विश्व

आरोप पुष्टि गर्न भारतलाई पाकिस्तानको चुनौती
SHARES

फागुन ७, २०७५

    विवादास्पद काश्मिरमा केही दिन पहिले भएको घटनामा पाकिस्तानी पक्षको संलग्नता रहेको पुष्टि गर्न पाकिस्तानले भारतलाई चुनौती दिएको छ। घटनामा पाकिस्तानी पक्षको संलग्नता रहेको आरोप लगाउँदै पाकिस्तानमाथि आक्रमण गर्ने भारतले चेतावनी दिइरहेका बेला पाकिस्तानले यस्तो चुनौती दिएको हो।

    पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सरकारी टेलिभिजनमार्फत मंगलबार गरेको सम्बोधनमा भारतलाई काश्मिर आक्रमणमा संलग्न भएको प्रमाण दिन चुनौती दिएका छन्। साउदी युवराज मोहम्मद बिन सलमानको भ्रमणका कारण आफूले ढिलो गरी सम्बोधन गरेको बताउँदै उनले भारतले आफूहरूमाथि आक्रमण गरेमा आफूहरू पनि प्रतिकार गर्न तयार रहेको बताए।

    गतहप्ता भारत प्रशासित काश्मिरमा आत्मघाती आक्रमण हुँदा ४६ सुरक्षाकर्मीको मृत्यु भएपछि सो घटना पाकिस्तानले गराएको भारतको आरोप छ। पाकिस्तानी भूमिबाट सञ्चालित लडाकू संगठन जैस ए मोहम्मदले घटना आफूले गराएको दाबी गरेको छ भने पाकिस्तानी प्रधानमन्त्रीले घटनामा आफ्नो संलग्नता नरहेको र संलग्नताको पुष्टी गर्न चुनौती दिए।

    विनाप्रमाण दोष नलगाउन पनि पाकिस्तानी प्रधानमन्त्री खानले भारत पक्षलाई आग्रह गरेका छन्। उनले भने, 'भारतले पाकिस्तानमा आक्रमण गर्नेबारे सोचेको छ भने पाकिस्तानले पनि प्रतिकार गर्न सोच्ने छ र प्रतिकार पनि गर्नेछ।'

    काश्मिर घटनाको अनुसन्धानमा सहकार्य गर्न आफूहरू तयार रहेको बताउँदै उनले पाकिस्तान आफैँ स्थायित्वतिर उन्मुख भएकाले यस्तो आक्रमण गर्न नचाहेको स्पष्ट पारे। उनले आरोप प्रत्यारोप छाडेर वार्ताबाट समस्याको समाधान गर्न आह्वान पनि गरे। त्यसका लागि पाकिस्तान तयार रहेको खानको भनाइ छ।

    सन् १९४७ मा विभाजन भएदेखि नै दुवै देशले काश्मिर आफ्नो अधीनस्थ हुनुपर्ने दाबी गर्दै आएका छन्। काश्मिरको केही भूभाग पाकिस्तान र केही भारतको अधीनमा छ। आणविक हतियार भएका भारत र पाकिस्तानबीच काश्मिरको विषयलाई लिएर तीन पटक युद्ध भइसकेको छ।

    बिहीबारको घटना सो क्षेत्रमा भारतीय फौजलाई लक्षित सबैभन्दा ठूलो आक्रमण भएको बताइएको छ। छुट्टी मनाएर काममा फर्कँदै गरेका करिब दुई हजार ५०० सुरक्षाकर्मी लिएर गइरहेका ७८ वटा सवारी साधनलाई लक्षित गरी विस्फोटक पदार्थले भरिएको एक भ्यानले आत्मघाती आक्रमण गरिएको थियो।

    मसुद अजहरको नेतृत्वमा रहेको जैस ए–मोहम्मद आतंककारी समूहलाई पाकिस्तानले पूर्णरुपमा स्वतन्त्रता दिएको र पाकिस्तानको नै नियन्त्रणमा यसले बढावा पाइरहेको भारतको दाबी छ। तर पाकिस्तानले भने अस्वीकार गर्दै आएको छ।

    काश्मिरमा आत्मघाती आक्रमण गर्ने व्यक्ति स्थानीय युवा भएको बताइएको छ। केही वर्षयता धेरै काश्मिरी युवा लडाकू संगठनमा प्रवेश गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]