|

काठमाडौं : नेपाली युवामाझ रोजिता बुद्धाचार्य एउटा चर्चित नाम हो। नेपाली रंगमञ्‍चमा उनको चर्चा जति छ। उस्तै चर्चा अन्य काममा पनि। उनले नेपाल टेलिभिजनमा 'आजको विज्ञान' ६ वर्ष संचालन गरिन्। साहित्यकार झमक घिमिरेको जीवनमा आधारित फिल्म 'जीवन काँडा कि फूल' मा मुख्य पात्र भएर काम गरिन्। नासामा इन्टर्न गरिन्।  यस्तो लाग्छ रोजिताको अर्को नाम हो सफलता। उनको सफलताको कहानीले हरेक युवाका लागि प्रेरणादायी बन्न सक्छ। उनी साढे दुई वर्षको हुँदा आमाको मृत्यु भयो। आमाको याद आउने कुनै पनि सम्झना छैन उनीसँग। भाइटीकाको दिन आफ्नो भाइलाई टीका लगाउन लागेको एउटा फोटो थियो। अफसोच फोटोमा भाइले आमाको अनुहार छेकेको छ। आमाको न कुनै सम्झना न कुनै स्पर्श। हिन्दी सिनेमा 'फना'मा एउटा दृश्य छ। जुनीले आफ्नो प्रेमी रेहानको आवाज र स्पर्शको आधारमा कैयौँ चित्र बनाउँछिन् तर रोजिताको हकमा…आफ्नो बाजेले भनेको आधारमा रोजिताले कैयौँ आकृति आफ्नो आँखामा ल्याउन खोज्छिन् तर आफूले चाहेजस्तो आमाको आकृति उनले आजको दिनसम्म बनाउन सकेकी छैनन्। 

'जीवन काँडा कि फूल'मा अभिनय

नाटकमा अभिनय गर्नु उनको लक्ष्य वा रहर होइन। तर नाटकमा जोडिन पाउँदा आफूलाई सन्तुष्टि प्राप्त हुने बताउँछिन् उनी। खुसी प्राप्त गर्न उनी अभिनय गर्छिन्। नाटकमा काम गर्ने क्रममा एकदिन नाट्यकर्मी विमल सुवेदीमार्फत 'जीवन काँडाकी फूल'मा अभिनय गर्न अफर आयो उनलाई।

जीवित मान्छेको जीवनमा आधारित अभिनय गर्नु फलामको चिउरा चपाउनु जस्तै हो। झमक घिमिरेमाथि काम गर्नु अहोभाग्य त हो तर सक्छु भन्न साहस उनमा थिएन। सुवेदीले उनलाई सम्झाए, 'काम भनेको काम हो। घिमिरेमाथि काम गर्न पाउने भाग्य जोकोहीले प्राप्त गर्न सक्दैन। यो अवसर तिमीमा आइपुगेको छ।' सुवेदीले रोजिताको मनमा आँट भरिदिए। रोजितालाई लाग्थ्यो झमक घिमिरे दिदीसँग जोडिन पाउनु भाग्य त हो नै चुनौती पनि उस्तै छ। नाटक गर्दा काल्पनिक कथासँग जोड्न पाइन्छ तर कसैको जीवनबारे अभिनय गर्दा  सम्बन्धित मान्छेको जीवनबारे सूक्ष्म तरिकाले अध्ययन गर्नुपर्छ।

'जीवन काँडा कि फूल' पढ्दा कहिल्यै रोजिताले घिमिरेमाथि काम गर्छु भनेर सोचेकी थिइनन्। जिन्दगी भनेकै नसोचेका कुराहरूको जोड त हो। नसोचेको घटना घट्नु नै जिन्दगीको असली विशेषता हो।

रोजिताको फेसबुकबाट

उनका लागि घिमिरे बन्न पहिलो सर्त  थियो, कपाल मुण्डन। आफूले मिहिनेत गरेर बनाएको कपालप्रति उनलाई मोह थियो। तर सुवेदीले कपालप्रति मोह भंग गराउन महिनौँ ननुहाउन सुझाव दिए। पहिले दिनैपिच्छे नुहाउने उनले महिनौँसम्म नुहाउन छोडिन्। कपाल कोर्न छोडिदिइन्। विस्तारै कपालप्रतिको मोह भंग हुँदै गयो।

