विचार

‘टु इडिएट्स’ को काठमाडौं–चेन्नाई यात्रा
SHARES

फागुन ३०, २०७५

    हरेक व्यक्तिको जीवनलाई हेर्ने दृष्टिकोण फरक हुन्छ। मैले देखिरहेको संसारका कतिपय विम्ब अरूले नदेख्न पनि सक्छन्। मलाई राम्रा लागेका विषय कतिपयलाई नराम्रो पनि लाग्न सक्ला। तर, जे भए पनि जीवन फूलको गुच्छा हो। जहाँ सुगन्धको भण्डार हुन्छ, मिठासको महासागर हुन्छ। बस्, हेर्ने नजर सकारात्मक हुनुपर्छ। अनि सधैँ मन मिल्ने मित्र पनि। जसले मेरै आँखाले जे देखेको छ, यो संसारलाई उसले पनि त्यस्तै देखोस्।

    केही वर्ष भारतको चेन्नइ सहरमा पनि बसियो। शायद सबैलाई लाग्दो हो, एकाध वर्ष बिताएको ठाउँ दोस्रो घर झैँ लाग्न थाल्छ। मलाई पनि त्यस्तै लाग्छ। म चेन्नइ जानुभन्दा केहीअघि नै मेरा एकाध मित्रहरू त्यहाँ पुगिसकेका थिए, उच्च शिक्षाको बहानामा। उनीहरूले घर भाडामा लिएपछि मात्र म त्यहाँ पुगेँ। केही मित्रसँग त चेन्नइ पुगेपछि मात्र चिनजान भयो। एक–दुई साता त आफैँलाई पाहुना लागे झैँ पनि लाग्यो, त्यो घरमा।

    भनियो नि, उमेर नै हो। त्यो ५–६ जना मित्रको परिवारभित्र पनि राजनीति गर्नेको कमी थिएन। म र प्रशान्त (चालिसे) अत्यन्त मिल्ने, बालसखा। सुरु–सुरुमा हाम्रो मित्रतालाई टुटाउने राजनीति पनि व्यहोरियो। खाना बनाउन ‘अम्मा’ आउँथिन्। तर, कस्ती अम्मा भने हामी पिरो खान नसक्ने, उनी खुर्सानी नहालिकन पकाउनै नसक्ने। खुर्सानी नहाली पकाउन निकै आग्रह गरियो। खुर्सानी नै किन्न पनि छाडियो। तर, अम्मा घरबेटीसँग मागेर भए पनि खुर्सानी हालिछाड्ने, तरकारीमा मात्र होइन दालमा पनि। हैरान भइयो। मान्छेले हात्तीलाई पनि तह लगाउन सक्यो, तर हामीले अम्मालाई सकेनौँ।

    के गर्नु सुरुवाती दिनमा त मद्रासी रेस्टुरेन्टमा खान पनि नसकिने। होटेल बाहिर हिँड्दासमेत मसलाको कडा गन्धले टाउकै दुखाउने। पछि खाँदै जाँदा त त्यही खाना अति मिठो लाग्न थाल्यो, अहिले पनि लाग्छ। जस्तो देश, उस्तै भेष भनेको त्यही रहेछ। त्यतातिर जाने मौका पाउँदा अहिले पनि केराको पातमा रसम–सम्भारसँग भात र इडली खान मन लाग्छ। अहिले काठमाडौंमा पनि मौका मिलेको बेला त्यस्ता खाना खाइन्छ नै।

    यो पृथ्वीमा हिन्‍दु–मुस्लिमका नाममा हरेक दिन सयौँ मानिस मारिँदा नवाज खानकै सम्झना आउँछ। जसको घरमा भाडामा बस्दा कहिल्यै पराइको घरमा बसेको झैँ लागेन। आफ्नो भान्छामा पाकेका खानेकुरासमेत हामीलाई खान दिन्थे। पुलिस न परे केटाहरू कोठामा के गरिरहेका छन् भने निगरानी पनि गर्थे नै।

