|

काठमाडौं:  आख्यानकार  मीनराज बसन्तको दोस्रो कृति पिपिरी शनिबार सार्वजनिक हुदैँछ। उपन्यास लेखनको भिडमा उनको पहिलो कृति मुदिरले निकै चर्चा कमाएको थियो। बसन्तले पिपिरी एउटा बालकको आँखाबाट समाज र आफ्नै बाल्यकाल बोल्ने ऐना भएको दाबी गरे।

आखिर के हो त पिपिरी?  पिपिरी बच्चाले बजाउने एउटा बाजाको नाम हो। यद्यपि गाउँघरतिर गोठालो जादाँ होस् या उकाली ओराली झर्दा भञ्जाङको चौतारीमा बसेर जुनसुकै उमेरकाले पनि बजाउन सक्छन्। विशेषत: पातबाट बनाइने र बजाइने यो बाजा सन्तुलित तरिका अपनाउन नसकेको खण्डमा पूर्ण लय निकाल्न सकिँदैन। अर्को कुरा यस बाजालाई लामो समयसम्म बजाउन सकिँदैन। पात च्यातिन सक्छ।फाट्न सक्छ। त्यसकारण लयबद्ध रूपमा बजिरहन सक्दैन। लयबद्ध बज्न नसक्ने पिपिरीलाई उनले बाल्यकालसँग जोडेका छन्। जीवनसँग जोडेका छन्। किनभने जीवन लयबद्ध तरिकाले चल्न सक्दैन्। सोचेअनुकुल हुँदैन। 

देवेन्द्र पिपिरीको मुख्य पात्र हो। उपन्यासमा गाउँको रहरलाग्दो बाल्यकालमा समाजको अध्याँरो पक्षलाई बालकको नजरबाट बाहिर ल्याउने कोशिश गरेका छन् उनले। गरिबि र बाल्यकाललाई हटाइदिने हो भने के रहन्छ पिपिरी भित्र? भन्ने प्रश्नमा बसन्त भन्छन्, ' प्रेम, करुणा र घृणा बाँकि रहन्छ किनभने उपन्यासमा सन्तुलित विषय छन्।'

पिपिरीमा उनी स्वयं पनि कथामा छन्।  उनी भन्छन्, 'मेरो भोगाइ पनि उपन्यासमा पचास प्रतिशत छ।' पचास प्रतिशत आफ्ना कथा हालेका वसन्तले आत्मकथा लेखनको होडबाजी चलेको अहिलेको अवस्थामा केही मेहनत गरेका भए आत्मकथा बन्न सक्थ्यो भन्ने सन्दर्भ उठ्न सक्छ। यसको जवाफ पनि बसन्त दिन्छन्, 'आफूले बाँचेको समाजको कथा लेख्दा आफ्नो कथा आउनु स्वभाविक हो तर यसलाई 'फिक्सनाइज्ड' गरेर लेखेको छु।' हरेक मान्छे आफैँमा एउटा सिङ्गो कथा हो। तर  आफू अहिल्यै नै आत्मकथा लेखनको त्यो विन्दुमा पुगिनसकेको उनले बताए। केही आफ्ना कथा, केही समाजका कथालाई आख्यानीकरण गरेर लेखेको उनी बताउँछन्।

पिपिरीको नाम सुरूवातमा 'अस्थिपञ्जर' थियो। त्यसबेला आफ्नो लेखनमा हुनुपर्ने चेतना, ज्ञान र शिल्पको अभावले उनले यो पाण्डुलिपि सुरक्षित थन्काए। लेखनको अभ्यासले मुदिर पहिले बजारमा आयो। मुदिर पाठकले मन पराए। त्यसपछि आफूले थन्काएको यो उपन्यासलाई पुनर्लेखन गरे उनले। अहिले नाम परिवर्तन भएर पिपिरी बनेको छ।

लेखनको धेरै विषयवस्तु हुदाँहुँदै पनि उनलाई  गाउँ र बाल्यकालको 'अर्ग्यानिक' उपन्यास  लेख्ने उनको रहर थियो। यही रहर पूरा गरेका छन् उनले। जुन गाउँमा उनी हुर्के। आफू हुर्किँदा र अहिलेको अवस्था परिवर्तन भइसकेको छ। आफ्नो बाल्यकालको समय र  अहिलेको बाल्यकालबीच भिन्नता छ।  गाउँ  परिवर्तन हुँदै गयो। पिपिरीमार्फत समयको परिवर्तनसँगै बालकहरूको दैनन्दिनमा आएको परिवर्तनलाई दस्तावेजको स्वरूप दिन खोजेको बताउँछन् बसन्त।

