विपक्षी भन्छन : नक्कल त गर्यो तर अक्कल पुगेन
विपक्षी भन्छन : नक्कल त गर्यो तर अक्कल पुगेन
जनकपुरधाम : प्रदेश २ सरकारले ल्याएका अधिकांस कार्यक्रम भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नक्कल भएको आरोप लाग्न थालेको छ। मुख्यमन्त्री लालबाबु राउतले ल्याएको ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान’ र ‘मुख्यमन्त्री स्वच्छता अभियान’ भारत सरकारको नक्कल भएको आरोप लागेको हो।
नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले कार्यक्रम प्रदेश सरकारको नौलो र मौलिक कार्यक्रम नभएर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नक्कल मात्र भएको आरोप लगाए। उनले भने, ‘सरकारले भारतको नक्कल त गर्यो। तर अक्कल चाहिँ पुर्याउन सकेन। त्यो बेटी बिमाको योजना गरिब, दलित, असहाय, पिछिडिएको वर्गलाई पो दिने हो त, तर योजनामा सबै वर्ग, जात र समुदायलाई दिएपछि के कामको?’ उनले प्रश्न गरे। नेता यादवले हुनेखाने सम्पन्न परिवारलाई योजनामा समावेश गरिनु भनेको बजेट खर्च गर्नु मात्र रहेको टिप्पणी गर्दै भने, ‘फेरि अहिलेको ११ हजार २० वर्षपछि १ लाख हुने हुनाले २० वर्षमा १ लाखको मूल्यांकन पनि त १० हजार नै होला नि’ यादवले भने, ‘सरकारले जनतालाई भ्रमित गर्न मात्र त्यो कार्यक्रम ल्याएको छ, त्यो नौटंकी मात्र हो।’
यस्तै नेपाल कम्युनिस्ट पार्टीका प्रमुख सचेतक सुन्दरबाबु विश्वकर्माले मुख्यमन्त्रीका मुख्य दुई अभियान भारत तिरबाट आएको जस्तो देखिएको बताए। उनले भने, ‘कार्यक्रमको नारा राम्रो भए पनि कार्यक्रम कसरी गर्ने भन्ने कुरामा भर पर्छ, फोटो मात्रै टाँसेर त धेरै कुरा हुँदैन। त्यसको लागि काम गर्नु पर्यो तर सरकारको काम केही देखिएन बरु प्रचारबाजी बढी देखियो। यस्तोमा अभियान एकातिर र प्रचार अर्कोतिर भएको देखियो।’
मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत आगामी ५ वर्षभित्र प्रदेशको १३६ वटै स्थानीय तहमा एउटा एउटा पोखरी सौन्दर्यीकरण गरिने कार्यक्रम रहेको छ। ‘तत्काल एउटा–एउटा जिल्लामा पोखरीको सौन्दर्यीकरण गर्नका लागि टेन्डर पनि भइसकेको छ,’ सचिव फुँयालले भने, ‘प्रदेशका हरेक सदरमुकाममा २ वटा सुविधा सम्पन्न नुहाउने घर सहितको शौचालय निर्माण गर्ने कार्यक्रम लागू भइरहेको छ।’
मुख्यमन्त्री राउतको नेतृत्वमा ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान’ र ‘मुख्यमन्त्री स्वच्छता अभियान’ नमूना कार्यक्रम सञ्चालनमा आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदका सचिव फुँयालको दाबी छ। अभियान अन्तर्गत बेटीलाई शैक्षिकस्तर उकास्न तथा बाल विवाह सहित भ्रुण हत्या रोक्न ठूलो र नौलो कार्यक्रम प्रदेश सरकारले ल्याएको सचिव फूँयालको दाबी छ।
सरकारले ‘बेटी बिमा’ कार्यक्रम माघ १ गतेदेखि लागू गरिसकेको छ। प्रभू बैंकले प्रदेश सरकारसँग त्यसको सम्झौता समेत गरेको छ। टेन्डर आह्वान हुँदा बैंकले १७–२० देखि ४० हजार रुपैयाँसम्म भरेका थिए। तर प्रभू बैंकले ११ हजार ६४६ रुपैयाँमा नै २० वर्षमा एक लाख रुपैयाँ दिने सम्झौता गरेको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।