फिचर

झापामा क्रसरको अवैध धन्दा, नियमनकारी निकाय मौन
SHARES

फागुन २८, २०७५

    भद्रपुर : सरकारले क्रसर उद्योगलाई व्यवस्थित र मानवीय जोखिम कम गर्न निर्देशिका बनायो। तर, झापामा यो निर्देशिका पालना भएको छैन। झापाका वर्षैदेखि मापदण्ड विपरीत क्रसर उद्योग सञ्चालित छन्।

    सरकारको निर्देशिका पालना गर्न न व्यवसायीले तदारुकता देखाएका छन्, न त यसलाई नियन्त्रण गर्न स्थानीय प्रशासनले ध्यान दिएको छ। क्रसर उद्योग सञ्चालकले कानुन मिचिरहेकै छन्। 

    झापामा १२ वटा क्रसर उद्योग दर्ता भएका छन्। तीमध्ये ७ वटा उद्योग अहिले पनि सञ्चालनमा रहेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख चन्द्रप्रसाद मिश्रले जानकारी दिए। 

    संगीता विष्टको जयधराल रोडा उद्योग अर्जुनधारा-२, शेरबहादुर थापाको जयकाली भगवती रोडा उद्योग अर्जुनधारा-२ र दुर्गाप्रसाद प्रसाईको पाथीभरा एग्रिकेट इण्डष्ट्रिज खुदुनाबारी-२ अहिले संचालनमा रहेका क्रसर उद्योग हुन्। त्यस्तै, केदार गिरीको कञ्चनजंघा क्रसर उद्योग अनारमुनी-१, भुपेन्द्र बरालको कन्काई क्रसर उद्योग बुधबारे-४, सुवास लामाको राजधानी क्रसर इण्डष्ट्रिज धाइजन-६ र विन्दिया श्रेष्ठको मंगलश्री क्रसर उद्योग अर्जुनधारा-२ पनि सञ्चालित छन्।

    त्यसबाहेक विकास निर्माणको नाममा निर्माण कम्पनीले आफूखुसी गिट्टी, बालुवा चाल्ने मेसिन भन्दै क्रसर उद्योग नै सञ्चालन गर्दै आइरहेका छन्। जयधराल रोडा, जयकाली भगवती, पाथीभरा एग्रिकेट, मंगलश्री क्रसर उद्योग बिरिङ नदीसँग टाँसिएर सञ्चालनमा रहेको छ। त्यस्तै, कन्काई र राजधानी क्रसर उद्योग मेची राजमार्गसँग जोडिएको छ भने कञ्चनजंघा पूर्वपश्चिम राजमार्गसँग जोडिएर सञ्चालनमा छ। 

    चालु अवस्थामा रहेको क्रसर उद्योग राजमार्ग र खोला किनारमा निर्बाध रूपमा सञ्चालन भइरहेको छन्। ती उद्योगहरूको न्युनतम मापदण्डसमेत पुग्दैन। ‘झापामा सञ्चालित क्रसर उद्योग कानुन मिच्दै मापदण्डविपरीत सञ्चालन भइरहेको छ’, कार्यालय प्रमुख मिश्रले भने, ‘आर्थिक वर्ष २०७०/७१ देखि जिल्लाको कुनै पनि क्रसर उद्योगले घरेलुमा नवLकरण गरेको छैन।' 

    उनका अनुसार २०७१ मा जिल्लामा सञ्चालित सबै क्रसरको उद्योगको स्थलगत अनुगमन गर्दै प्रतिवेदन नै मन्त्रालय पठाइएको थियो। अनुगमनको क्रममा सबै क्रसर उद्योग मापदण्डविपरीत सञ्चालन भइरहेको प्रतिवेदनमा प्रस्ट उल्लेख गरी मन्त्रालयमा पेस गरेको हो।

    ‘मन्त्रालयले जिल्लाको क्रसर उद्योगबारे केही प्रस्ट धारणा दिएन’, उनले भने, 'बन्द गर्नु वा मापदण्ड बमोजिम सार्नु भनी केही प्रस्ट आदेश आएको भए घरेलुले क्रसर उद्योगलाई नियन्त्रण गर्न सक्थ्यो।तर आदेशसहितको पत्र नआउँदा अहिले जिल्लामा नवीकरणबिनै क्रसर उद्योग सञ्चालन भइरहेका छन्।' 

    २०७३ देखि नवीकरण नहुँदा क्रसर सञ्चालकले सरकारको राजस्वसमेत छलिरहेको घरेलु तथा साना उद्योग कार्यालयले बताएको छ। 'क्रसर उद्योगमा बेथिति बढ्दै गइरहेको छ,' उनले भने, 'अब स्थानीय सरकार वा जनप्रतिनिधिले यसलाई नियन्त्रण गर्न आवश्यक देखिन्छ।'

    यता जिल्ला समन्वय तथा अनुगमन समितिले झापाका नदी तथा क्रसर उद्योग अनुगमनलाई तीव्रता दिएको छ। जिल्ला समन्वय समिति झापाका संयोजक सोमनाथ पोर्तेल नदी दोहन र क्रसर उद्योगमा देखिएका बेथिति रोक्न अभियान चलाएका बताउँछन्। ‘जिल्लाको क्रसर उद्योगले मापदण्डविपरीत सडक नै मिचेर ढुङ्गा, गिट्टी र बालुवा थुपारेको मैले पनि देखेको छु,’ संयोजक पोर्तेलले भने, ‘अनुगमन पश्चात् मापदण्डविपरीतका क्रसर उद्योगलाई कानुनी दायरमा ल्याउँछौँ।’