विकासको नाममा गाउँ कुरूप भइसकेको छ। गाउँ विकासको नाममा शहरीकृत हुँदैछ। शहरीकृत हुने रहरले असली गाउँको पहिचान गुम्दै गएको छ। गाउँका बच्चाहरूको बाल्यकालीन अवस्था पनि परिवर्तन आइरहेको छ। लेखनको हिसाबले उनले मुदिर भन्दा पहिले लेखेका थिए। पिपिरीको नाम सुरूवातमा 'अस्थिपञ्जर' थियो। त्यसबेला आफ्नो लेखनमा हुनुपर्ने चेतना, ज्ञान र शिल्पको अभावले उनले यो पाण्डुलिपि सुरक्षित थन्काए। लेखनको अभ्यासले मुदिर पहिले बजारमा आयो। मुदिर पाठकले मन पराए। त्यसपछि आफूले थन्काएको यो उपन्यासलाई पुनर्लेखन गरे उनले। अहिले नाम परिवर्तन भएर पिपिरी बनेको छ।

उनी पैसा कमाउन उपन्यास लेखिनरहेको बताउँछन्। तर बाँच्ने आधारका लागि लेखन व्यावसायिक हुनुपर्ने बताउँछन्। अहिलेका अधिकांश लेखकहरू आँसु,रोदन, र गरिबीलाई मुख्य विषयवस्तु बनाएर नै उपन्यासको बजारीकरण गरिरहेको आरोप सुनिन्छ बजारमा। यसबाट बसन्त पनि अछुतो छैनन्। तर सुखमा कथा लेख्ने समय नआइसकेको बताउँछन्। उनी भन्छन्, 'दु:ख नलेख्नलाई त सुख मात्र हुनुपर्‍यो नि! हामीसँग अझै पनि अभावका कथा छन्। दु:खका कहानी छन्। विलासी जीवनका कथाहरू पनि विस्तारै लेखिन्छन्।'

मुदिरभन्दा यो उपन्यासबाट उनी अझ बढी आशावादी रहेको बताउँछन्। मुदिर उनको वैदेशिक रोजगारीमा गएका व्यक्तिको प्रतिनिधि कथा थियो। पिपिरी बाल्यकालको कथा हो। सबै नेपाली विदेश गएका छैनन्। तर सबै व्यक्तिले बाल्यकालको अनुभव बटुलेका हुनाले यो उपन्यासले पाठकको माया बढी पाउनेमा उनी आशावादी छन्।

नयाँ ठाउँ, नयाँ परिवेश, आञ्चलिकता भएकोले पाठकलाई यो कृति पाठकलाई मन पर्ने उनको दाबी छ उनको। उपन्यासको परिवेश बाग्लुङ बलेवा हो। पर्वेतेली भाषाको प्रयोग  छ पिपिरीमा। उनको पहिलो उपन्यास मुदिरले गणेशकुमारी, हस्तकुमारी पन्त स्मृति पुरस्कार, कवि डाँडा साहित्य सम्मान, नीलकण्ठ नवोदित प्रतिभा पुरस्कार र अनेसास सर्वोकृष्ट डायस्पोरिक पुरस्कार २०१७ पुरस्कार पाएको थियो। उनको लागि पुरस्कार प्राथमिकतामा होइन् तर एउटा लेखकको लागि पुरस्कार प्राप्त गर्नु भनेको लेखन यात्राको उकाली ओराली गर्दा थकाइ मार्ने चौतारी जस्तो हो। जसले लेखकलाई लेखनमा उत्प्रेरित गर्ने काम मात्र गर्छ।

पाठकको आलोचनात्मक माया नै एउटा लेखकको लागि उर्जाको स्रोत हो। बसन्त घुम्न रूचाउँछन्। घुम्नु लेखनको लागि एक माध्यम ठान्छन् तर, उपन्यास भने आफ्नै गाउँको परिवेशमा बसेर लेखे। लेखनको महत्त्वपूर्ण कुरा हो मूल जरा। अफ्रिकी लेखकहरूले सन् २००२ मा 'आफूतिर फर्क' अभियान चलाएका थिए। यो अभियानबाट आफू प्रभावित भएको  बताउँछन् बसन्त। पातहरू उडेर टाढा जान स्वतन्त्र छन्, हागाँ फैलिन  स्वतन्त्र छन्। जरा फैलन स्वतन्त्र छ तर आफ्नो अस्तित्व कायम गर्नुपर्ने जरूरी छ। लेखनको मूल जरा भनेको आफ्नो ठाउँ हो। आफ्नो कथा हो। आफूलाई र आफ्नो परिवेशलाई जति अरू परिवेशलाई न्याय गर्ने सम्भावना कम हुन्छ। नेपाली आख्यानमा नआएको आञ्चलिकतालाई  बाहिर निकाल्न उनी आफ्नो मूल जरातिर फर्केको बताउँछन्।

लेखक टोम स्टोपार्ड भन्छन्, ' इफ यु क्यारी योर चाइल्डवुड विथ यू,यू नेवर विकम वल्डर' अर्थात् 'जब तिमीले आफ्नो बाल्यकाल लिएर हिँड्छौ, तिमी कहिल्यै बुढो हुदैनौँ।' यो भनाइलाई आधार मान्ने हो भने बसन्तले आफ्नो बाल्यकालको सम्झनामा पिपिरी लेखेका हुन्। पाठकलाई बाल्यकालतर्फ फर्काउन कति सक्छन् त्यो समयले बताउला।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.