    त्यसैले हामीले उपाय निकाल्यौँ। अम्मालाई निकाल्ने अनि दुई टोली बनाएर खाना पकाउने, पानी भर्ने भाँडा माझ्ने। हरेक दुई दिनमा एक दिन काम गर्नुपर्ने, एक दिन आराम। हाम्रा मित्रहरू यस्ता बेइमान कि प्रशान्त र मलाई दुई फरक टोलीमा राखे। उनीहरूको मनमा दुवैलाई एउटै टोलीमा राखे फुर्सदका दिन घुमघाम गर्न जान्छन् वा जो हाम्रो टोलीमा रहन्छ, उसले अलि बढी नै काम गर्नुपर्छ सोचाइ उनीहरूमा रहेछ। उनीहरूलाई घुमघाममा त्यति रुचि थिएन। तर हामीलाई थियो। हामी पनि के कम दुवै दिन काम नगरी बाहिर हिडिदिन्थ्यौँ।

    त्यो बेला चेन्नइको भव्यतालाई काठमाडौंले कतै छुन सक्दैन थियो। हुन त अहिले पनि सक्दैन। एउटै भवनमा ३–४ वटा सिनेमा हल हुन्छन् भन्ने त्यही गएर थाहा पाइयो। हामीले नेपालमा अहिलेसम्म नदेखेका चौडा सडक त्यही गएर देखियो। समुद्रको छालले बगाउँदै ल्याएको बालुवाले खुट्टामा स्पर्श गर्दा कति आनन्द आउँदो रहेछ भन्ने पनि पहिलो पटक थाहा भयो। सूर्य उदाउँदा र अस्ताउँदा समुद्रको पल्लो किनारामा पोखिने रङ्गहरूको समिश्रण कति मनमोहक हुँदा रहेछन्, त्यो पनि थाहा पाएँ। तर, जे भए पनि प्रशान्त र म जति मिल्थ्यौँ, अरूसँग मिल्न सक्दैनौँ थियौँ, हामी। हामीले पहिलो आन्दोलन गर्‍यौँ। बरु कोठामा खादै नखाने तर काम पटक्कै नगर्ने। जसले जे भने पनि ‘वाल’ मतलब नगर्ने। हामीले निकै दिन नजिकैको होटेलमा बन्ने ‘एग परौठा’ ले पनि गुजारा चलायौँ। साह्रै मिठो हुने। टुक्रा–टुक्रा पारेको लच्छा परौठालाई विशाल तावामा भुटेपछि तयार हुन्थ्यो, त्यो परिकार। त्यो परौठा पकाउने ‘कुक’ ले तावामा लय मिलाएर ठोक्काउने पन्यौँबाट समेत मिठो धुन निस्किए झैँ लाग्ने। तर, जे भए पनि बिहानै पानी भर्ने काम भने कसैले छाडेनन्। न मैले, न त प्रशान्तले नै। त्यसको पनि मिठै कारण थियो, घरबेटीकी छोरी। हेर्दा त्यति राम्री नभएपछि फरासिली थिइन्। शायद हामीभन्दा जेठी पनि।

    ‘कुर्कुरे बैँस’ का हामी, बिहान ती घरबेटीकी छोरीसँग केहीबेर हँसिमजाक गर्न भने पनि पानी भर्न आनाकानी गरिन्न थियो। फूल जस्तो सुकै होस्, चाहे गुलाफको वा चाहे घतुरोको, त्यसमा मौरी त आकर्षित भइहाल्छ। त्यस्तै उमेर थियो हाम्रो, जता पनि आकर्षित भइहाल्ने।

    हाम्रो कामचोरपन साथीभाइले रुचाएनन्। निर्णय भयो, छुट्टिएरै बस्ने। उनीहरू झैँ प्रशान्त र मेरो चाहना पनि त्यही थियो। भन्न मात्र सकेका थिएनौँ। अनि हामी दुई जना मात्र बस्न अर्को घर भाडामा लिइयो। हामीबीच पनि केही समझदारी भएको थियो। विद्यार्थीकाल नै थियो, जीवनका लोभलाग्दो दिन अनि अति नै लोभी भइने दिन। घरबाट खटाएको पैसामा गुजारा चलाउनु पर्ने। समझदारी अनुसार भान्सामा पाक्नेबाहेक अरू खानेकुरा जसले किनेको हो, त्यसले मात्र खाने। एकले अर्कालाई बाँड्न बाध्य नहुने, खान नसकेर वा माया गरेर दिए भिन्दै कुरा। जम्बो लिम्का किन्दासमेत दुइटै किनिन्थ्यो। एकजनाले कम र अर्कोले बढी खाला कि भन्ने भयले। प्रशान्तलाई खाना पकाउन नआउने, म भने ठिकठाकै पकाउने। काम बाँडियो, पकाउने जिम्मा मेरो, भाँडा माझ्ने प्रशान्तले। म पनि के कम आफूले खाएको थालसमेत उसैलाई माझ्न दिन्थ्ये। अहिले सम्झँदा नै हाँसो उठ्छ, बिचरा मैले त्यति नसताएको भए पनि हुन्थ्यो नि। हामी यति लोभी कि भटमासको मस्यौरा पकाउँदासमेत गनेर पकाउने। जसलाई जति वटा पिस खानु छ पहिले नै भन्नुपर्ने। पाकेपछि जति भन्या हो त्यति वटा मात्र खान पाउने, न कम न त बढी। कोठामा पनि दुइटा लिइएको थियो तर, अर्को कोठा कहिल्यै काम आएन। जति दिन चेन्नइमा रहियो, उ र म सधैँ एउटै कोठामा सुत्यौँ, कहिल्यै छुट्टिएनौँ।

