|

इलाम : इलाममा जारी माईभ्याली गोल्डकपको सोमबारको खेल हङकङ नेप्लिज फुटबल एकाडेमी र हिमालयन शेर्पा क्बलबीच हुँदैछ। यी दुई टोली माईभ्याली गोल्डकपमा पहिलो पटक भिड्न लागेका हुन्।

शहीद स्मारक ए डिभिजन लिगमा सातौँ स्थानमा रहेको हिमालयन शेर्पाको माईभ्यालीको खेल सिजनको चौथो सहभागिता हो। दोस्रो विशाल मेमोरियल गोल्डकपमा विभागीय टिम त्रिभुवन आर्मीसँग सडनडेथमा पराजित बन्दै हिमालयन शेर्पा उपविजेता बनेको थियो। पोखरा कपमा अर्को विभागीय टिम सशस्त्र प्रहरीको एपिएफ क्लबसँग २–१ ले पराजित बन्यो।

भर्खरै पोखरामा सम्पन्न आहारारा गोल्डकपमा धरान फुटबल क्लबले हिमालयन शेर्पाको चुनौती १–० ले पन्छाएको थियो। 

यता हङकङ नेप्लिजको माईभ्यालीलको सहभागिता यो सिजनको दोस्रो हो। झापा गोल्डकपमा सहभागी हङकङ नेप्लिज घरेलु टोली झापा–११ सँग १–० गोलको झिनो अन्तरले पराजित भएको थियो। तर, नेपाली फुटबलमा हङकङ नेप्लिज क्लब नयाँ भने होइन। धरानमा हुँदै आएको प्रतिष्ठित प्रतियोगिता बुढासुब्बा गोल्डकपमा हङकङ नेप्लिज फुटबल क्लब सहभागी थियो। उसले २०६९ सालमा प्रतियोगिताको १५ औँ संस्करणको उपाधि नेपाली फुटबलको पावरहाउस त्रिभुवन आर्मीलाई पराजित गर्दै चुमेको थियो।

तत्कालीन समयमा हङकङ नेप्लिज क्लबले नेपाली फुटबलका स्टार विकेश कुथु, जगजित श्रेष्ठ, सागर थापा र केही अफ्रिकी मुलका खेलाडीलाई समेत मैदानमा उतारेको थियो। पोखरा कप समेत खेलेको टोली सेमिफाइनलसम्म पुगेको थियो। झापा गोल्डकपमा हङकङ टिमबाट सात जना अफ्रिकी खेलाडी सहभागी थिए।

टिम म्यानेजर नवीन राईका अनुसार माईभ्याली गोल्डकपमा हङकङको टिमबाट तीन जना मात्र अफ्रिकन खेलाडी उत्रिने छन्। इलामको मैदानमा पहिलो पटक आमनेसामने हुने दुवै टिम जित निकाल्दै आफ्नो बलियो उपस्थिति देखाउन चाहन्छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.