सुदृढ गर्न प्रदेश सरकारलाई संविधान अनुरुप सबै हक, अधिकार दिनु संघीय सरकारको पहिलो राजनीतिक कर्तव्य थियो। तर, केन्द्रिकृत मानसिकताबाट वर्तमान सरकारले सबै अधिकार सिंहदरवारमै राख्नु संघीयता विरोधी र संविधानको विरोधमा उभेको स्पष्ट हुन्छ।’

उनले विदेश नीतिमा समेत ओली सरकार असफल भएको भन्दै उपसभापति निधिले सरकारको गलत विदेश नीतिका कारण छिमेकी मुलुक भारत र चीनलगायत अन्य देशसँग सम्बन्ध बिग्रेको र विदेशी लगानीकर्ताहरू नेपालमा लगानी गर्न समेत नचाहेको उल्लेख गरे। मधेशवादको नाममा चुनाव जितेका मधेश केन्द्रित दलले समेत सत्तामा बसेर मधेशीहरुको अपमान गरेको उनले दाबी गरे।

उपसभापति निधिले संविधान संशोधनको मुद्दा लिएर सरकारमा बसेको मशेसी दलले सत्ता मोहमा संविधान संशोधनको मुद्दा बिर्सेको आरोपसमेत लगाए । उनले प्रदेश २ को नाम र भाषामा कांग्रेसको अडान कायमै रहेको बताउँदै प्रदेशको नाम ‘मिथिला–भोजपुरा’ बाहेक अन्य नाम स्वीकार्य नहुने बताए। प्रदेश २ धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक भूमिका साथै मिथिलाको इतिहास र पहिचानसंग जोडिएकाले यस प्रदेशको नाम ‘मिथिला–भोजपुरा’ नै उपयूक्त हुने प्रष्ठ पारे। उनले देशभरिमै नेपाली भाषा पछि सर्वाधिक बोलिने भाषा मैथिली नै भएको दावी गर्दै प्रदेशको मुख्य भाषा मैथिली हुनुपर्नेमा जोड दिए।

कांग्रेस जनकपुरधामका सभापति मनोज साहको अध्यक्षतामा भएको उद्दघाटन सत्रमा पार्टीका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना, पूर्वमन्त्रीद्वय रामकृष्ण यादव, महेन्द्रराय यादव, प्रदेश २ संसद पार्टी संसदीय दलका नेता रामसरोज यादव, प्रदेशसभा सदस्य प्रमिला दास लगायतका सहभागिता रहेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.