फिचर

विश्व साइकलयात्री पुष्करको अर्को धोको
SHARES

नेपालका ठूला सहरहरूलाई साइकलमैत्री बनाउने चाहना

फागुन २७, २०७५

    धनगढीः ११ वर्ष लगाएर पृथ्वीको साढे ५ फन्को लगाउने साइलकयात्री पुष्कर शाह केही समयअघि निकै भावुक र निराश थिए। अस्ट्रेलियामा भाँडा माझ्दै गरेको आफ्नो तस्बिर उनले फेसबुकमा मात्रै राखेनन्, त्यसमा केही शब्दहरू पनि खर्चिए। लेखे, ‘चालिस कटेसी रमाउँला भनेको हो रहेछ।  अस्ट्रेलियामा जुठा भाँडामा पोखिएका पैसा टिपेर फर्किएको छु साइली।’ 

    जुठा भाँडा माझ्दै गरेको उनको  तस्बिर र उदेकलाग्दो स्टाटस भाइरल बन्यो। गौतम बुद्धको देश भनेर विश्वलाई चिनाउने व्यक्तिलाई आफ्नै देशले चिन्न नसकेको भन्दै धेरैले राज्य र सरकारको आलोचना गरे। धेरैले पुष्करप्रति चिन्ता व्यक्त गरे र सरकारप्रति आक्रोश। 

    त्यो स्टाटस...

    ११ वर्षमा साइकलबाट संसारलाई साढे पाँच फन्को लगाएर नेपाल फर्केर सगरमाथाको सफल आरोहण गरेको ७ वर्ष बितेछ! यात्रा सकेर नेपाल फर्केको ७ वर्षपछि मेरो देशको सरकार प्रमुखलाई भेट्ने सुअवसर मिल्यो! सम्माननीयज्युको स्वकीय सचिवले मेरो परिचय गराउनु भो! 
    'ए पुष्करजीलाई त म चिनिहाल्छु नि' सम्माननीयले गर्व साथ बोल्नु भो!

    म खुसीले गद्‍गद भएँ! 

    'अनि भन्नुस् पुष्करजी' 

    सम्माननीयको आग्रहले म बोलेँ- 

    जीवनका स्वर्णिम बैसहरू

    ११ वर्ष

    ४०१५ दिन

    दुई लाख एक्काइस किलोमिटर

    १५० देश

    संसारलाई साढे पाँच फन्को

    त्यसपछि संसारभरिको झन्डा बोकेर सगरमाथाको सफल आरोहण गरेर विश्व रेकर्ड बनाए!

    अनि ? सम्मानीयले सोध्नु भो!

    'संसारलाई साढे पाँच फन्को पुस्तक लेखेँ'

    'वाह!' सम्माननीयज्यु दङ्ग पर्नुभो!

    'म २०४६ सालको जनआन्दोलनको घाइते पनि हो, चैत्र २४ गते दरबारमार्गमा प्रहरीको गोलीले दाहिने हात छेडेर गएको थियो!
    वीर अस्पतालले मृतक घोषित गरेर मेरो नाम सहिदको सुचीमा छ!'

    भन्दथेँ, भन्दथेँ, सम्माननीयज्यु त अघि नै ढलेछन्! स्वकीय सचिव र सुरक्षा गार्डहरूले खै के के सुँघाएर, पानी छम्केर होसमा ल्याए! मेरो उग्र क्षमता देखेर डराएछन् क्यारे।

    'त्यत्रो ४६ को योद्धा , जिउँदो सहिद, अहिलेसम्म पार्टी सदस्यता लिनुभएको छैन' घर फर्केको साँझ स्वकीय सचिवले मलाई फोनमा सोधे! उनलाई म ४६ सालदेखि नै नजिकबाट चिन्छु. उनै हुन् मलाई गुच्चा र गुलेली बोकाएर जन आन्दोलनमा होमिन सिकाउने।

    'देशको झन्डा बोक्नेले पार्टीको झन्डा बोक्दैन' मैले उनलाई सुनाएँ! त्यसपछि मेरो डुलुवा अनुभव मेरो माटोमा उपयोग नहुने निष्कर्ष निस्कियो! आमाले मलाई माटो र पसिनालाई माया गर्न सिकाइन्! म माटोलाई चटक्कै माया मारेर पसिनालाई माया गर्न हिँडे!

