|

डडेल्धुरा : डोटेली भाषा नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेशमा बोलिने एक भाषा हो। नेपालमा बोलिने प्रमुख भाषाहरूमध्ये एक हो डोटेली भाषा। यहाँका बासिन्दाहरू एकआपसमा कुरा गर्दा अथवा बोल्दा आफ्नै भाषा प्रयोगमा ल्याउने गर्दछन्। 

तर, पछिल्लो समयमा सामान्य बोलीचाली एवं घरपरिवार, साथीभाइ तथा संघ संस्था र कार्यालयहरूमा पनि आजभोलि अंग्रेजी शब्द हेलो, हाई, गुड मर्निंङ, इभनिङ, वाई, डिनर, लञ्च, ब्रेकफास्ट, ओके, सी यु, गुड नाइट, स्विट ड्रिम, लभ, ड्रामा, मुभी, अफकोर्स, सरलगायतका कयौँ आम नागरिकका मुखमै झुन्डिन गएकाले नेपाली भाषाभन्दा पनि पुरानो भाषा ओझेलमा पर्दै गएका छन्। आजभोलि यहाँ युवायुवतीहरू डोटेली भाषा बोल्न छोडेर अन्य भाषाको प्रयोग गर्दै आइरहेका छन्।

सामान्य बोलीचाली एवं घरपरिवारभित्र पनि अङ्ग्रेजी भाषाका शब्दहरू मौलाउँदै गएपछि डोटेली भाषा संरक्षणका लागि वर्णविन्यास बनाइ डडेल्धुरामा महाकाली साहित्य संगम सक्रिय भएको छ। पुरानो भाषा ओझेलमा पर्दै गएको भन्दै महाकाली साहित्य संगम डडेल्धुरा पछिल्लो समय डोटेली भाषाको वर्णविन्यास बनाउनुसँगै डोटेली भाषाको त्रैमासिक पत्रिका पनि प्रकाशनमा ल्याएको संस्थाका अध्यक्ष कर्णबहादुर चन्दले बताए।

उनले भने- 'जाण्णु संसारकी भाषा, उन्नति प्रगति गद्दु हो, भुल्लु आफ्नी महतारी ईजु भाषा उजड्डु डुब्दु मद्दु हो। अर्थात् संसारको भाषा जानिराख्नु उन्नति प्रगति गर्नु हो, आफ्नो मातृभाषा बिर्सनु उजाड हुनु वा बिग्रनु हो।’

भारतको कुमायुमा रहेको नैनीताल विश्वविद्यालयबाट अङ्ग्रेजी विषयमा बिए गरेका चन्दले करिब ३४ वर्ष अङ्ग्रेजी भाषामा नै विभिन्न विद्यालयहरूमा शिक्षण पनि गरे तर अहिले उनी आफैँ र संस्था नै डोटेली भाषाको वर्णविन्यास र शब्दकोश प्रकाशित गरी डोटेली भाषाको प्रचारसँगै संरक्षणमा जुटेका छन्। डोटेली भाषाले ०४७ पछि मात्र राष्ट्रिय भाषाको मान्यता पाएको हो।

अधर्मीबाट सुधर्मको रक्षा गर्न पलायन नीति लिएर भारतको दुबाह नगरीबाट कुमाउ, चम्फावत, गडवालदेखि नेपालको बैतडी, डडेल्धुरा, डोटी हुँदै स्याङ्जासम्म फैलिएको बसाइ र बसाइसराइसँगै भाषा पनि आएको उनले बताए।

डोटेली भाषाबाटै स्याङ्जाली भाषाको उत्पत्ति भएको र पछि स्याङ्जाली भाषाबाट नेपाली भाषाको उत्पत्ति भएकाले नेपाली भाषा ‘डोटेली भाषाकी चेली’ भएको उनी बताउँछन्। पछिल्लो समय डोटेली त परै जाओस् नेपाली भाषाभन्दा पनि हाम्रो समाजमा अङ्ग्रेजी भाषा सामान्य बोलीचालीमा पनि आउने गरेकाले वर्णविन्यास, पत्रिका र शब्दकोशसमेत तयार पारी बजारमा ल्याइएको साहित्यकार चन्दको भनाइ छ। 

उनले भने– ‘डोटेली भाषा एक आफ्नै इतिहास बोकेको भाषा हो भने यसमा कयौँ शब्दहरू छन्, जुन हामी अहिलको परिवेशमा उच्चारण नै गर्न सकिरहेका छौनौँ र उच्चारण गर्न पनि कठिनाइ हुने गरेको छ।’ 

