|

हेटौँडा :  मकवानपुरको हेटौँडा उपमहानगरपालिको तीनवटा वडामा पछिल्लो एक सातामा १५ हजार कुखुरा मरेका छन्। उपमहानगरको वडा ७, ८ र ११ मा पालिएका कुखुरा मरेका हुन्।

हेटौंडा–७ का दीपेन्द्र गौतम, रामबहादुर गौतम, नवराज सिलवाल, दुर्गा महत, कुबेरप्रसाद चौलागाईं तथा कुलप्रसाद चौलागाईंको खोरबाट करिब १५ हजारभन्दा बढी लेयर्स कुखुरा मरेका हुन्। करिब दुई हजार ७ सय लेयर्स कुखुराको चल्ला हालेका दीपेन्द्र गौतम अण्डा दिने बेला भएका कुखुरा मर्न थालेपछि चिन्तित देखिएका छन्। गौतमका सात सयभन्दा बढी कुखुरा मरिसकेका छन्।

सोही स्थानका अग्राठेका रामबहादुर गौतमको कुखुरा मरेर खोर नै रित्तिएको छ। ३ हजार कुखुरा पालेकोमा सङ्क्रमणको कारण सबै कुखुरा मरेको गौतमले बताए। हेटौंडा ८ कमानेका कुलप्रसाद चौलागाईंले ६ हजार लेयर्स कुखुरा पालेकोमा अहिले १२ वटा मात्रै बाँकी छन्। नवराज सिलवालले ४ हजार कुखुरा पालेकोमा २ हजार ५ सय मरिसकेको छन्। अण्डा दिने कुखुरा भटाभट मर्दै गएपछि मरेको कुखुरा व्यवस्थापनमा समेत समस्या पर्न थालेको छ।

बर्डफ्लु होइन: व्यवसायी

लेयर्स कुखुरामा देखिएको संक्रमण ‘बर्डफ्लु’ नभएको दाबी मकवानपुर कुखुरा व्यवसायी संघले गरेको छ।

हेटौँडा उपमहानगरपालिका ७ मा केही दिनबाट कुखुरा मर्न थालेपछि चलेको ‘बर्ड फ्लु’को हल्ला निरर्थक भएको संघले जनाएको छ। संघका अध्यक्ष राजु अधिकारीले नेपालमै नभएको ‘बर्डफ्लु’ हेटौंडामा पनि नभएको दाबी गरे। एच नाइन, रानीखेत जस्ता रोगका कारण कुखुरा मरेको दाबी गर्दै हेटौंडाको कुखुरामा ‘बर्डफ्लु’को संक्रमण नभएको अधिकारीले दाबी गरे। उनले पाँच अर्ब रूपैयाँ लगानी रहेको मकवानपुरको पोल्ट्रीमा ‘बर्डफ्लुको शंका' भन्ने शब्दले सबै किसानलाई समस्या पारेको बताए। 

ठूलो संख्यामा एकै गाउँका कुखुरा मरेपछि स्थानीय प्रशासन र पशु सेवा कार्यालयको टोलीले किसानको खोर निरीक्षण गरेको थियो। निरीक्षणसँगै संक्रमण उच्च रहेको आशंका गरिएका ५ वटा खोरबाट कुखुराको र्‍यालको नमुना संकलन गरेको छ।

अण्डा र कुखुरा बिक्रीवितरणमा रोक

हेटौंडा नगरभित्र कुखुरा मर्न थालेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुर चासो दिएको छ। प्रशासन कार्यालयले संक्रमण भेटिएका कुखुरा फार्मबाट उत्पादित कुखुरा र अण्डा बिक्री तथा वितरण गर्न रोक लगाएको छ।

प्रमुख जिल्ला अधिकारी असमान तामाङले प्रशासन र विज्ञ टोलीले गरेको अनुसन्धान र नमुना संकलनबाट कुखुरामा रोगको संक्रमण भएको पुष्टि भएपछि ती फार्मबाट उत्पादित कुखुरा र अण्डा बिक्री वितरणमा रोक लगाइएको बताए।

उनले मकवानपुरको भैँसे, भीमफेदी र रातोमाटे प्रहरी चेकपोस्टमा लिखितरूपमा पत्राचार गरी कुखुरा अण्डाआयात तथा निर्यातमा रोक लगाउन निर्देशन गरिएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.