फिचर

'युद्ध'बाट जन्मेका गायक
SHARES

फागुन २०, २०७५

    कालिकोट : जुम्लाको हिमा गाउँपालिका- ६ पाथरखोला जन्मिएका छत्रबहादुर शाही अहिलेका कर्णालीमा निकै चलेका कलाकार हुन्। १० वर्षे सशस्त्र युद्धमा पनि सामेल भएका शाहीले माओवादी सशस्त्र युद्धमा लागेर नै गीत गाउन सिकेका हुन्।

    मिति २०४८ पुस १४ गते जन्मिएका छत्रले  १० वर्षको हुँदा नै बुबा गुमाएका थिए। घरको सबैभन्दा जेठो भएका कारणले बुबा बितेपछि दुई भाइ र दुई बैनीको लालनपानको जिम्मा उनैको हातमा आएको थियो। माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धमा सामेल भएका शाही २०६३ शान्तिकालपछि घर फर्किएका थिए। 

    भाइबहिनीको पालनपालनका लागि गलैँचाको व्यापारदेखि दोहोरी साँझमा गीत गाउने गरेका छत्र अहिले भने कर्णालीमा हुने मेला महोत्सवमा गाउने गर्दछन्। 
    उनले गाएका धान खान सेरी गै, मेरा धुपी रुख, झल्का पनि लाइजा, तल पर्‍यो सुर्खेत, माथि गुराँसे, लोक दोहोरी गीत मृत्युको मुखमा पर्न सक्छु म, छिनोफानो गरी माया लाउँ लगायतका १४ वटा गीतमा आफैँले स्वर दिएका छन्। ३५ वटा गीतमा शब्द र स‌ंगीत भरेका छन्। 

    १२ वर्षमै माओवादी  

    त्यति बेला जुम्लामा माओवादीको प्रभाव निकै थियो। माओवादी कलाकारको प्रभावमा परेर आफू गीत गाउने भएका कारणले २०६० सालमा उनी माओवादी प्रवेश गरे। उनले भने,‘माओवादी कलाकार राम्रो गीत गाउँथे। त्यही देखेर गीत गाउने रहर साथ म माओवादी प्रवेश गरेँ।’

    माओवादी प्रवेश गर्दा उनी पाथरखोलाकै माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्दै थिए। ‘स्कुल पढ्दा पढ्दै सशस्त्र युद्धमा लागेँ।’ उनले भने,‘सशस्त्र युद्धमा लागेर अरू केही पाइन्। त्यहीँ कलाकार बनेँ।’

    उनले माओवादीको पुगेल्नी जनसांस्कृतिक परिवारमा कमान्डरको भूमिका निर्वाह गरेको थिए। माओवादीमा जुम्ला र कालिकोटका चल्ने पुगेल्नी सांस्कृतिक परिवार थियो। उनी त्यहाँ  रहेका २५ जना कलाकारको कमान्डर बनेको थिए।

    माओवादीमा लागेर कयौँ पटक सुरक्षा कारबाहीमा परे। मृत्युबाट फुत्किए। माओवादीमा लाग्न कयौँलाई गीत गाएर प्रेरणा दिए। उनकै कारण कतिपय मानिस जनयुद्धमा होमिए। त्यसैक्रममा केहीले ज्यानसमेत गुमाएको छत्र बताउँछन्।

    जनयुद्धले गीत गाउन सिकायो

    सशस्त्र युद्धमा लागेर धेरै परिवर्तन हुने अपेक्षा थियो। जनताको जीवनस्तर सुध्रने सपना पनि थियो। छत्रले युद्धमा लागेर केही पाएनन्। माओवादीमा गएर व्यक्तिगत रूपमा सीप सिक्न पाएकोमा भने गर्व गर्दछन् ‘सशस्त्र युद्धमा लागेर सिकेको त्यही गीत हो’ उनी भन्छन्,‘अरू त के पाए भनूँ खै?’

    जनयुद्धमा लागेर तपाईँलाई के भयो? भन्ने थाहाखबरको प्रश्नमा छत्र अलि भावुक भए। अनुहार मलिन बनाए। देशले के पायो भन्नेमा पनि उनी खासै खुल्न सकेनन्। ‘त्यहाँ सिकेको सिप यही गीत गाउने हो’ निराश हुँदै उनले भने, ‘अरूका कुरा त त्यस्तै हो।’

    जनयुद्धले बाच्नका लागि सङ्घर्ष गर्नुपर्छ भन्ने सिकाएको ठान्छन् उनी। उनी अहिले त्यही चेतनाले बाँचिरहेको बताउँछन्।

    युद्ध अन्त्यपछि अध्ययन र काम

    सशस्त्र युद्ध अन्त्यपछि उनी पठनपाठनमा फर्किए। स्कुल भर्ना भए। 'प्लस टु'सम्म पास पनि भए। जेठो छोरा भएकाले पारिवारिक बोझ उनमा थियो। कलाकार भएर बाच्न कठिन भयो उनलाई। सानोतिनो व्यापार पनि गरे। घरव्यवहारदेखि सबै काम आफैँ सम्हाले।

    कलाकारिता बचाउनका लागि पोखरा र बाग्लुङ्ग जिल्लाका दोहोरी साँझमा राति गीत गाउने र दिउसो गलैँचा बेच्ने गरेको छत्रले बताए। उनले भने,‘राति दोहोरीमा गीत गाउँथे। दिउसो भने गलैँचाको व्यापार गर्थेँ।’ करिब ४ वर्ष उनले यसरी बिताए। त्यसबाट उनले नाम र दाम दुवै पाए।

    गलैँचामा व्यापार र दोहोरी साँझमा गीत गाउँदा महिनामा एक लाखसम्म कमाउने गरेका थिए। उनले भने, ‘त्यो कमाइभन्दा मेरो सोख कलाकारिता थियो। कलाकारितामा बाच्न गाह्रो छ। यो क्षेत्र सोख हो मेरो।'

    कलाकारिता भोक झनै बढ्दै गयो। काठमाडौँमा गीत रेकर्ड गराउन गए। नयाँ बसपार्कको यानीमाया दोहोरी साँझ र ठमेलको नाइट फेवा रोधी क्लबमा काम गरे। ‘काठमाडौँ गएपछि गीत रेकर्ड गर्ने ठाउँ कहाँ हो थाहा थिएन’ उनले भने,‘नयाँ बसपार्क र ठमेलमा दोहोरी साँझमा काम गरेँ।’

    काठमाडौँमा ईश्वर रोकाया र पृथ्वीराज अधिकारीले सहयोग गरेको थिए। 'मेरा धुपी रुख' गीत उनीहरूकै लगानीमा रेकर्डिङ गराएको छत्रले बताए। ‘काठमाडौँमा  मलाई रोकाया दाइ, अधिकारी दाइ र वकिल बमले सहयोग गर्नुभयो’ उनले भने,‘उहाँहरूकै सहयोगमा पहिलो गीत रेकर्ड गराएँ।’

    कर्णाली क्षेत्रमा हुने मेला महोत्सवमा हिजोआज छत्रलाई बोलाउने गरिएको छ। पारिश्रमिक पनि राम्रै हात पर्न थालेको छ। आफूले गाएका सबै गीत कर्णालीका टिपिकल भएकाले चलेको र त्यही आधारमा यहाँ लाग्ने मेला महोत्सवमा बोलाउने गरेको छत्रले बताए। 

रमेश रावल

रावल थाहा खबरका कालिकोट जिल्ला समाचारदाता हुन्। ईमेल : rmsrwl@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]