|

काठमाडौं : नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सरकारले सदनमा प्रस्तुत गरेको 'सूचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक'लाई सच्याउन जनताले आन्दोलन गर्नुपर्ने बताए।

विधेयकमाथि प्रतिनिधिसभाको शुक्रबारको बैठकमा छलफल गर्दै सांसद थापाले सरकारले गरेको व्यवस्थाभन्दा पनि उसको नियतमाथि शंका गरेका थिए। थापाले भने, 'यहाँ विषय कुनै दफाको होइन, धाराको होइन, विषय यहाँ नियतको हो। दफा, कानुन त यहाँ दफावार छलफलमा सच्याउन सकिएला तर नियत के गर्ने?'

थापाले थपे, 'यो संसदमा मात्रै छलफल गरेर सच्चिने विधेयक छैन, जनताको संघर्षबाट मात्रै यो विधेयक सच्चिन्छ। कुनैबेला आलोचना गर्ने मुख बन्द गर्न राजा ज्ञानेन्द्रले फोन काटेको सम्झन्छौँ। फोन काट्दै गर्दा न फोन बन्द भयो न आलोचना गर्ने मुख बन्द भयो।'

संविधानले दिएको वाक स्वतन्त्रताको कुरामा सबै गम्भीर भए पनि सरकार भने गम्भीर नदेखिएको थापाको आरोप थियो। उनले विधेयकमा प्रधानमन्त्रीलाई आलोना गर्ने व्यक्तिले सजाय पाउने व्यवस्था गरिएको दाबी गरे। 'प्रधानमन्त्रीले दिनदिनै कसैलाई होच्याउन, जिस्क्याउन, भन्न मिल्ने तर त्यसका बारेमा कसैले आलोचना गर्‍यो भने होच्याएको भन्दै त्यसले दण्ड पाउने अवस्था छ।'

थापाले विधेयकमा हुनुपर्ने धेरै कुरा नभएको र नहुनुपर्ने सबै कुरा भएको बताए। विधेयक राजश्व नेपालमा राख्ने भन्दा पनि अभिव्यक्ति स्वतन्त्रता नियन्त्रण गर्न खोजिएको उनको आरोप थियो। साइबर आतंकको बारेमा जति गम्भीरताका साथ कुरा उठाउनुपर्ने हो त्यति नभएको उनको भनाइ थियो।

थापाले सामाजिक संजाल नेपालमा कार्यालय दर्ता गर्न आएनन् भने सरकारले गर्ने के हो? भनेर प्रश्न गरेका थिए। उनले भने, 'दर्ता गर्न आएनन् भने सरकारले बन्द गर्न खोजको हो? राजश्वको कुरा मात्रै होइन नियमन गर्न ल्याएको देखिन्छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.