|

बाँके :  अघिल्तिर घना जङ्गल छ। पछिल्तिर पहाडी र थारूहरूको बाक्लो बस्ती छ। जङ्गलसँगै सटेको सतखलुवा ताल, तालको पूर्वतिर ग्याङ्ग र पश्चिममा भादा खोला छ। पूर्वपश्चिम राजमार्गको बैदीचोकबाट साढे तीन किलोमिटर उत्तर लागेपछि सतखलुवा ताल पर्छ।  ताल पुग्नु अगावै फराकिला बाटा, सफा मनोरम दृश्यका बीचमा सतखलुवा होमस्टे छ, जहाँ आउने पाहुनालाई हार्दिकताका साथ स्वागत गरिन्छ। बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका–९ स्थित सतखलुवा पुग्ने जो कोही पर्यटक आनन्दित नभई रहन सक्दैनन्। 

नगरपालिकाभित्र पर्ने भए पनि बाटोमा ग्रामीण जीवनको अवलोकन गर्न सकिन्छ। बर्खा याम होस् वा गर्मी, सधैं एकनासको चिसो। जङ्गल बाटो छिचोल्दै हिँड्नुको मज्जा बेग्लै हुन्छ। सतखलुवा होमस्टे हुँदै १० मिनेट पैदल हिँडेपछि सिमसार जङ्गलमै उक्त ताल देखापर्छ। सार्वजनिक सवारीमा नेपालगञ्जबाट करीब सवा घण्टा हिँडेपछि बर्दियाको बाँसगढी हुँदै सतखलुवा पुग्न आधा घण्टा लाग्छ। निजी सवारीमा डेढ घण्टामै पुगिन्छ। बर्दियाको ककौरा हुँदै कतर्निया पुग्नु अगावै बैदीचोकबाट उत्तरतिर लागेपछि सतखलुवा पुग्न सकिन्छ। 

जैविक विविधताले भरिपूर्ण यो क्षेत्रमा विभिन्न २५० भन्दा बढी प्रजातिका चराचुरूङ्गी, पुतलीका साथै जङ्गली पाटेबाघ, चित्तल, बँदेल लगायतका जनावर तालमा देख्न पाइन्छ। बाटोमा होमस्टे र साना चिया पसल भेटिन्छन्। अर्गानिक तरकारी, फलफूल र दुग्धजन्य पदार्थ ठाउँ–ठाउँमा किन्न पाइन्छ। अर्गानिक खानाका परिकारको स्वाद लिने पारखीलाई स्थानीय बासिन्दा तम्तयार रहेका भेटिन्छन्। यस क्षेत्रको प्रवद्र्धन गर्न यहाँका स्थानीय बासिन्दा र जनप्रतिनिधि पनि उत्तिकै सक्रिय छन्। सतखलुवा तालको संरक्षण र पुनःनिर्माण गरी व्यवस्थित गर्ने कार्य पनि शुरु भइसकेको छ। 

तालको पुनःनिर्माण गर्न ताल वरिपरि माटो पटान, तटबन्ध र पानी संरक्षणका लागि सौर्य प्यानल जडान गरी डिप बोरिङबाट पानी पटान भइरहेको छ। कुल ६० विघा क्षेत्रफलमा फैलिएको उक्त ताल २१ फिट गहिरो छ। ताल वरपर सुविधायुक्त संरचनाको निर्माण भएमा आन्तरिक तथा बाह्य पर्यटकका लागि यो थप आकर्षणको स्थल हुनेछ। सतखलुवा ताल संरक्षण समितिका अध्यक्ष सुनील चापागाईंले पोखरीे वरिपरि ग्राभेल बाटो, पिकनिक स्थल, तालमा नौका विहार र आसपासका क्षेत्र अवलोकन गर्न ४० फिट अग्लो भ्यू टावर निर्माण गरिने बताए। सतखलुवा ताल पर्यटकीय गन्तव्य बन्न सक्ने प्रशस्त सम्भावना बोकेको भए पनि प्रचारप्रसारको अभावमा पछि परेको छ। 