    हुन त घरबाट पैसा आएको केही दिन त होटेलमा मिठो–मिठो खाएरै गुजारा चलाइन्थ्यो। बिस्तारै पैसा कम हुन थालेपछि भान्छामा स्टोभ बल्न थाल्थ्यो। अनि महिनाको अन्तिम दिनतिर त कहिलेकाहीँ केरा र चनाले पनि दिन कटाउनै पर्थ्यो। फेरि जुन दिन घरबाट पैसा आयो, जीवनशैली उही शाही मिजाजमा फर्किहाल्ने। हरेक कुरामा दुवैको राय मिल्ने। घुम्न पनि खान पनि। पढ्नमा भने प्रशान्त मभन्दा अलि तेज नै थियो। खुराफातीमा दुवै नम्बर एक। कसैले हाम्रोविरुद्ध केही गर्‍यो कि त रातभरि ‘प्लान’ बनाएर भोलि त्यसलाई मूर्ख बनाइन्थ्यो। बितेका कुरा गरेर अहिले पनि हामी हास्छौँ। गज्जबका थिए ती दिन। हामीले निकैलाई मूर्ख बनायौँ। एक जना मित्र थिए। उमेरमा हामीभन्दा सिनियर। गाँजा पाए खाइहाल्ने। एक दिन हामीले उसलाई बाटोमा भेटिएको बाख्राको सुकेको ‘आची’ गाँजा भनेर दिँदा पनि चुरोटमा भरेर खायो। अनि भन्यो, ‘साह्रै नै कडा रहेछ यार, कहाँबाट ल्याएको?’ हामी हाँसेर झन्डै मरेको।

    हामी बसेको घर नजिकै प्रशान्तका एक जना नातावाला दाइ पनि बस्थे। सुरुसुरुमा चेन्नाइ पुग्दा जो नेपाली देख्दा पनि आफ्नै दाजुभाइ भेटे झैँ लाग्थ्यो। तरपछि, त्यही चेन्नइमा नेपाली विद्यार्थीको ओइरो देख्दा–देख्दा यति हैरान भइयो कि कोही अपरिचित नेपाली अगाडि नै उभिँदासमेत ‘हाइ–हेलो’ पनि गर्दैनथ्यौँ। बरु तर्किन्थ्यौँ, केही सहयोग गर्नु पर्ला कि भन्ने डरले।

    एक पटक ती दाइका बा–आमा पनि चेन्नाई आएका थिए। हाम्रो कोठामा पनि आए। प्रायजसो नेपालीहरू पैसा बचाउन सस्तो खाले घरमा बस्थ्ये, हामी अलि राम्रै घरमा बसेका थियौँ। गीत सुन्न क्यासेट प्लेयर पनि किनेका थियौँ। काठमाडौं फर्केर ती महाशयले प्रशान्तको घरमा लगाउनुसम्म कुरा लगाएछन्।

    ‘केटाहरू बिग्रिएछन्, पढ्नुको सट्टा गीत सुनेर बस्दा रहेछन्, महँगो घरमा बस्दा रहेछन्’ आदि–इत्यादि।

    न प्रशान्त न त मेरो घरमा यस्ता कुराले टेन्सन। माया गरेर हुर्काएका सन्तान राम्रैसँग बसेका रहेछन् भनेर झन् खुसी भएछन्। बरु केटाहरूलाई पुग्दैन कि भनेर हाम्रो मासिक बजेट केही बढ्यो। कहिलेकाहीँ कसैले कुभलो चाहँदासमेत आफ्नो भलो हुँदो रहेछ भन्ने थाहा पनि पाइयो।

