मनोरञ्जन

'म्युजिक भिडियोमा काम गर्दा रत्नपार्कमा सुतेँ'
SHARES

कर्णालीको कला संस्कृति जोगाउन तल्लीन

फागुन १८, २०७५

    कालिकोट : यस जिल्लाको तिलागुफा नगरपालिका ५ (साविकको जुबिथा गाविस) मा जन्मिएका खगेन्द्र न्यौपाने उदाउँदा सर्जक हुन्। सानै उमेरदेखि गीत सङ्गीतका रुचि राख्ने खगेन्द्रले हालसम्म ६४ वटा गीत गाइसकेका छन्। २०४९ सालामा जन्मिकएका खगेन्द्रले २०० सयभन्दा बढी म्युजिक भिडियोको निर्देशन गरेका छन्। १०० भन्दा बढीमा खगेन्द्र आफैँले लेखनसहित सङ्गीत भरेका छन्।

    गीत सङ्गीत क्षेत्रमा लागेका खगेन्द्रले काठमाडौंको शंकरदेव क्याम्पसबाट बिबिएससम्मको अध्ययन गरेका छन्। गीत सङ्गीतमा लागेका उनले कर्णालीको संस्कृति झल्काउने खस भाषाको चलचित्र पानकलीको निर्देशन तथा लेखन गरेका छन्। उनले 'गर्छु माया जुनी जुनीलाई, हेदैँ बस्नु घरको झ्यालैमा, भन मिति चिनो ल्याउँदै छु, आउनु माया घुमाउला कालिकोट, बाबाको झझल्को, छोए जस्तै क्षितिज'मा लगायतका गीतमा स्वर दिएका छन्। 

    स्कुल पढ्दा नै गीत सङ्गीतमा रुचि 

    खगेन्द्रलाई गीत गाउने रहर विद्यालय पढ्दादेखि आएको थियो। उनले विद्यालय देखि नै गाउन थालेको हुन्। स्कुलमा ४/५ कक्षा पढ्दामा गाएको गीत उनलाई अझै सम्झनामा ताजै छ। 

    ‘वल्लो टुईयुँ पल्लो टुइयुँ, टुइयुँ भन्या टइयुँ। 
    एक गीतले हराई दियाँ छोरो भन्ने मै हुँ।।’

    खगेन्द्रलाई ६/ ७ कक्षामा पुगेपछि शिक्षकहरूले गीत गाउन लगाउने गरेका थिए। उनी सम्झछन्- 'पढाइ सुरु हुनुभन्दा अगाडि शिक्षकले नै गीत गाउन लगाउँथे। त्यसपछि सधैँ गाउने बानी बस्यो।’

    प्लस टु पढ्न सुर्खेत गएपछि उनको गायन यात्राले अझै गति लियो। त्यहीबाट उनको व्यवसायिक गायन यात्रा सुरु भयो।

    रुचि डान्समा

    गीत लेखन, गायन तथा निर्देशनमा जम्दै गरेका खगेन्द्र डान्सर बन्न चाहन्थे। राम्रो डान्सर बन्‍न उनले सुर्खेतमा डान्सिङ ट्रेनिङ पनि गरे। तर उनलाई डान्सले भन्दा गीतले नै तान्यो। गीत गाउँदा गाउँदै त्यसैले मन जित्यो।   

    २०६४ सालमा पहिलोपटक काठमाडौँ जाँदा हराउँछु भन्ने डर हुन्थ्यो उनलाई। बाटोमा गुनगुनाउँदै हिँड्थे।

    'मेरो गाउँको दाइको छोरा महेश न्यौपाने काठमाडौँमा थिए। उसले काका तपाईँको स्वर राम्रो छ। एउटा गीत गाउनुहोस् रेकर्ड गरौँ भन्यो’ उनले जवाफ दिएका थिए- 'मैले तेरो हात छोडे भने त हराउँछु। कहाँ गीत गाउनु? कसलाई पो चिनेको छु र!'