त्यो दिन आयो जुन दिन उनले कपाल काट्नुपर्‍यो। आफ्नो एकजना साथीसहित उनी पार्लर गइन्। पहिलोचोटि पार्लरको दिदीले उनको कपाल काटिन्। कैँचीले कपाल काटेको आवाजले उनको मन चसक्क भयो। त्यसपछि उनले आँखा चिम्म गरिन्। कपाल मुण्डन गरेपछि उनी साथीसँग बिना कुनै संवाद सुवेदीलाई भेट्न आइन्। पहिलोचोटि आफ्नो मुण्डन भएको कपाल देखेर रोजिता स्वंय ट्वा परिन्।

घरमा कसैलाई थाहा थिएन्। किनभने उनले घरमा टोपी लगाएर बस्थिन्। तर एकदिन बुबाले उनलाई चिया खान कुरेका थिए। टोपी खोलेर भित्र छिरिन्। बुबा कोही केटा आयो कि क्या हो भनेर झुक्किए। तर, थिइन् रोजिता नै। गालीको वर्षा सुरू भयो। गालीभन्दा पनि अर्को प्रतिक्रिया खतरा थियो। बुबालाई छोरी छोरा मान्छे जस्तो भएर आई, कतै लेस्वियन पो भई कि भन्ने शंका गरे। तर उनले उक्त शंकालाई दूर गर्न सफल भइन्।

कपाल मुण्डनको अर्को घटना पनि सम्झिन्छिन् उनी। महिलाहरूले खचाखच भरिएको टेम्पोमा साँझको समय उनी पुरानो बानेश्वरबाट घर फर्कंदै थिइन्। रोजिताले खल्तीबाट भाडा निकाल्न हात चलाउन थालिन्। टेम्पो भित्रकी एक महिलाले कति चलेको हो भनेर प्रतिक्रिया दिइन्। उनी मौन नै थिइन्। उनी गन्तव्यमा नपुग्दै उनलाई मान्छेले झारिदिए। किनभने ती महिलालई लागेछ यो केटाले मलाई अनावश्यक छोइरहेको छ। त्यो पल सम्झँदा उनलाई अचम्म लाग्छ आज पनि। उनी भन्छिन्, 'त्यसदिन मलाई लाग्यो छोरा मान्छेलाई भिडमा यात्रा गर्न त्यति सहज छैन।'

विभिन्न अनुभव लिँदै उनले  जीवन काँडा कि फूलमा काम गरिन्। रोजितालाई फिल्ममाथि अफर आउँदा घिमिरेको काठमाडौंमा कविता वाचन थियो। नाट्यकर्मी राजन खतिवडाले रोजितालाई घिमिरेको एउटा कविता वाचन गर्नुपर्छ भनेर भनेका थिए। रोजिता पनि यसका लागि मानसिक रूपमा तयार थिइन या थिइनन् तर घिमिरेले भनिदिइछन्, 'ऊ कलाकार हो भने आफ्नो ठाउँमा होला। उसको कलाकारिता काममा नै हेर्छु। तर, मेरो कविता उसलाई पढ्न दिन्नँ किनभने ऊ कवि होइन।' यो कुराले रोजिताको मनमा गहिरो प्रभाव पर्‍यो। आफ्नो कविताको ओझसँग घिमिरे कतिसम्म चेतनशील छन् भन्ने लाग्यो उनलाई।

पहिलोचोटि घिमिरेलाई उनले त्यही देखेकी थिइन्। फिल्म बनिसकेपछि फिल्म प्रिमियर भयो। जहाँ घिमिरेले पनि उक्त फिल्म हेरिन्। रोजिताको मनमा एउटै डर थियो। दिदीलाई फिल्म कस्तो लाग्यो भन्ने। धनकुटा पुगेर रोजिताले राति आँट गरेर घिमिरेलाई सोधिन्, 'दिदी कस्तो लाग्यो मेरो काम?' आफ्नो फिल्म हेरेर इमोसनल भएकी घिमिरेले भनिछन्, 'राम्रो गरेछौ नानी'  घिमिरेको उक्त प्रतिक्रिया रोजिताको लागि ठूलो अर्थ राख्थ्यो। रोजिताको लागि घिमिरे खुला आकाश हुन्। जसको कुनै मापन गर्न सकिँदैन।

