अनाधिकृत व्यापार र पार्किङले पैदल हिँड्नेलाई सास्ती

|

काठमाडौं: केही दिनअघि पुरानो बानेश्वरबाट थापागाउँ जान लागेका एक वृद्धले फुटपाथमा बेच्न राखेको तरकारी कुल्चिए। व्यापारीले  आँखा हेरेर हिड्नुस् सामान देख्नु हुँदैन कि के हो भनेर आखाँ तरे। ती वृद्ध चुपचाप आफ्नो बाटो लाग्दै गर्दा हामिले सोध्यौँ, 'गल्ति तपाईको थियो?' उनले मलिन स्वरमा भने, 'पैदल हिँड्ने बाटोमा व्यापार गर्छन्। मेरो आँखा कमजोर छन्। त्यति धेरै भेउ पाउँदिन।' आँखाको कमजोरीले धेरैजसो गाली खाने गरेको उनी बताउँछन्।

पैदल हिँड्ने बाटोमा अनाधिकृत रूपमा फुटपाथ व्यवसाय र पार्किङ गर्दा आम सर्वसाधारणलाई हिँड्न कठिन भइरहेको छ। हरेक दिन व्यापारीको गाली सहँदै बटुवाहरू आफ्नो गन्तव्यमा पुग्छन्।

अझ बटुवाहरू सडकको बीचबाट हिँड्ने दृश्य झन भयावह छ। यसबाट दुर्घटना निम्तिने सम्भावना उच्च रहेको छ। सडकलाई नै हडपेर मम, सेकुवा, माछा बेच्नेहरूले पनि सडक अतिक्रमण गरिरहेका छन्। शहरलाई व्यवस्थित बनाउने भनेर नगर प्रहरी खटिएका छन्। तर दिनभर शहरलाई व्यवस्थित गर्ने नगर प्रहरी बेलुका सुस्ताउँछ।

ठेला गरेर बस्ने कतिपयले खुलेयाम भन्छन्, 'कहिलेकाहीँ नगर प्रहरी आउँछ। पाँच सय/हजार रूपैयाँ लिएर जान्छ।' उनीहरूको आरोपलाई सत्य मान्ने हो भने नगर प्रहरी पाँच सय/हजारमा बिकेको छ। यो आरोप मान्न तयार छैनन् नगरप्रहरी नायव उपरिक्षक दिनेश कुमार अर्याल। उनी भन्छन्, 'यस्तो पाइएको खण्डमा कारबाही गरिन्छ।'

आफूहरूले अहिले छ बजेसम्म मात्र हेरिरहेको उनले बताए। नगर प्रहरीले चार क्षेत्र छुट्टाएर सेवा दिइरहेको छ।  उनका अनुसार पूर्वि क्षेत्र: बिजुली बजार, बानेश्वर, कोटेश्वर, गौशाला, चाबहिल, बौद्ध पर्छन्। मध्य क्षेत्र रत्नपार्क, सुन्धारा, जमल क्षेत्र पर्छन्। कलंकीदेखि नयाँबसपार्क सम्म पश्चिम क्षेत्र पर्छन्। उत्तर क्षेत्र अन्तर्गत राज दरबार,महाराजगंज, चक्रपथ हुदैँ बसपार्क रहेको छ।

उनले २०० हाराहारीमा रहेका नगर प्रहरीले आवश्यकता बमोजिम काम गर्न नसकेको बताए। दिनभर सडकमा फुटपाथ व्यापार गर्नेहरुको पाँचै इन्द्रिय सक्रिय रहन्छन्। कारण एउटै छ - नगर प्रहरी।

शहरलाई व्यवस्थित बनाउन काठमाडौं महानगरपालिकाले फुटपाथमा व्यापार गर्नेहरूलाई नगर प्रहरीको सहायतामा सम्पूर्ण सामान उठाएर लैजान्थ्यो र केही जरिवाना तिराएर सामान फिर्ता गरिदिन्थ्यो। अहिले महानगरपालिकाले फुटपाथमा व्यापार गर्ने जो कसैको सामान पनि उठाएर लैजाने र जफत गर्ने गरेको काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल बताउँछन्। उनले शहरलाई व्यवस्थित बनाउन कडाईका साथ अगाडि  बढ्न लागेको बताउँछन्। फुटपाथ व्यवसाय गर्नेको सामान जफत गर्ने महानगरले अनाधिकृत पार्किङ गर्नेलाई भने केही जरिवाना मात्रै तिराउँछ।

दिनभर फुटपाथ व्यापारीहरूलाई, मोटर साइकलहरूलाई नगर प्रहरीले उठाइरहँदा बेलुकाको समयमा फुटपाथमा व्यापार गर्नेहरूको संख्या उस्तै छ। तर, नगर प्रहरी बेलुका सक्रिय छैन। के नियम सबैलाई बराबर हुनुपर्दैन? कि साँझ पर्दै जादाँ महानगरको नियम कानुनले आराम गर्न पाउने नियम छ? नगरप्रहरी नायव उपरिक्षक अर्याल कुनै पनि हालतमा अनाधिकृत रूपमा व्यवसाय र पार्किङ गर्ने कसैलाई पनि दिन होस् या रातमा नछोड्ने बताउँछन्। उनी भन्छन्, 'कानुन सबैले २४ घण्टा नै बराबर मान्नु पर्छ नत्र कारबाही गर्नुको विकल्प रहँदैन।'

उनले नगर प्रहरीले आफ्नो काम गरिरहेको बताए पनि न त अनाधिकृत पार्किङ रोकिएको छ। न त फुटपाथ व्यवसाय नै।  शहरी व्यवस्था विभाग नगर प्रहरीको अर्ध वार्षिक प्रतिवेदन अनुसार सडकपेटिमा अतिक्रमण नियन्त्रणबाट २ लाख ८७ हजार ३ सय ,अव्यवस्थित मोटरसाइकल पार्किङबाट ४७ लाख ४०हजार,छाडा चौपायाबाट २७ हजार,अनाधिकृत विज्ञापनबाट २३ लाख ४ हजार , फोहोरमैलाबाट ५२ हजार राजश्व उठाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.