    त्यसपछि महेशले मान्छे चिनेको छु भनेर सुन पसलको साहु अशोक भन्ने मान्छे भेट्टायो। अशोकले सङ्गीतकार सन्तोष श्रेष्ठसँग चिनचान गराइदिए। त्यसपछि पहिलो गीत रेकर्ड गराए खगेन्द्रले। सन्तोषको सहयोगमा दुई वटा गीत रेकर्ड गराएको खगेन्द्रले बताए। ती गीत हुन्- ‘गर्छु माया जुनी जुनीलाई’ ‘हेदैँ बस्नु घरको झ्यालैमा’।

    भाडा नभएर रत्नपार्कमा सुतेँ 

    खगेन्द्र २०६८ मा म्युजिक भिडियो निर्माण तथा निर्देशनमा लागे। त्यसबखत निकै दुख झेल्नुपरेको थियो उनले।  पहिलो म्युजिक भिडियोका लागि काम गर्दा पैसाको अभाव थियो। उनी भक्तपुरमा बस्थे। दिनभर काम गरेर घर फर्कने बेलामा पैसा थिएन। भक्तपुर जान २५ रुपैयाँ भाडा लाग्थ्यो। तर उनीसँग पैसा थिएन। आफ्नो दुख उनी सम्झन्छन्- 'पैसा नभएपछि रत्नपार्कमै सुतेँ। धेरै दुख भयो मलाई।'

    वृद्धभत्ताले बनायो कलाकार

    खगेन्द्रको घरको अवस्था सामान्य थियो। काठमाडौँ गएर पढ्न निक्कै आर्थिक चुनौती थियो। बुबाले पाएको बृद्धभत्ता लिएर खगेन्द्र काठमाडौं आएका थिए। काठमाडौँको शंकरदेव क्याम्पसबाट बिबिएस पढे। त्यसैबीचमा कलाकारितालाई पनि फक्राउने काम गरे। उनले भने- मेरो जीवनमा त्यो बृद्ध भत्ताको विशिष्ट महत्व छ।

    खगेन्द्रका बुबाको चाहना राम्रो पढेर जागिर खाओस् भन्ने थियो। तर उनले बुबाको चाहना पूरा गर्न सकेनन्। उनलाई कलाकारितामा मोह बस्यो। अहिले कलाको पोखरीमा डुबुल्की मारिरहेका छन् उनी। दुखको कुरा बुबाको राम्रो बनेको देख्ने चाहनाको पनि अन्त्य भएको छ। बृद्ध भत्ता दिएर ठुलो मान्छे बन्न काठमाडौँ पठाउने खगेन्द्रका बुबाको गत वर्ष निधन भएको छ।

    कर्णालीको कला संस्कृति जोगाउनमा तल्लीन

    कर्णाली कला, संस्कृति र नेपाली भाषाको उद्गम थलो हो। अहिले खगेन्द्र कर्णालीको कला, संस्कृति र भाषा जोगाउन तल्लीन छन्। कला, संस्कृति र भाषा हराउँदै गएकोमा उनलाई चिन्ता छ। त्यसलाई जोगाउनुलाई उनले कर्तव्य ठानेका छन्। कर्णालीको कला, संस्कृति जोगाउन कमिटी बनाएर नै काम गर्न थालेको छन्। त्यसमा कर्णालीका उदाउँदा सर्जक छत्रबहादुर शाही, तिलक बुढालगायत छन्।

    कर्णालीको कला-संस्कृति जगाउन पछिल्लो समयमा आफूहरूले ‘कर्णालीको माछो, रारातालमा पानी खाँदो’, ‘जुम्ला कालिकोट रारा जाने मूल बाटो’लगायतका गीत बजारमा ल्याएको खगेन्द्रले बताए। उनले भने- ‘हामीले यहीका टिपिकल पुराना भाषाका गीतहरूलाई समेटेर कर्णालीका संस्कृतिको संरक्षण गरेका छौँ। धेरै यहीका भाकामा गीत पनि निकालेका छौँ।’

    खसभाषाको पहिलो चलचित्र पानकली

    कर्णालीका नारीहरूले सहनुपर्ने पीडा, जातीय छुवाछुत र बालविवाह घटना कर्णालीलगायतका विषयलाई समेटेर कर्णालीकै भाषाशैलीमा पानकली चलचित्रको निर्माण गरिएको छ। पानकलीलाई धेरैले मन पराएको खगेन्द्रको बताउँछन्। कर्णालीको संस्कृति संरक्षणमा पानकली चलचित्र निकै महत्त्वपूर्ण रहेको उनले बताए।  उनले भने- ‘पानकलीले कर्णालीका सामाजिक विषयलाई समेटेको छ। हामीले यो चलचित्रमा यहीँका कलाकार र यहीका विषयवस्तुलाई समेटेका छौँ।’

रमेश रावल

पत्रकार रावल थाहाखबरका कालिकोट जिल्ला संवाददाता हुन्। ईमेल : rmsrwl@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]