नासाको यात्रा

रोजितालाई आफ्नो जीवन जिज्ञासै जिज्ञासाको जोड जस्तो लाग्छ। उनी हजुरबुबासँग नजिक थिइन्। सधैँ उनले आफ्नो आमाको बारेमा सोधिरहन्थिन्। एकदिन हजुरबुबाले भनिदिएछन्, 'अब मलाई सोध्ने होइन। त्यो चन्द्रमासँग छ तिम्रो जवाफ।' उनले आफ्नो जवाफका लागि चन्द्रमासम्म पुग्नुपर्ने भयो। बाल्यकालमा अब कसरी चन्द्रमामा पुग्ने भन्ने लागिरह्यो उनलाई। उनले चन्द्रमामा पुग्न एक घरबाट अर्को घर हाम फाल्थिन्। अर्को घरबाट अर्को अर्को घर हाम फाल्थिन्। उनी सोच्थिन्, 'एउटा घरबाट अर्को घर हाम फाल्छु। अर्को घरबाट पहाडमा हाम फाल्छु। पहाडबाट हाम फालेर अग्लो हिमाल हाम फाल्छु र चन्द्रमा भेट्टाउँछु।' 

विस्तार विस्तार उमेर बढ्यो। बढ्दो उमेरसँगै चन्द्रमासम्म पुग्न पढ्नुपर्छ भन्ने चेत आयो। उनी बच्चैदेखि पढ्न सिपालु थिइन्। साइन्स पढिन् उनले। एमबिबिएस पढ्नुपर्छ भन्थे सबैले। तर उनको पारिवारिक अवस्थाले एमबिबिएस पढाउने ल्याकत राख्न सक्दैनथ्यो। अर्को कुरा उनलाई फिजिक्स पढ्न रहर थियो। ताकी चन्द्रमासम्म पुग्न सकियोस्। त्यसबेला उनले स्पेस साइन्सबारे पढ्न पाइन्छ कि भनेर खोजि गरिन्। नेपालमा नभएकोले उनले ब्याचलरमा फिजिक्स पढिन्। ताकि पछि आक्ट्रोफिजिक्स पढ्न पाइने अप्सन थियो। मास्टर फिजिक्समै गरिन् उनले। आक्ट्रोफिजिक्समा उनले थेसिस् गरिन्।

उनी नेपाल टेलिभिजनको आजको विज्ञान कार्यक्रम हेर्थिन् र सोच्थिन्, 'यो कार्यक्रम मैले चलाउन पाए कति धेरै कुराहरू जान्ने थिएँ होला।' लेखक पाउलो कोहेल्लोको उपन्यास आल्केमिस्टको सारले भन्छ, 'जब तिमी केही चिजको चाहना गर्छौं, तिमीलाई त्यो प्राप्त गर्न ब्रम्हाण्ड नै सहयोगका लागि सम्मिलित हुन्छ।' नभन्दै उनलाई उक्त कार्यक्रम चलाउने अवसर पाइन्।

उनी पत्रकारीतामा पनि आबद्ध भइन्। रेडियोमा काम गरिन्। टिभीमा काम गरिन्। सन् २०१६ मा काठमाडौं  आक्ट्रोफिजिक्स स्कुल भनेर कार्यक्रम भएको थियो। त्यहाँ युनिर्भसिटीका दुईजना प्राध्यापक,युरोपियन स्पेस एजेन्सी र पोल्याण्डका प्राध्यापकहरू आएका थिए। जहाँ उनी सामेल हुने मौका पाइन्। उक्त सेमिनारमा पृथ्वीभन्दा बाहिर कति वटा ब्रह्‍माण्ड हुन सक्छन् भनेर अध्ययन गर्न पाइन्। धेरै विद्यार्थी मध्ये रोजितालाई त्यहाँ नोटिस गरियो। सेमिनारमा आएका प्राध्यापकहरूले उनलाई समर इन्टर्नसिपको लागि आवेदन भर्न लगाए। उनले आवेदन दिइन्। त्यसको केही समयपछि समर इन्टर्नसिपको छनोट भएको इमेल आयो उनलाई। 