    अहिले अस्ट्रेलियामा भाँडा टल्काउँदछु! एकबारको जुनीमा!

    ‘त्यो तस्बिर र स्टाटस रहर थियो की कहर’ कुराकानी को सुरुमै मैले सोधेँ। पुष्कर मुस्कुराए। उनको मुस्कानमा उत्साह र उमङ्गभन्दा बढी पीडा र सङ्कोच लुकेको थियो। ‘त्यो स्टाटस र फोटो सरकारलाई व्यङ्ग्य गर्दै मैले राखेको हुँ’ उनले राज्यप्रतिको असन्तुष्टि व्यक्त गरे।

    ‘२०/२५ वर्षको उमेर एउटा मान्छेको स्वर्णिम पल हो। त्यो उमेरमा सबैले धेरै काम गर्छन् तर, मैले त्यो उमेर साइकल चलाएर बिताए। मेरो स्वर्णिम बैश ११ वर्ष, २ लाख २१ हजार किलोमिटर, ४ हजार १५ दिन सातै महादेशका १५० राष्ट्र घुमेर र संसारको सर्वोच्च शिखर सगरमाथा चढेर बित्यो।’ 

    संवादको प्रारम्भमै उनले गुनासो पोखे। राष्ट्रको लागि आफूले अथक प्रयास गरेको तर, राष्ट्रले आफूलाई भुलेको उनको गुनासो थियो। ‘म नेपालको ३ करोड मान्छेमा एउटा मान्छे होइन’ उनले भने, ‘म त संसारको ७ अरब मान्छेमा एउटा मान्छे हो। यो देशमा, यो देशको झन्डा यदि सबैभन्दा लामो समय कसैले बोकेको छ भने मैले बोकेको छु। मेरो साइकलले बोकेको छ। मेरो स्वर्णिम उमेरहरू त्यसैमा बित्यो’ उनले भने, ‘जति बेला कमाउनुपर्ने हो बचाउनुपर्ने हो। मेलै कमाउने, बचाउने उमेर साइकलको पाङ्ग्रामा डुलाए। तर, राज्यले एक थुँगा फूल पनि दिएन।’ 

    ‘अनि त्यो स्टाटस नि’ संवादलाई फेरि त्यही जोडेँ, उनले भने, ‘मलाई भोक लाग्यो, मैले भाँडा माझेँ त्यही फोटो फेसबुकमा राखेँ। म ४० कटेपछि भाँडा टल्काउन गएकै हो। तर, कमाउन गएको होइन, त्यो स्टाटस र फोटो त राज्यको व्यङ्ग्यका लागि हालेको हुँ।’ 

    २०१८ मा ३ पटक सद्भावना दूत भएर अस्ट्रेलिया पुगेका पुष्करले त्यही रहँदा राज्यलाई व्यङ्ग्य गरी त्यस्तो स्टाटस राखेको बताए। उनले भने, ‘म त्यहाँ बसेर भाँडा धुने भएको भए धनी हुने थिए होला सादय। म अस्ट्रेलिया पुग्दा २० वर्ष पहिले शेष घले पनि पुगेका थिएनन्। म संसार घुम्ने सपना देख्ने मान्छे हुँ। धन कमाउने सपना देख्ने भए अष्ट्रेलियामा मेरा पनि १०/१२ ओटा रेस्टुरेन्ट हुन्थे होला।’ 

    उनी अन्तिम क्षणसम्म पनि राष्ट्र र राष्ट्रियताको लागि लागि पर्ने बताउँछन्। ‘मलाई धन कमाउने रहर पलाएको भए दिल्लीतिरै हराउँथेँ होला अथवा जापानमा पासपोर्ट च्यात्ने थिएँ होला, अमेरिकामा साइकल फाल्थेँ वा बेलायतमै शरणार्थी हुन्थेँ होला’ उनले भने।

    यसरी प्रारम्भ भयो पृथ्वीको साढे ५ फन्को 

    २०५५ साल साउनको पहिलो साता पुष्करले आफ्नी आमालाई संसार हेर्ने आफ्नो धोको सुनाए। आमाले झट्टै हुन्छ भन्ने कुरै भएन। ‘फेरि यस्तो कुरा नगर्नु’ आमाले हकारिन्। आमाबाट अस्वीकृत भएपछि पनि पुष्करबाट भने त्यो ढिपी कम भएन। 

