|

मनाङ : आधुनिक युगको प्रतिनिधित्व र प्रयोग गर्दै मनाङका सबै स्थानीय तह प्रविधिमैत्री बनेका छन्। भौगोलिक विकटको मनाङ प्रविधिमैत्री बन्दै गएको हो। अहिले यहाँका स्थानीय तहमा प्रविधिका माध्यमबाट सूचना आदानप्रदान तथा कार्यसम्पादन समेत हुन थालेको छ।

मनाङको नासों गाउँपालिकाले कार्यालयमा राखेको डिजिटल बडापत्र तयार गर्ने गरेको छ। साविकको १३ गाविसको मनाङलाई ४ स्थानीय तहमा विभिाजन गरिएको छ। मनाङ ङिस्याङ, चामे, नार्पाभूमि र नासों गाउँपालिका गरी ४ स्थानीय तह छन्। चारैवटा स्थानीय तहका वेभसाइट अद्यावधिक अपडेट छन्। सवै गाउँपालिकाले मोवाइल एप बनाएको छ। त्यस्तै सवै गाउँपालिकाले फेसबुक र ट्विटर अकाउन्ट खोलेका छन्।

गाउँपालिकाले गरेका क्रियाकलापको जानकारी र तस्बिर वेभसाइट, मोवाइल एप, फेसबुक र ट्विटरबाट सार्वजनिक गर्ने गरिएको छ। यी सवै संचालनका लागि हरेक स्थानीय तहमा सूचना प्रविधि अधिकृत राखिएका छन्। नागरिकलाई स्थानीय तहको सेवासुविधाबारे जानकारी दिन डिजिटल बडापत्र राख्न थालिएको हो।कार्यालयका कर्मचारीले विद्युतीय हाजिरी गर्न थालेका छन्। डिजिडल बडापत्र र विद्युतीय हाजिरी मेशिन राख्ने क्रममा रहेको स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीले बताएका छन्।

नासों गाउँपालिका अध्यक्ष चन्द्र घलेका अनुसार गाउँपालिकालाई प्रविधिमैत्री बन्दै लगिएको छ। कार्यालयको वेभसाइट, मोवाइल एप, फेसबुक, ट्विटरमार्फत गाउँपालिकाका कामकारबाहीको जानकारी दिने गरिएको उनले बताए। उनका अनुसार कर्मचारीको हाजिरी विद्युतीय मेशिनबाट गर्न थालिएको छ। तीन गाविस मिलेर बनेको नासों गाउँपालिका अन्य ३ वटा भन्दा केही सुगम छ। लमजुङको मस्र्याङदी गाउँपालिकासँग जोडिएको छ। ७ गाविस मिलेर बनेको मनाङ ङिस्याङ गाउँपालिकामा विद्युतीय हाजिरी मेशिन ल्याउने तयारी गरिएको अध्यक्ष कान्छा घलेले बताए। उनका अनुसार डिजिटल बडापत्र राखिएको छ।

फेसबुक र ट्विटर अकाउन्ट, मोवाइल एप र वेभसाइटमार्फत गाउँपालिकाले गर्दै आएका काम कारबाहीबारे जानकारी दिने गरिएको छ। चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेका अनुसार डिजिटल बडापत्र र विद्युतीय हाजिरीको तयारी भइरहेको छ। गाउँपालिकाले गर्ने कामकारबाही मोवाइल एप, वेभसाइट, फेसबुक तथा ट्विटर अकाउन्टबाट जानकारी गराउँदै आएको उनले बताए। चामे गाउँपालिका यसअघिको एउटै गाविस हो।

मनाङमा सवैभन्दा विकट मानिने नार्पाभूमि गाउँपालिकाले समेत मोवाइल एप, ट्विटर, फेसबुक पेज र वेभसाइट संचालन गरेको छ। यी चारवटै सञ्जाल सक्रिय रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद बाँस्तोलाले बताए। ‘हामीले गाउँघरका खबरलाई फोटो तथा भिडियोका माध्ययमबाट फेसबुक पेजमा राख्ने गरेका छौं। हामीले गर्दै आएका कामकारबाहीबारे छँदै छ’, उनले भने। स्थायी कार्यालय नार्पाभूमिमा रहेको र अस्थायी रुपमा चामेमै कार्यालय रहेकाले अन्य व्यवस्थापनमा समस्या भएको उनले बताए।

नार्पाभूमि गाउँपालिका यसअघिको नार र फू गाविस मिलेर बनेको हो। प्रविधिका यी सञ्जालमा स्थानीय तहका कार्यक्रम तथा परियोजना, सूचना तथा जानकारी, सुझाव तथा गुनासो, समस्या दर्ता, वडा विवरण, महत्वपूर्ण स्थानहरू, आपतकालीन नम्बरहरू राखिएका छन्। जनप्रतिनिधि र कर्मचारीको फोटोसहितको सम्पर्क विवरण राखिएका छन्।

नागरिकले घरघरै बसेर आफ्ना समस्या तथा गुनासा समेत दर्ता गर्न सक्ने मनाङ ङिस्याङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाबहादुर गोदारले बताए। ‘हाम्रो प्रविधिको सञ्जालले नागरिकलाई सरल र सहज तरिकाबाट सेवा पाउन मद्दत पुग्छ,’ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.