|

बाँके : आठौँ राष्ट्रिय प्रतियोगिताका लागि सम्पन्न जुडो खेलको पुरुष तथा महिलातर्फ  प्रदेश ५ स्तरीय छनोट खेलमा बाँके प्रथम भएको छ। महिलातर्फ छ वटा तौल समूहमा भएको प्रतियोगितामा बाँकेले पाँच स्वर्ण हात पारेको छ। महिलातर्फको खेलमा बर्दियाले एक स्वर्ण हात पार्‍यो। 

प्रतियोगितामा ४८ किलो तौल समूहमा बाँकेकी सोनिया भट्टले स्वर्ण पदक हात पारिन्। त्यसैगरी, ५२ किलोभन्दा कम तौल समूहमा निर्मला कुँवर, ५७ किलोभन्दा कम तौल समूहमा बिनिता खत्री, ७८ किलोभन्दा कम तौलमा बाँकीकी सम्झना चौधरीले स्वर्ण पदक विजेता बनेका छन्। यस्तै, ७८ किलोभन्दा माथिको तौल समूहमा पनि बाँकेकी दीपा गुरुङले स्वर्ण पदक हात पारेको बाँके जिल्ला जुडो संघका अध्यक्ष पदम बुढाथोकीले जानकारी दिए। महिलातर्फको जुडो प्रतियोगितामा बर्दियाकी सुशीला चौधरीले मात्र स्वर्ण जितिन्। उनले ६३ किलोेभन्दा कम तौल समूहमा स्वर्ण जितेकी हुन्। 

प्रदेश ५ का १२ जिल्लाका खेलाडीबीच भएको पुरुषतर्फको जुडो प्रतियोगितामा पनि बाँकेले नै वर्चस्व कायम राखेको छ। पुरुषतर्फको सात उमेर समूहको खेलमा बाँकेले चार वटा स्वर्ण जितेको छ। 

प्रतियोगिताको ८१ किलोभन्दा कम तौल समूहमा बाँकेका निराजन पौडेल क्षेत्री, ९० किलोभन्दा कम तौल समूहमा प्रशुन गुरुङ, १०० किलोभन्दा कम तौलमा बाँकेका सुभाष तरामी र १०० किलोभन्दा माथि तौल समूहमा प्रनित सिंह ठकुरीले स्वर्ण पदक उचालेको छन्।

यस्तै, ६० किलोभन्दा कम तौल समूहमा प्यूठानका लक्ष्मण जिसी, ६६ किलोभन्दा कम तौल समूहमा दाङका दिनेश बुढामर र ७३ किलोभन्दा कम तौल समूहमा बर्दियाका सुजन क्षेत्री प्रथम भएका छन्।

प्रदेशस्तरीय प्रतियोगितामा विजयी खेलाडीले नेपालगन्जमा आयोजना हुने आठौँ राष्ट्रिय प्रतियोगितामा सहमागी हुन पाउने प्रादेशिक खेलकुद परिषद, प्रदेश ५ का अध्यक्ष भीम ओलीले बताए। 

भारोत्तोलनमा पनि बाँके अग्र

यस्तै, आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश ५ स्तरीय छनोट प्रतियोगिताअन्तर्गत भारोत्तोलन छनोट प्रतियोगितामा पनि बाँकेले वर्चश्व जमाएको छ। नेपालगन्जमा शुक्रवार सम्पन्न प्रतियोगितामा नौ स्वर्णसहित बाँकेले वर्चस्व जमाएको हो। 

प्रतियोगितामा बर्दियाले चार र दाङले दुई स्वर्ण पदक हात पारेको छ। मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका प्रमुख विष्णुप्रसाद शर्माका अनुसार ६१ किलो तौल समूहमा तुषार बुढामगर, ६७ किलो तौल समूहमा बाँकेका प्रशान्त योगी, ७३ किलोमा सुरज वैश्य, ८१ किलो तौल समूहमा अभिमान चौधरीले स्वर्ण पदक हात पारेका छन्। उनीहरु सबै बाँकेका हुन्। 

प्रतियोगितामा ९६ किलो तौल समूहमा अरविन्द गुप्ता, १०२ किलो तौलमा रमेश जयसवाल, ९६ किलोमा सादाव अलि तथा महिलातर्फ ५५ किलो समूहमा सरिता चौधरी र ७१ किलो तौलमा सम्झना क्षेत्रीले स्वर्ण जितिन्। विजेता सबै बाँकेका हुन्। 

बर्दियाका रामकुमार चौधरीले ५५ किलो तौल समूहमा स्वर्ण जिते। १०९ किलोमा बर्दियाका रोशन डिसी, ४५ किलोमा हिरामोती चौधरी र ४९ किलोमा पवित्रा थापामगरले स्वर्ण पदक हात पारेको कार्यालय प्रमुख शर्माले बताए। यस्तै, ६४ किलो तौलतर्फ दाङका रामकुमार चौधरी र ७६ किलोतर्फ कल्पना चौधरीले स्वर्ण पदक हात पारेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.