    ‘लक्का जवान छोरोले भनेको कुरा सधैँ नकार्न नसकेरै त होला आमाले एक सय रुपैयाँ हात थमाइदिँदै शुभयात्रा भन्नुभयो’ पुष्करले अतीत सम्झँदै भने, ‘एक जोर कपडा, आमाले दिएको एक सय रुपैयाँ, एउटा साइकल र त्यो भन्दा महत्त्वपूर्ण कुरा एउटा ठुलो सपना बोकेर म संसार हेर्न निस्किए।’ 

    नायिका शर्मिला मल्लले १४ हजारको साइकल दिएकी थिइन् उनलाई। ‘त्यो उपहारमा पाएको १४ हजारको साइकल र आमाले दिएको सय रुपैयाँले मैले संसारको १५० देश घुमेर आएँ’ उनले मुस्कुराउँदै भने। २०५५ साल साउन १६ गते विश्व भ्रमणमा निस्किएका पुष्कर ११ वर्षपछि २०६६ भदौमा ४ गते नेपाल फर्किए।

    ४ हजार १५ दिन साइकलमा कुदेका पुष्करले भने, ‘मैले यो अवधिमा २ लाख २१ हजार किलोमिटर साइकल चलाए।’ १ सय ५० देश टेकेर फर्किए। 

    ‘त्यसपछि सगरमाथा चढ्ने योजना कसरी आयो त?’ मैले साधेँ। ‘मेरो पहिला देखिनै सपना थियो’ उनले भने, ‘विश्व साइकल यात्रा पुरा गरेर संसारभरिको झन्डा लिएर सगरमाथा चुम्ने मेरो रहर थियो।’ 

    ‘मान्छेलाई एक फन्को अकल्पनीय हुन्छ। तपाईँलाई किन त्यति बिघ्न रहर’ मेरो प्रश्नमा पुष्कर मुस्कुराए। ‘रहर हुन्छ नि हजुर। मान्छेलाई एउटा घर भए पनि पुग्छ तर, किन दुई, तीन वटा घर बनाउँछन् भन्नुहोस्’ उनले भने, ‘हरेक विषयमा लोभ लालच हुन्छ। लखपति भएपछि पनि करोडपति बन्ने रहर हुन्छ नि होइन र’ उनी हाँसे। उनले भने, ‘त्यही रहरले मलाई सगरमाथाको चुचुरोमा पुर्‍यायो।’ 

    उनले २०६७ जेठ ३ मा सगरमाथाको चुचुरोमा पाइला टेकेका थिए। ‘त्यो पल मेरो जीवनकै सबैभन्दा हर्षको क्षण हो’ उनी उत्साहित भए, ‘संसारको गोलार्धलाई साढे ५ पटक परिक्रमा गरेर फर्किएको म मेरै देशको सगरमाथा चुम्दा साढे ५ पटकको फन्को मारेको आभास भयो।’ उनले फेरि थपे, ‘सगरमाथा पनि मेरो खुसीभन्दा होचो लाग्यो त्यतिबेला त।’ 

    पुष्करका ती पल...

    पुष्करलाई बितेको ११ वर्ष त्यति सहज भने पक्कै भएन। ‘मैले प्रत्येक दिन मागेर गुजारा गरेँ’ उनले भने, ‘कति दिन त मागेर पनि दिने कोही नभएपछि भोकै सुतेँ, पानीले गर्जो टारेँ।’

    पुष्कर प्रत्येक दिन नयाँ सङ्घर्षसँग जुध्न बाध्य भए।  उनलाई मरुभूमिमा बालुवामुनि सुत्दा कतै बालुवाले पुर्छ कि भन्ने डर थियो। जङ्गलमा सुत्दा जङ्गली जनावरले सिद्याउँछ की भन्ने पिर थियो उनमा।

    उनले अफ्रिकमा सबैभन्दा बढी समस्या झेल्नु पर्‍यो। उनले त्यहाँ साढे २ वर्ष बिताए। तर, प्रत्येक पल डर, भोकसँग लडेर। त्यहाँ ३६ वटा देश घुमे। उनले भने, ‘म आफैँ भिखारी थिए। मसँगै भिख माग्नेहरूको लर्को हुन्थ्यो। भोक, अभाव, गरिबी र युद्धसँग बाँचेर फर्किएको जस्तो लाग्छ मलाई त्यो पल सम्झँदा।’

