|

काठमाडाैं : उद्योगीहरूले सरकारले अनुगमनको नाममा उद्योग व्यवसायीको मानमर्दन गर्ने काम गरेको भन्दै गम्भीर आपत्ति जनाएका छन्। 

उद्योग वाणिज्य महासंघ प्रदेश ३ ले सोमबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा उद्योगीहरूले हचुवाको भरमा अनुगमन गर्ने सरकारी कार्यशैलीका कारण आफूहरू मारमा परेको गुनासो गरेका हुन्। उनीहरूले निश्चित मापदण्ड बनाएर अनुगमनलाई मर्यादित बनाउन सरकारसँग माग गरे। साथै उनीहरूले बैकको चर्को व्याजदर प्रति पनि आपत्ति जनाएका छन्।

महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले विद्यमान व्याजदरमा समृद्धि संभव नभएको भन्दै व्याजदर घटाउन माग गरे। महासंघ प्रदेश ३ का अध्यक्ष दिनेश श्रेष्ठले बैंकहरूको बढी व्याजदरका कारण लागत बढ्न गएकाले यथाअवस्थामा उद्योग संञ्चालन गर्न नसकिने बताए। बैंकहरूले सेवा शुल्कको नाममा जथाभावी असुल्ने गरेको, उद्योग व्यवसायीलाई कालो सूचीमा बस्न तयार छु भनेर तमसुकमा हस्ताक्षर गर्न लगाउने काम गरेको भन्दै उनले तमसुकको ढाँचामा एक रुपता ल्याउने कार्यलाई तीब्रताका साथ कार्यान्वयनमा लैजान राष्ट्र बैंकको ध्यानाकर्षण गराए।

पछिल्लो समय टोल टोलमा हुने मेला महोत्सवले विकृति ल्याएको र कर तिरेर काम गर्ने व्यवसायी प्रत्यक्ष प्रभावित हुने गरेको भन्दै उनले व्यवसायिक संस्थाले मात्रै मेला महोत्सव गर्न पाउने व्यवस्था गर्न माग गरे। उनले ऋण प्रवाहमा रहेका जटिलतालाई परिमार्जन गरि सहज बनाउनुको साथै व्याजदर घटाई व्यवसायीलाई औद्योगिक सुरक्षाको प्रत्याभूति दिनुपर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.