|

हेटौंडा : नेपाली पुरुष क्रिकेट राष्ट्रिय टोलीलाई शुक्रबार हेटौंडामा नागरिक अभिनन्दन गरिएको छ।

रक्त क्यान्सरका बिरामी हेटौंडेली क्रिकेटर निरज श्रेष्ठको उपचारका लागि आवश्यक रकम जुटाउन राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काको नेतृत्वमा हेटौंडा आइपुगेको राष्ट्रिय टोलीलाई नागरिक अभिनन्दनसहित हेटौंडा बजार परिक्रमा गरिएको हो। हेटौंडा उपमहानगरपालिका प्रमुख हरिबोल महतले राष्ट्रिय टोलीका खेलाडीलाई रातोमाटे पुगेर माला, खादा र टीका लगाएर स्वागत गरेका थिए। राष्ट्रिय टोलीका खेलाडीलाई स्वागत गर्दै हेटौंडा बजार परिक्रमा गराइएको थियो।

राष्ट्रिय टोलीका खेलाडीलाई हेटौंडा बजार परिक्रमा गराउने क्रममा हेटौंडाबासीले खेलाडीको समर्थनमा नाराबाजीसमेत गरेका थिए। पूर्वाधारको अभावमा पनि टी–२० क्रिकेट विश्वकप खेलिसके नेपाली राष्ट्रिय टोलीलाई हेटौंडामा स्वागत गर्न पाउँदा नगरबासीसमेत खुशी भएका थिए। नेपाललाई एकदिवसीय मान्यता दिलाउने र पहिलो एकदिवसीय सिरिज जितेर नेपाली खेलकुदलाई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत पहिचान बनाइसकेका खेलाडीको स्वागातार्थ यहाँका जुनियर तथा सिनियर खेलाडी, खेलक्षेत्रका अग्रजहरूले कुनै कसर बाँकी राखेनन्।

राष्ट्रिय टोलीले शनिबार हेटौंडा–४ स्थित लोकतान्त्रिक मैदानमा हुने प्रतियोगितामा मकवानपुर–११ सँग प्रतिस्पर्धा गर्नेछ। आयोजक समितिका संयोजक अनुपप्रसाद सेनुरियाले प्रतियोगिताबाट उठेको सम्पूर्ण रकम हाल भारतमा क्यान्सरको उपचार गराइरहेका श्रेष्ठको थप उपचारमा खर्च गरिने बताए। प्रतियोगिताबाट ३० लाख रुपैयाँसम्म आर्थिक संकलन गर्न सकिने लक्ष्य राखिएको भन्दै उनले मकवानपुरलाई क्रिकेटमा चिनाउन सफल व्यक्तित्वको उपचारमा आफूहरूले सक्दो सहयोग गर्न यो कार्यक्रम राखेको बताए।

च्यारेटी म्याच हेर्नको लागि टिकट दर दुई सय र दुई हजार रुपैयाँ रहेको समेत बताए। कार्यक्रमलाई थप आकर्षक बनाउन र उद्देश्यमाथि ऐक्यवद्धता जनाउँदै चर्चित गायकहरू सुजिल कर्माचार्य, विजय कार्की, कमल क्षेत्री, विद्या तिवारी तथा फुटबलर रञ्जन विष्ट र अञ्जन विष्टलगायतको पनि सहभागिता रहने लामाले बताए। उनको उपचारमा करिब ६० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको बताइएको छ।

‘बलियो क्रिकेट बोर्ड अहिलेको आवश्यकता’

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका कप्तान खड्काले नेपाली क्रिकेटको विकासका लागि ततकाल बलियो क्रिकेट बोर्डको आवश्यकता रहेको औंल्याएका छन्।

शुक्रबार हेटौंडामा सञ्चारकर्मीसँग कुराकानी गर्दै खड्काले नेपाली क्रिकेट अहिले आइसिसीबाट निलम्बनको अवस्थामा रहेको बताउँदै अब आन्तरिक समस्या समाधान गरेर बलियो क्रिकेट बोर्ड निर्माण गर्नुको विकल्प नभएको बताए हुन्। ‘अहिले हामीलाई विदेशी प्रशिक्षक र घरेलु क्रिकेट प्रतियोगिताभन्दा पनि क्रिकेट बोर्डको आवश्यकता छ। क्रिकेट बोर्ड गठन भएसँगै हामीमा अहिले देखिएको धेरै समस्याहरू समाधान हुँदै जानेछन्।’

कप्तान खड्काले नेपाली क्रिकेट आइसिसिबाट निलम्बन भएको तीन वर्ष पुग्दासमेत प्रतिबन्धन नहट्दा समस्या परिरहेको बताए। ‘अहिले नेपालले एकदिवसीय मान्यता पाएसँगै हाम्रो क्रिकेट खेललाई अन्य देशले हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छ। यस्तो अवस्थामा हामीले राम्रो क्रिकेट खेल्नुको विकल्प छैन। त्यसकारण हामीले अहिले क्रिकेट बोर्डको समस्या समाधान गरेर अगाडि बढ्न जरुरी रहेको छ’, उनले भने।

उनले खेलाडीहरूले अभावका बीचमा समेत राम्रो प्रदर्शन गरिरहेको दावी गरे। ‘हामी मैदान भित्र होस् वा बाहिर क्रिकेटको विकासका लागि क्रियाशील भइरहेका छौं। अहिले देशभरका विभिन्न स्थानमा भएका टी–२० क्रिकेट प्रतियोगिताबाट राष्ट्रिय टोलीका लागि खेलाडी छनोट गरिरहेका छौं। जसको असर दीर्घकालीन रूपमा पर्न सक्छ। त्यसकारण हामीले जुनियरस्तरका प्रतियोगिता समेत देशभर सञ्चालन गर्न जरुरी रहेको छ', उनले भने ।

कप्तान खड्काले सन् २०१४ मा नेपालले टी–२० क्रिकेट विश्वकप खेलेसँगै नेपालमा क्रिकेटको क्रेज ह्वात्तै बढेको र अब त्यसलाई जोगएर क्रिकेटको विकास गर्न जरुरी रहेको औंल्याए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.