|

हेटौँडा : प्रदेश नम्बर ३ को मन्त्रिपरिषद बैठकले हेटौंडा बजार भत्काउने निर्णय गरेको छ। मन्त्रिपरिषद बैठकले मुख्य बजारको राजमार्गको सडक थप फराकिलो बनाउने निर्णय गरेसँग बजार भत्कने भएको हो। सरकारले बाइपास सडक पनि निर्माण गर्ने निर्णय गरेको छ।

हेटौंडा क्षेत्रमा पर्ने पूर्वपश्चिम राजमार्ग र त्रिभुवनराजपथ सडकको दायाँबायाँ १६ –१६ मिटर कायम गर्ने र बाईपास सडकलाई राजमार्गको रुपमा विकास गर्न लागि संघीय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको हो। यसअघि पूर्वपश्चिम राजमार्ग र त्रिभुवनराजपथ सडक दायाँबायाँ १६ मिटर विस्तार गर्ने कि २५ मिटर विस्तार गर्ने भन्ने विवाद हेटौंडामा रहेको थियो। विवादका वीच गतवर्ष मध्यमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय हेटौंडाले सडक विस्तार गर्नेभन्दै बजारक्षेत्रका घर भत्काउन थालेसँगै हेटौंडा तनाबग्रस्त भएको थियो।

हेटौंडाको मुख्यबजार क्षेत्रलाई शहरी सडकको रुपमा विकास गरेर चारलेनको सडक निर्माण गर्ने, त्यसमा ग्रीन बेल्ट (सडकको दायाँ बायाँ बगैचा ) निर्माण गर्ने, फुटपाथ निर्माण गर्ने, सर्भिस ट्रयाक निर्माण र बाइपास सडक निर्माण गरेर राजमार्गका रुपमा विकास गर्ने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको छ।

बाइपास सडक निर्माणका लागि ३ नम्बर प्रदेश सरकारले चालु आर्थिक बर्षमा पाँच करोड रुपियाँ विनियोजना गरेको छ। यस बजेटबाट खर्च गर्ने गरी डीपीआर बनाउने काम अन्तिम चरणमा पुगेको भौतिक पूर्वाधार विकाश मन्त्रालयका सचिव कौशलकिशोर झाले जानकारी दिए।

उपमहानगरपालिका क्षेत्रको सडकलाई शहरी सडकका रुपमा अगाडि बढाउने गरी प्रदेश सरकार अगाडि बढेको ३ नम्बर प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मकट्टेलले जानकारी दिए। हेटौंडा क्षेत्रमा पर्ने राजमार्गलाई वैकल्पिक व्यवस्था गर्नका लागि संघीय सरकारलाई अनुरोध समेत गरिने भएको छ।

मन्त्रीपरिषद बैठकले बहुप्राविधिक महाविद्यालय स्थापना गर्न जग्गा प्रािप्तका लागि संघीय सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको ३ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री तथा सरकारका प्रवक्ता कैलाशप्रसाद ढुंगेलले जानकारी दिए। प्रदेश सरकारले सिन्धुपाल्चोकको चौतारामा बहुप्राविधिक महाविद्यालय स्थापना गर्ने भएको छ। प्रदेशको संगठन संरचना र दरबन्दी स्वीकृत गर्ने सम्बन्धमा पनि निर्णय गरेका बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.