|

धनकुटा : औषधि भन्दै बिषाक्तर जडीबुटी खानामा मिसाएर खाएपछि धनकुटा नगरपालिका ९ का माधव प्रधानको मृत्यु भएको छ। सोमबार बेलुकीको खानामा जडीबुटी मिलाएर खाएर सुतेका बेलहाराका ६२ वर्षीय प्रधान राति बिरामी भएपछि मंगलबार बिहान उपचारका क्रममा अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ।

बेलुकीको खाना खाएर सुतेका प्रधान परिवारका सदस्य छ जनालाई नै रिंगटा लाग्ने र बान्ता हुने समस्या देखिएपछि छिमेकीले धरानस्थित बिपी कोइराला विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगेका थिए। प्रधान परिवारका बिरामी परेका थप पाँच जनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले बताए।

प्रहरीका अनुसार मृतक प्रधानले भेडेटारस्थित पाथिभारा मन्दिर दर्शन गर्न जाँदा मन्दिर छेउमा बेच्नका लागि राखिएको जडीबुटी किनेर ल्याएका थिए। जडीबुटी बेलुका खानामा मिसाएर खाने बिक्रेताको सल्लाहअनुसार खाएपछि परिवारका सबै सदस्य बिरामी परेका हुन्। जडीबुटी विषाक्त भएकाले परिवारका सबै सदस्यहरू नै बिरामी परेको हुन सक्ने प्रहरीले आशंका गर्दै थप अनुसन्धान सुरु गरेको जनाएको छ।

बिरामी हुनेमा उनीकी ६१ वर्षीया श्रीमती नरमाया प्रधान, ३७ वर्षीया छोरी सीमा प्रधान, ३१ वर्षीया छोरी कविता प्रधान, ३१ वर्षीय ज्वाई दीपक प्रधान र नाति ११ वर्षीय कुशल प्रधान रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.