ताल संरक्षण समितिका संस्थापक उपाध्यक्ष शिवप्रसाद अधिकारीले अर्थाभावका कारण आफूहरूले उल्लेख्य रुपमा प्रचारप्रसार गर्न नसकेको बताए। ताल परिसरमा पूर्वाधार निर्माणमा अहिलेसम्म एक करोड रुपैयाँ लगानी भइसकेको उपाध्यक्ष अधिकारीको भनाइ छ। बारबर्दिया नगरपालिकाको मध्यवर्ती सामुदायिक वनमा रहेको सुन्दर तालको दृश्यले त्यहाँ आउने जो कोहीलाई मन्त्रमुग्ध पार्छ। सतखलुवा ताल पर्यटकीय दृष्टिकोणले निकै रमणीय छ। सामुदायिक वनभित्रको तालमा डुङ्गा सयरको व्यवस्था गरिएसँगैं त्यस वरपर पर्यटकको भीड लाग्ने गरेको अधिकारी बताउँछन्। सतखलुवा ताल सिमसार क्षेत्रमा पर्ने भएकाले यहाँ विभिन्न प्रजातिका चराहरू देख्न सकिन्छ। उक्त तालमा साइबेरियन चराहरू पनि आउने गरेका छन्। 

बर्दिया राष्ट्रिय निकुञ्जसँगै सटेको उक्त तालमा आहारा र पानीका लागि पाटेबाघ, चित्तल, बँदेल, दुम्सी लगायतका जनावर आउने गरेका छन्। सतखलुवा सामुदायिक होमस्टेका अध्यक्ष सुरेश आचार्यले भने, 'विभिन्न विशेषता बोकेको तालको प्रशस्त पर्यटकीय सम्भावना रहेको छ। यसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्न सकिए यहाँ पर्यटकहरूको आगमन हुने देखिन्छ।' पर्यटकीय सम्भावना बोकेको भए पनि अहिलेसम्म प्रचारप्रसार र पर्यटन पूर्वाधारको अभावमा यो ताल ओझेलमै रहेको आचार्य बताउछन्। बारबर्दिया नगरपालिका र महेन्द्र राजमार्गदेखि साढे तीन किलोमिटरको दूरीमा रहे पनि सरोकारवालाको उदासीनताका कारण पूर्वाधार निर्माण गर्न नसकिएको उनको गुनासो छ। 

सतखलुवा ताल र सिमसार क्षेत्रको महत्व एवं सम्भावनालाई उजागर गरी ग्रामीण वस्तीको मुहार फेर्न सतखलुवा सामुदायिक होमस्टेले अभियान सञ्चालन गर्ने योजना बनाइएको पनि उनी बताउछन्। 'यहाँ पर्यटक भित्र्याउन प्राकृतिक रूपमा कुनै अभाव छैन, प्रचारप्रसारसँगै राष्ट्रिय निकुञ्जमा हात्ती र घोडामा जङ्गल सफारी लगायतकोे सुविधा दिन सकिए हामी आन्तरिक र बाह्य पर्यटक भित्र्याउन सक्छौँ,' अध्यक्ष आचार्यले भने। 
यसरी रह्यो सतखलुवा नाम 

बारबर्दिया नगरपालिका–९ मा रहेको सतखलुवा ताल प्राकृतिक ताल हो। सात वटा तालको मुहान मिलेर बनेकाले स्थानीय थारू भाषामा सतखलुवा भनिएको हो। तालको उत्तर, पूर्व र पश्चिम बर्दिया राष्ट्रिय निकुञ्ज छ। पूर्वमा ग्याङ्ग र पश्चिममा भादा खोलाको बीचमा रहेको तालमा बर्खायाम र चुरे पहाडबाट बगेर आएको पानी जम्मा हुन्छ। अहिलेसम्म उक्त तालको पानी सुकेको छैन। 

