|

काठमाडौं : संघीय संसद प्रतिनिधिसभाको शुक्रबार सांसदले शून्य समयमा विविध विषय उठाएका छन। सांसदले नेपाल वायुसेवा निगममा भएको भ्रष्टाचार, अख्तियारमा भएको भ्रष्टाचारदेखि लिएर गोर्खा सैनिकको समस्याका बारेमा आवाज उठाएका छन।

सांसदले सरकारलाई आफूले उठाएका विषयमा गम्भीर हुन पनि आग्रह गरेका छन। घुस प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई कारबाही हुन नसकेको, संघ अन्तर्गत निर्माण हुँदै आएका सडक निर्माणको कामको जिम्मेवारी प्रदेशलाई दिए पनि ती सडक निर्माणको काम हुन नसकेको लगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन।

सांसद डिला संग्रौला पन्तले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन आयुक्त राजनारायण पाठकले घुस लिएको भिडियो चार महिना अघि प्रधानमन्त्री कार्यालयमा पुगेको भन्दै अहिलेसम्म किन कारबाही भएन भनेर प्रश्न गरेकी थिइन।

सांसद दिव्यमणि राजभण्डारीले पूर्वगोर्खा सैनिकहरूको समस्याका बारेमा छलफल गर्न वार्ता टोली गठन गरी बेलायत सरकारसँग छलफल गर्न माग गरेका थिए।

सांसद दुर्गा पौडेलले गुठी संस्थान अन्तर्गत भोगचलन गर्दै आएको जग्गालाई धितोको रूपमा लिन सक्ने गरी व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका थिए।

सांसद देवप्रसाद गुरुङले तनहुँ, लमजुङ र मनाङका निर्माणाधीन सडक निर्माण कार्य अवरुद्ध भएको भन्दै तत्काल सुचारु गराउन माग गरेका थिए। धर्मशिला चापागाईँले सबै सांसदलाई समान व्यवहार गर्दै सबै सांसदले खर्च गर्ने गरि बजेटको व्यवस्था गर्न माग गरेकी थिइन।

ध्रुवकुमार शाहीले सुर्खेत जिल्लामा वर्षौदेखि भोगचलन गरिरहेकाले जग्गा धनी पुर्जा नपाएको भन्दै सो को व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए। नरबहादुर धामीले कंचनपुर जिल्लाका ७५ प्रतिशत जनताले जग्गा धनी पूर्जा नपाएको भन्दै तत्काल पूर्जा दिने व्यवस्था मिलाउन माग गरेका थिए। पदम गिरीले निर्धारीत समयमै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न माग गरेका थिए।

पुष्पा भुसाल गौतमले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा प्रमुख प्रतिपक्षी दलले स्वीकार गरेन भनेर भ्रम श्रृजना गरी निर्वाचन रोक्ने काम भइरहेको भन्दै निर्वाचन हुन नसक्नुको कारणबारे सदनलाई जानकारी गराउन माग गरेका थिए।

प्रदीप यादवले नेपाल एयरलाइन्सको इन्जिन मर्मत र पाटपूर्जाको टेण्डरमा १ अर्ब ५३ करोड रुपैयाँको घोटाला भएको सार्वजनिक हुँदा पनि त्यसतर्फ सम्बन्धित मन्त्रालयको ध्यान नपुगेको भन्दै सरकारको ध्यानाकर्षण गराए।

सांसद बालकृष्ण खाँणले पूर्वगोर्खा सैनिकको समस्याप्रति गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.