डोटेली भाषाकी चेली स्याङ्जाली भाषा र स्याङ्जाली भाषाकी चेली नेपाली भएकाले नेपाली भाषा डोटेली भाषाकी नातिनी भएको संस्थाका अध्यक्ष तथा डोटेली भाषामा प्रकाशित हुने मासिक पत्रिका सोराइका सम्पादक कर्णबहादुर चन्द (एमके सलेनी) को भनाइ छ। 

‘सुदूरपश्चिम प्रदेशको प्रादेशिक भाषा बनाउने एवं कक्षा पाँच सम्मको पाठ्यक्रम बनाउन पहल गरिहरहेको छौँ, यसमा सबैको समर्थन र  सहयोगको खाँचो छ’ उनले भने– ‘डडेल्धुराबाट त्रैमासिक रूपमा डोटेली भाषामा प्रकाशित हुने सोराई पत्रिकामा पनि डोटेली वर्णविन्यास राखिएको छ।’ 

उनले भने- 'जाण्णु संसारकी भाषा, उन्नति प्रगति गद्दु हो, भुल्लु आफ्नी महतारी ईजु भाषा उजड्डु डुब्दु मद्दु हो। अर्थात् संसारको भाषा जानिराख्नु उन्नति प्रगति गर्नु हो, आफ्नो मातृभाषा बिर्सनु उजाड हुनु वा बिग्रनु हो।’

पुराना अर्ति उपदेशलाई ख्याल गर्दै आफ्नै भाषा बोलीचालीमा प्रयोग गर्नुपर्ने उनको मान्यता छ।  

१० वर्ष अस्थायी र साढे २३ वर्ष बढी स्थायी गरी झन्डै ३४ वर्ष शिक्षण सेवा गरेर अवकाशप्राप्त चन्दलाई सुरुमा आफूले डोटेली भाषाका शब्दहरू उच्चारण गर्न र लेख्नमा निकै कठिनाइ भएको थियो। किचनपुरको महेन्द्रनगरबाट डोटेली भाषामा प्रकाशित हुने गुगुल्टी अध्ययन र डोटेली भाषामै कुराकानी एकआपसमा हुँदा अहिले उनलाई सरल भएको छ। 

बैतडीको शलेनामा विसं २०१० असार १२ गते जन्मिएका चन्द बैतडीकै पाटनमा रहेको श्रीकृष्ण माविबाट नौ कक्षा पास गरी भारतको मुम्बई गएका थिए। पुनाबाट प्राइभेटबाट एसएलसी र मुम्बई विश्वविद्यालयबाट इन्टर पास गरी पुनः नेपाल फर्किए। त्यसपछि फेरि भारत गएर कुमायुमा रहेको नैनीताल विश्वविद्यालयबाट अङ्ग्रेजी विषयबाट बिए उत्तीर्ण गरी उनी नेपाल फर्किएका थिए। उनले नेपालबाट बिएड पनि उत्तीर्ण गरे।

शिक्षणका क्रममा डडेल्धुरा र डोटीका विद्यालयहरूमा बस्दा उनले डोटीको दिपायलमा रहेको दिल्पेश्वरको इतिहास दिल्पेश्वर ज्योति नामक किताब प्रकाशितसमेत गरी सकेका छन्। 

डोटेली भाषाको इतिहास

नेपाली भाषाभन्दा हजारौँ वर्ष पुरानो मानिएको डोटेली भाषा बृहत् डोटी राज्य खण्डित भएसँगै ७औं शताब्दीबाट छिन्नभिन्न भएको इतिहासकारहरूको मत छ। 

भारतको हालको कश्मीरसँग र यता राप्ती नदीसम्म सिमाना जोडिएको राजा शुभानुदेवले स्थापना गरेको बृहत् डोटी राज्यको कुनै समय मूलभाषा डोटेली इतिहासका विभिन्न कालखण्डमा टुक्रिँदै जाँदा अहिलेको स्वरूपमा पुगेको बताइन्छ। डोटेली संस्कृतिका अधिकांश अनुसन्धानकर्ताहरूले यस भाषालाई नेपालका आदिवासीहरूको भाषासँगैको इतिहास भएको बताउँछन्।

नयाँ शिक्षा लागू हुनु पूर्व डोटेली भाषाका विषयमा कसैलाई जानकारी थिएन। पहिलो पटक डा. तारानाथ शर्माले लेखेको ‘घनघश्याको उकालो काट्दा’ डोटेली भाषाको शब्द ‘बाटामी गाड पडन्छे’ प्रयोग गरिएपछि यस भाषाका विषयमा अनुसन्धान सुरु भएको मानिएको छ। यसअघि इतिहासकार पं. रामचन्द्र ओझा, साहित्यकार एनडीप्रकाश चटौत र पहलमानसिंह स्वाँरलगायतले डोटेली भाषामा लेखेका केही कृतिहरू भए पनि त्यसको प्रचारप्रसार हुन सकेको थिएन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.