    प्राय राहत वितरण गर्न मात्रै पुग्ने गरेका ती देशमा साइकलमा आफ्नै लत्ताकपडा बोकेर हिँडिरहेका पुष्करसँग पुकार गर्नेहरू पनि कयौँ भेटिए।  ‘साइकलमा हिँडिरहेको थिएँ। साइकल मेरा सामानले भरिएका थिए। एक जना बालकले एउटा हात मुखमा र एउटा हात पेटमा राख्दै भिख मागेँ।  त्यो बेला मलाई कस्तो भयो होला भन्नुस् त’  उनी भावुक भए।  एक छिन मौनता छायो।

    अपहरणमा पनि परे

    अमेरिकाबाट मेक्सिको जाँदै थिए। उनीलाई धेरैले नआनुस् भन्थे। तर उनको यात्रा रोकिएन। उनी यात्रामा निस्किए। उनले भने- ‘थकाइ महसुस भएपछि एउटा ठुलो रुखमुनि छहारी लागेर आराम गर्न म ढल्किएँ। त्यही बेला ठुलो ट्रक आयो र मलाईभित्र हाल्यो। त्यो बेला म अपहरणमा परे भन्ने लागिसकेको थियो।’

    अपहरणपछि घना जङ्गलमा लगे। पुष्करलाई अब बाच्दिन भन्ने लागिसकेको थियो। उनले लड्नुको विकल्प देखेनन्। उनले भने, ‘एउटाले खुकुरी समातेको थियो मैले त्यसैलाई प्रहार गरे। अर्कोलाई पनि कुटे अनि म भागे।’ त्यो यात्रामा उनी ११ पटक लुटिए। 

    जनआन्दोलनका घाइते पुष्कर

    पुष्कर शाह २०४६ सालको जन आन्दोलनको घाइते पनि हुन्। २०४६ चैत्र २४ गते दरबारमार्गमा प्रहरीको गोली उनको दाहिने हात छेडेर गएको थियो! उनले भने, ‘वीर अस्पतालले मृतक घोषित गरेपछि मेरो नाम पनि सहिदको सूचीमा छ!’

    अबको धोको

    ‘संसारको ५ पटक फन्को मारेर सर्वोच्व शिखर सगरमाथाको चुचुरोमा पुगिसकेको व्यक्तिलाई अब त केही रहर छैन होलानि हैन’ मैले हाँस्दै प्रश्न गरेँ। ‘कहाँ नहुनु नि सर, त्योभन्दा ठूलो धोको अझै बाँकी छ’ उनको हाँस्दै भने।

    ‘के छ र अब त्यस्तो धोको’ मैले प्रतिप्रश्न गरेँ। 

    उनले काठमाडौंलगायत ठूलो सहरहरूलाई साइकलमैत्री बनाउने धोको सुनाए। ‘पहिले पहिले साइकलको प्रयोग गर्नेहरू पनि अहिले गर्दैनन् तर हामी एकपटक फेरि सबैले साइकल प्रयोग गर्ने वातावरण सृजना गर्छौ। पुष्करले सडक बनाउँदा साइकल लेन बताउनुपर्नेमा जोड दिए। 

    ‘नेपाल बाइकको लागि भू-स्वर्ग हो। यसलाई विश्वमा चिनाउने हाम्रो योजना छ’ उनले भने,  हामी साइकल आन्दोलनमा छौँ।’ २०२०मा हुने विश्व साइकल सम्मेलनमार्फत संसारको ध्यान नेपालमा तान्ने उनको योजना छ। उनी विश्व साइकल सम्मेलनका लागि अन्तिम तयारीमा जुटिरहेको छन्। ‘पोखरा र काठमाडौंमा हाम्रो सम्मेलनको अन्तिम तयारी भइरहेको छ’ पुष्करले भने, ‘यो सम्मेलनले पनि विश्वमा हाम्रो उचाइ बढाउनेछ।’

भानुभक्त आचार्य

आचार्य थाहाखबरका कैलाली संवाददाता हुन् । इमेल : bhanuavenues@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]