रोजिताको फेसबुकबाट

यो जिन्दगीको टर्निङपोइन्ट हो जस्तो लाग्छ उनलाई। मेरिल्याण्डमा स्पेस टेलिस्कोप साइन्स इन्चिच्युटमा उनी  १० हप्ताको अध्ययनको लागि  उडिन्।

उनका अनुसार स्पेस टेलिस्कोप साइन्स इन्चिच्युट (Space Telescope Science Institute)मा हवल स्पेस टेलिस्कोप(Hubble Space Telescope) छ। जुन वैज्ञानिक जगतमा उपलब्धिको हिसाबले महत्वपूर्ण मानिन्छ। जसको अप्रेसन सेन्टर स्पेस टेलिस्कोप साइन्स इन्चिच्युट नै हो। हवल स्पेस टेलिस्कोप पुरानो भइसकेको हुनाले सेकेण्ड जेनेरेसन भनेर जेम्स वेव्स टेलिस्कोप(James Webb Space Telescope) सन् २०१८ मा लन्च गर्ने  भनिए पनि प्राविधिक कारणवश सन् २०२० मा लञ्‍च हुँदै छ। जसको अपरेसन सेन्टर पनि स्पेस टेलिस्कोप साइन्स इन्चिच्युट नै हो। जेम्स वेव्स टेलिस्कोप बनाउनै थुप्रै वैज्ञानिकहरू त्यहाँ कार्यरत रहेका छन्। संसारकै ठूलोडाटा अर्काइभ छ त्यहाँ। जति हवल स्पेस टेलिस्कोपबाट आएका डाटाहरू त्यहाँ उपलब्ध छन्।

विश्वभरीबाट पाँच सय आवेदनमध्ये चौधजना  छानिएका थिए। चौधमध्ये १३ जना केटी थिए। उनलाई प्राध्यापक नोरा लुजण्डर्फले अध्यापन गराए। जो जेम्स वेव्स टेलिस्कोप इन्स्टुमेन्टका साइन्टिस हुन्।त्यसबेलाको एउटा रमाइलो पल छ उनीसँग। उनी पुगेको तिन दिनपछि उनी लिफ्टको यात्रामा थिइन्। कोही अर्को व्यक्ति पनि त्यहाँ थिए। ती व्यक्तिले सोधे, तिमी कहाँबाट आएको?'उनले गौरवका जवाफ दिइन्। 'नेपालबाट।'

रोजिताको जवाफ सुनेर ती व्यक्तिले भने, 'ओ नेपालको चर्चित केटी तिमी नै हौँ?' रोजिता आश्चर्यमा परिन्। 'नाइँ म चर्चित छैन।' उनले वातावरण सहज बनाउने कोसिस गरिन्। पछि थाहा भयो, १४ जना छानिएका व्यक्तिहरूलाई १४ जना प्राध्यापकले अध्यापन गराउन एक/एक जना छान्न पाउँदा रहेछन्। १४ जना प्राध्यापकमध्ये १३ जनाले रोजितालाई छानेका रहेछन्। भनिन्छ आइसी १४८१ भन्ने ग्यालेक्सीको केन्द्रमा ब्ल्याकहोल छ। त्यहाँ उनले अध्ययन गरिन्। सबैभन्दा ठूलो कुरा जेम्स वेव्स  स्पेस टेलिस्कोप बनेको ठाउँ, वैज्ञानिकहरू, त्यसका मिररहरूको अवलोकन गर्ने अवसर पाइन्। 'आजको विज्ञान' कार्यक्रममा जे विषयबारे रिपोर्टिङ गर्थिन्। त्यसको विस्तृत रूपमा आफ्नै आँखाले देखिन्। यो उनका लागि सपना थियो।