बारबर्दिया नगरपालिकाको मध्यवर्ती सामुदायिक वनमा रहेको तालको पानी साविकको खैरेनी हाल सतखलुवा गाउँका ३०० विघा जमीन सिँचाइ गर्ने मुख्य मुहान हो। तालमा रहेको पानीबाट त्यस क्षेत्रका किसान आफ्नो खेतमा सिँचाइ गर्छन्। किसानलाई पानीको अभाव नहोस् भनेर सौर्य प्यानल जडान गरी डिप बोरिङबाट पानी पटानको कार्य गर्ने गरिएको छ। करीब ३०० घरधुरीका १ हजार ४०० स्थानीय बासिन्दाले प्रत्यक्ष लाभ लिइरहेको होमस्टेका अध्यक्ष आचार्यले बताए। 

तालमा यतिबेला दुईवटा डुङ्गा सयरका लागि राखिएका छन्। प्रतिव्यक्ति एक घण्टाको २० रूपैयाँ र समूहका लागि २०० रूपैयाँ शुल्क लाग्छ। ताल वरिपरि आठ मिटर चौडा बाँध र बाँधमा ग्राभेल बाटो निर्माण गरिएको छ। ताल प्रवेशद्वारसँगै वनभोज आउनेका लागि पानी, शौचालय, आरामका लागि छाप्रोसमेत निर्माण गरिएको छ। यहाँ ४० फिट अग्लो भ्यू टावर बनाइँदैछ। घोडा चढीबाट तालको अवलोकन गर्न सकिन्छ भने कुखुरा, खसीका मासु, कोदो ढिँडो, रक्सी, सेल, थारू परिकारको स्वाद लिन सकिन्छ। ताल अवलोकनसँगै स्थानीय जीवनशैली र संस्कृति बुझ्ने मौका मिल्छ। सिमसार क्षेत्रभित्र पर्ने सतखलुवा सामुदायिक होमस्टेले सतखलुवाको प्रवद्र्धनमा ठूलो टेवा पुर्‍याएको छ। 

धार्मिक महत्व 
आचार्यको अनुसार सिमसार क्षेत्रमा अवस्थित सतखलुवा ताल यसअघि स्थानीय रूपमा ठेक्कामा माछापालनका लागि दिइन्थ्यो। त्यस क्षेत्रमा एकजना स्थानीय चौकीदार रहन्थे। उनी बिहान बेलुकी ताल वरिपरि चौकीदारी दिन्थे। त्यस क्रममा उनले एकदिन तीनमुखे नाग देखे।  नियमित रूपमा उक्त नाग पोखरीमा आउन थालेको पाएपछि ती चौकीदारले तालको बीचमा सानो नाग मन्दिर बनाई पूजाअर्चना गर्न थाले। नागका बारेमा थाहा पाएका स्थानीय बासिन्दाले औपचारिक रूपमा हरेक वर्ष नाग पञ्चमीमा त्यहाँ दूध, फलफूल चढाई भव्य रूपमा पूजाअर्चना गर्न थाले। अहिले नाग पञ्चमीमा नागको विशेष पूजा गर्ने परम्परा बसेको हो। 

सिमसार क्षेत्रमा रहेको सतखलुवा गाउँ नजीकै रहेको तालमा जङ्गली जनावर आहारा र पानी पिउन आउँदा गाउँवासी भयभित हुनुपर्ने स्थिति छ। तिनीहरुबाट घरपालुवा जनावर र खेतीबाली नोक्सानी भइरहेको छ। जङ्गली जनावरको सम्भावित आक्रमण र जोखिम रोक्न वरिपरि तारबार गरिए पनि त्यो अपुग छ। यसमा स्थानीय तह, पर्यटन बोर्डलगायत सरोकारवाला निकायको सहयोग आवश्यक रहेको अध्यक्ष आचार्य औँल्याउछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.