    राजमार्गमै टाँसिएर क्रसर उद्योग 

    राजमार्गदेखि ५०० मिटर टाढा मात्रै क्रसर उद्योग सञ्चालन गर्न पाइने प्रावधान रहेको छ। तर यो नियमलाई झापामा सञ्चालनमा रहेका अधिकांश क्रसरले पालना गरेका छैनन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको बिर्तामोड नगरपालिका-६ बुट्टाबारीस्थित सडक किनारमै कञ्चनजंघा क्रसर उद्योग सञ्चालन भइरहेको छ। केदार गिरीको नाममा रहेको उक्त उद्योग वर्षौंदेखि  गर्दै आए पनि नियमनकारी निकाय रमिते बनेको छ। कञ्चनजंघाले राजमार्गको मापदण्ड मिच्नुका साथै नजिकै रहेको रेखा खोलाको किनारनै पुरेर ढुङ्गा, गिट्टी र बालुवा थुपारेको छ। 

    जसको कारण खोलामा हिलो मिसिएको पानी बग्दा क्रसर दक्षिणका स्थानीय खोलाको पानी प्रयोग गर्न सक्दैनन्। सो खोलामा स्थानीय राजवंशी र लिम्बू जातिले विशेष समयमा पूजा गर्ने गरेका थिए। यहाँको पानी गाईभैसीलाई खुवाउन प्रयोग गरिँदै आइएको थियो।

    तर, क्रसरबाट निस्किएको हिलो र धुलो सिधै खोलामा मिसाइदिँदा क्रसर दक्षिण बगेको खोलामा हिलो र लेदो बग्ने गरेको गुनासो स्थानीय राजु यक्पाङ्देन सुब्बाले पोखे। ‘पहिले हामीले मृत्यू संस्कार खोलाको किनारमा गर्दै आएका थियौँ,' उनले भने, 'स्थानीय राजवंशी जातिले त पूजा गर्ने खोला हो, अहिले खोला क्रसरबाट निस्किएको हिलो र लेदोले भरिएको छ।’ 

    सो क्रसर उद्योग  नियमविपरीत सञ्चालनमा रहेको र क्रसरले आसपासका नागरिकलाई नकारात्मक असर पुर्‍याएको भन्दै स्थानीयले वडा कार्यालय, नगरपालिका र जिल्ला समन्वय समितिमा समेत उजुरी दिएका छन्। वडा कार्यालयले एक पटक छलफल बोलाए पनि समाधान नभएको स्थानीय प्रेम भट्टराईले बताइन्।

    स्वास्थ्यमा असर

    पहिले सानो क्षेत्रफलमा रहेको कञ्चनजंघा क्रसर उद्योगले पूर्वपश्चिम राजमार्ग दक्षिणतर्फ क्रमशः आफ्नो क्षेत्रफल बढाउँदै नजिकै रहेको बस्तीसम्म फैलिएको छ। जसको कारण उद्योगदेखि ५० मिटर नजिकै रहेको बस्तीमा यसको सोझो असर परेको स्थानीय बताउँछन्। 

    क्रसर सञ्चालन भएको समय निस्कने आवाजले बालबालिका र बृद्धबृद्धामा कानको समस्या देखिएको तथा घरभन्दा अग्लो हुने गरी थुपारिएको बालुवा, गिट्टी र धुलो उडेर बस्तीका घर धुलाम्मे हुने गरेको स्थानीय ध्रुव ओलीले बताए। क्रसरको धुलोका कारण सो क्षेत्रका नागरिकमा आँखा र श्वासप्रश्वासको समस्या बढ्दै गएको उनको भनाइ छ। आफूहरूले क्रसर सञ्चालकलाई समस्याका विषयमा बारम्बार जानकारी गराएर क्रसरको आवाज र धुलो रोक्न आग्रह गर्दासमेत अटेर गरेको स्थानीय टीका खनालले बताए।

    ‘उद्योग सञ्चालक केदार गिरीलाई नै भेटेर ध्वनि र धुलो नियन्त्रण गर्न साथै खोलामा हिलो र धुलो नहाल्न धेरै आग्रह गरेको हो, तर उनी नसुने झैँ गर्छन्, सम्बन्धित निकाय पनि मौन छ’, खनालले गुनासो गरे।

    क्रसर प्रभावित २०७ परिवारले नागरिकको स्वास्थ्य र वातावरणमा असर परेको भन्दै सो क्रसर उद्योग हटाउन बिर्तामोड नगरपालिका-६ नम्बर वडा, नगरपालिका र जिल्ला समन्वय समिति झापामा निवेदन दिँदा समेत हालसम्म गुनासोको सुनुवाइ नभएको प्रभावित क्षेत्रका नागरिकको गुनासो छ। 

    यस्तो छ प्रावधान

    सर्वोच्च अदालतको आदेश तथा वातावरण मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले २०७० भदौ १७ मा मापदण्ड बनाएको थियो। निर्देशिकामा घना बस्ती र बढी जनसङ्ख्या भएको ठाउँबाट दुई किलोमिटर पर क्रसर चलाउन छुट छ। त्यस्तै राजमार्ग र खोलाको किनारभन्दा ५०० मिटर टाढा हुनुपर्छ। शिक्षण संस्था, स्वास्थ्य संस्था, मठमन्दिर, वन, निकुञ्ज, सुरक्षा निकायलगायतका क्षेत्रबाट दुई किलोमिटर टाढा हुनुपर्छ क्रसर उद्योग। छरछिमेक र गाउँलाई बाधा नपुर्‍याइ उद्योग सञ्चालन गर्नुपर्ने प्रावधानसमेत छ।

     

पार्थ मण्डल

पत्रकार मण्डल थाहाखबरका झापा (भद्रपुर) संवाददता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]