सगरमाथा सफल आरोहण

हिमाल, साइन्स, नासा सब आफ्ना लागि जिज्ञासु स्वभावको प्रतिफल जस्तो लाग्छ उनलाई। बच्चामा उनलाई हिमालबारे थाहा थिएन। तर,  मे २३ २०१८को बिहानको ६ बजे उनीलगायत पाँचजना नेपाली महिलाहरूले सगरमाथा चुमेका थिए। सगरमाथा चढेर उनलाई महिलाहरू कम छैनन् भनेर प्रमाणित गर्नु थिएन। न त आफ्नो भ्यालु नै बढाउनु थियो। हिमाल चढेको खण्डमा आकाशलाई अलि नजिकबाट नियाल्नु पाउँछु भन्ने लोभ थियो उनलाई। कसरी जुर्‍यो त सगरमाथा चढ्ने अवसर?

त्यतिबेला उनी 'आना फ्रयांक' भन्ने नाटक गर्दै थिइन्। नाटकको पर्दा उघ्रिसकेको थियो। बुबाको मृत्यु भयो भनेर कसैले उनलाई खबर पुर्‍यायो। तर, दर्शकले भरिएको उक्त हल छोडेर उनी निस्कन सकिनन्। उक्त नाटक गरिन्। निर्देशकसँग आफ्नो कुरा गरिन्। निर्देशक चुप भए। उनले त्यसबेला आफ्नो बुबाले भनेको सम्झिन्, 'सकेसम्म राम्रो गर। नसके नराम्रो नगर। चुपचाप बस।'  बुबाको मृत्यु हुँदा पनि उनी कुनै हडबडाहट नाटक गरिन्। जस्तोसुकै कठिनाईमा पनि जुध्न सक्ने खुबीको कारण नै  सगरमाथा चढ्ने  आरोहणदलको सदस्य हुन् पाइन्।

रोजिताको फेसबुकबाट

चौतर्फि चर्चा र सफलता उनले प्राप्त गरेकी छिन्। आखिरमा सफलता भनेको के लाग्छ उनलाई?  प्रश्न हेर्दा जति सजिलो छ। उस्तै गार्हो छ जवाफ दिन। सफलताको परिभाषा व्यक्तिअनुसार फरक-फरक हुने गर्छ। तपाईं के हो भन्ने कुराले तपाईंको लागि सफलता के हो भन्ने निर्धारण गर्छ। उनको लागि सफलता भनेको आफ्ना दिदीहरूको आँखाबाट आँसु खसाल्ने वातावरण नबनाउनु हो। उनी भन्छिन्, 'यदि परिवारको मुहारबाट खुसी हराउन दिइन् भने मेरा लागि यो नै सफलता हो।'

हरेकले व्यक्तिले आफ्नो क्षमतालाई चिन्न जरूरी रहेको बताउँछिन् उनी। भन्छिन्, 'सपना देख्नुस् त्यसलाई पाउन मिहिनेत गर्नुस्। कोसिस गरे भगवान् भेटिन्छ भन्छन् लक्ष्य भेट्टाउन त्यति असहज छैन।' जुनसुकै काम गर्दा पनि शतप्रतिशत दिनुपर्छ भन्ने मान्यता राख्छिन् उनी। शत प्रतिशत मिहिनेत गरेर जुन यात्रा तय हुन्छ। त्यो यात्रा नै सफलता हो उनको लागि। तँ केटी होस्। तँ फलानो ठाउँबाट आएको होस् भन्ने जस्ता कुराहरूले सफलताको कुनै माने राख्दैन।नाट्यकर्मी सुनिल पोख्रेल भन्छन्, 'सपना देख र बहुलाऊ।' पछिल्लोक्रममा उनले हिमालबारे खोजमूलक विषयवस्तु नयाँ बाहिर ल्याउने कोसिस गरिरहेकी छन्। वृत्तचित्रको काम गरिरहेकी छिन्। हिमालसम्बन्धी पुस्तक पनि हामीकहाँ लेखिएका छैनन्। यस विषयमा उनी लागिपरिरहेकी छिन्। अन्त्यमा आक्स्ट्रोफिजिक्समा पिएचडी गर्ने योजनामा छिन् उनी।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.