पार्टी विधानअनुसार नचलेको आरोप

|

विराटनगर : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले विधानविपरीत १४ औं महाधिवेशनलाई पर धकेल्ने प्रयास गरिरहेको आरोप लगाएका छन्।

विराटनगरमा सोमबार बिहान पत्रकार सम्मेलन गर्दै नेता कोइरालाले सभापतिले गैरजिम्मेवार ढंगले साढे ५ वर्ष कार्यकाल रहेको छ भनेर बोल्दै हिँड्नु गलत भएको पनि बताए। उनले कांग्रेसको १४ औं महाधिवेशनबाट विधानअनुसार पार्टी अगाडि नबढेसम्म कांग्रेस कमजोर बनिरहने बताए। ‘वर्तमान केन्द्रीय समितिको कार्यकाल ३ वर्ष भइसक्यो, विधान विपरीत सभापतिज्यूले साढे ५ वर्ष कार्यकाल रहेको भनेर बोल्नुभएको छ। सभापतिले गैरजिम्मेवार ढंगले साढे ५ वर्ष कार्यकाल रहेको छ भनेर के कारणले बोल्नुभयो ?,’ नेता कोइरालाले भने, ‘कांग्रेसको १४ औं महाधिवेशनबाट विधानअनुसार जबसम्म अगाडि बढ्न सक्दैन तबसम्म कांग्रेस कमजोर बनिरहन्छ।’

नेता कोइरालाले महासमिति बैठकमा सभापति शेरबहादुर देउवा तथा वरिष्ठ नेता रामचन्द्र पौडेलले विधान परिमार्जन गर्ने भनेर जनाएको प्रतिबद्धताविपरीत विधान पास गरेको भन्दै आफ्नो असहमति रहेको बताए। कांग्रेसको संगठनमा समावेशीको नाममा पटक–पटक एउटै व्यक्तिलाई ३ पटक ४ पटक लड्न दिने हो भने नयाँ नेता नआउने भन्दै आफूहरूको यो एजेण्डा १४ औं महाधिवेशनसम्म लैजाने उनको भनाइ थियो।

‘महासमिति सदस्यहरुले महासमिति बैठकमा राखेको कुरा भनेको तलैबाट चुनाव लडेर आउनुपर्छ भन्ने थियो। त्यसलाई सभापति र वरिष्ठ नेताज्यूले विधान परिमार्जन गर्छौं भनेर महासमिति बैठकमा भन्नुभएको थियो,’ नेता कोइरालाले भने, ‘तर, अहिले पार्टीले बहुमत र अल्पमतको आधारमा जसरी पास गर्‍यो, म काठमाडौंमा नभएको कारण नोट अफ डिसेन्ट लेख्न सकिने त्यहाँ भएको भए म पनि नोट अफ डिसेन्ट लेख्थें।’ उनले पार्टीमा भएका गलत क्रियाकलापको विरोधमा १४ औं महाधिवेशनसम्म जाने पनि बताए। ‘कांग्रेसभित्र भएका गलत राजनीतिक प्रस्तावलाई परिवर्तन गर्नुपर्छ भनेर हामी कांग्रेसको तलैसम्म जान्छौं। यो एजेण्डा सकिएको छैन,’ उनले भने, ‘बहुमतको आधारमा विधान पारित भएपनि हाम्रा असहमतिका कुरालाई १४ औं महाधिवेशनसम्म लान्छौं।’

कोइरालाले गिरिजाप्रसाद कोइरालाको योगदानलाई कांग्रेसले नै बिर्सिन थालेको पनि टिप्पणी गरे। गिरिजाप्रसाद कोइरालाले गरेको तत्कालीन संसद पुनःस्थापनाको मागलाई विश्वले स्वीकार गरेको भए पनि वर्तमान पार्टी सभापतिले नै विर्सन थाल्नु चिन्ताको विषय भएको कोइरालाको भनाइ थियो। ‘गिरिजाप्रसाद कोइरालाको योगदानलाई कांग्रेसले नै बिर्सिन थाल्यो, यो दुःखदायी कुरा हो,’ कोइरालाले भन्नुभयो, ‘गिरिजाप्रसाद कोइरालाले गरेको तत्कालीन संसद पुनःस्थापनाको मागलाई विश्वले स्वीकार गरेको थियो, तर वर्तमान सभापतिले विर्सन थाल्नु भयो त्यो चिन्ताको विषय हो।’

नेपाली कांग्रेस कमजोर छ भनेको विषयमा आफूमाथि सभापतिबाट आक्रोश व्यक्त हुनुमा आफ्नो कुनै प्रतिक्रिया नरहेको कोइरालाले बताए। ‘नेपाली कांग्रेस कमजोर छ, नेपाली कांग्रेसको संगठन शून्य बराबर छ, चुनावमा हार्नु ठूलो कुरा होइन, चुनावमा हारको जिम्मा नेतृत्वले लिनुपर्छ भन्दा कारबाहीको धम्की आउँछ भने मेरो भन्नु केही छैन’, नेता कोइरालाले भने, ‘कांग्रेस कसरी मजबुद बनाउने संगठन कसरी बलियो बनाउने भन्ने विषयमा बोल्दा कसैलाई चित्त दुख्छ भने त्यसको मसँग उत्तर छैन, किनभने म एउटा राजनीतिक संस्कार बोकेको व्यक्ति हो, त्यो राजनीतिक संस्कार छोड्न सक्दिनँ,  सभापतिलाई म सम्मान गर्छु तर जे बोल्नुभएको छ मेरो बारेमा त्यो उहाँको संस्कार हो।’

नेपाली कांग्रेस कोइरालाहरुको मात्रै पार्टी नभएर धेरै कार्यकर्ताहरुको रगतले सिँचित पार्टी भएको बताउँदै नेता कोइरालाले सभापति देउवाले त्यो कुरा आफूलाई सम्झाइरहनु नपर्ने प्रतिक्रिया पनि दिए।

वाइडबडीमा ढाकछोप नगरियोस्

नेता कोइरालाले एनसेल घोटाला प्रकरण र वाइडबडी विमान खरिदमा भएको अनियमितताको ढाकछोपको प्रयास भइरहेको पनि बताए। उनले घोटालामा मुछिएका पूर्वप्रधानमन्त्री, मन्त्रीलगायतलाई पनि अनुसन्धानको दायरामा ल्याएर कानूनी कारबाही गर्नुपर्नेमा जोड दिए। ‘वाइड बडी विमान घोटालामा मन्त्री, पूर्वप्रधानमन्त्री, वर्तमान प्रधानमन्त्री भए पनि कानुनी कठघरामा ल्याउनुपर्छ,’ नेता कोइरालाले भने, ‘न्यायिक जाँचबुझ आयोग निर्माण गरेर अनियमितता ढाकछोपको प्रयास भएको देखिन्छ।’

नेता कोइरालाले देशमा भ्रष्टाचार बढेको, बजेट घाटा ७ खर्ब पुगेको, विदेशी लगानी ४० प्रतिशतले घटेको, शोधानान्तर घाटा सय प्रतिशतभन्दा बढेको, सामाजिक संजाल नियन्त्रणको प्रयास गरेको, वाइडबढी विमान खरिद प्रकरणमा ठूलो अनियमितता भएको र ढाकछोपको प्रयास गरेको, नेपाली सेनालाई विभाजित र विवादित गर्ने खेल सरकारले गरिरहेको भन्दै विरोध पनि गरे। यस्तै सरकारले न्यायपालिका निरीह बनाएको, परराष्ट्र नीति कमजोर बनाइएको आरोप पनि लगाए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.