    मानवीय आधारमा मद्रासीहरू अति शालीन हुन्छन्। बस्, कुराकानी गर्दा झगडा गरेझैँ मात्र लाग्ने हो। तर, त्यस्ता शालीन व्यक्तिहरूबीच एकाध ठग हुन्छन् नै। चेन्नइको प्रसिद्ध अन्ना विश्वविद्यालयका एक जना प्राध्यापकले मलाई मन परेको राम्रै कलेजमा भर्ना गराइदिने लोभ देखाए। ५–७ हजार भारतीय रुपैयाँ पनि चप्काए। तर, वचन पुरा गरेनन्। चेन्नइ जानुअघि यता पनि कलेज भर्ना भइएकै थियो। त्यो घटनाले भने दिक्कारी दियो। कम थिएन, त्यो बेला ५–७ हजार भारु भनेको। बरु काठमाडौं मै गएर पढ्छु भन्ने पनि लाग्यो। त्यसमा अर्को कारण पनि थपियो। घरबेटी भनेको जात संसारमै एकै प्रकारका हुँदा रहेछन्। जसले गर्दा हामीले झन्डै दुई वर्षको बसाइमा ३–४ वटा घर फेर्‍यौँ। हिन्दु बाहुनको बच्चो मुसलमानको घरमा पनि बसियो। सिबिआइका डिएसपी थिए, नवाज खान। साह्रै असल परिवार। बरु त्यो घरबाट सर्नुपर्ने अवस्था कहिल्यै आएन। नेपाल नफर्कँदासम्म त्यही घरमा बसियो।

    यो पृथ्वीमा हिन्दु–मुस्लिमका नाममा हरेक दिन सयौँ मानिस मारिँदा नवाज खानकै सम्झना आउँछ। जसको घरमा भाडामा बस्दा कहिल्यै पराइको घरमा बसेको झैँ लागेन। आफ्नो भान्छामा पाकेका खानेकुरासमेत हामीलाई खान दिन्थे। पुलिस न परे केटाहरू कोठामा के गरिरहेका छन् भने निगरानी पनि गर्थे नै। हामीले एक्वेरियममा माछा पालेका थियौँ, एक दिन चुहिन थाल्यो। हामीले बाटामा हालेर पनि तिनीहरूलाई बचाइरहेका थियौँ। उनलाई चित्त बुझेनछ, आफ्नै घर पछाडि गाह्रो लगाएर पोखरी जस्तै बनाइदिए, माछा पाल्न। त्यति कोमल थियो, उनको मन। कपास झैँ।

    चेन्नइमा मार हानेको, रौँ खुइल्याएको खसीको मासु किन्नै नपाइने। हलाल गरेको छाला नभएको मासु मात्र खानुपर्ने। दसैँको समय थियो। हामीले आफैँ खसी किनेर मार हान्ने योजना बनायौँ। बैंगलोरबाट एक जना साथी पनि आएका थिए। अँ साँच्ची, नवाज खानका बस्दा भने म र प्रशान्तसहित हामी ७ जना थियौँ। त्यही चेन्नइमा मित्रता गाँसिएका सरोज र सुनिल काफ्ले दाजुभाइ, रौतहटतिरका झाजी (नाम याद भएन) र निरज ब्रो (भट्टराई)। पछि जोडिन आयो, विनोद खड्का। थापाथलीतिरका विनोदलाई हामी माया गरेर ‘ब्रा’ भन्थ्यौँ, अहिले पनि भन्छौँ। कदकाँठीमा साना ब्राको सपना हलिउडका नायक झैँ प्रहरी बन्ने अनि ५ सय सिसीको बाइक चलाएर सररर सहरमा गुड्ने थियो। दुवै सपना पूरा भएन, उसको।

    मुसलमानको घरको बसाइँ अनि त्यसमाथि चेन्नइमा ज्युँदो खसी किन्न नै कठिन, बल्लतल्ल किनियो। मार हान्ने भइयो। त्यो पनि एउटा मुसलमानकै घरमा। नाइनास्ती केही गरेनन्। हामीसँग खुकुरी थियो, मात्र एक बित्ता लामो, त्यो पनि भुत्ते। कसरी मार हान्न सकिन्थ्यो र त्यस्तो खुकुरीले? मैले भने, रेटौँ। तर, नजिकै ढुङ्गामा खुकुरी साँध लगाउँदै निरजले मार हानेरै छिनाउने दाबी गरे। उसको हठले जित्यो, ल त भनियो। प्रशान्तले खुट्टा समात्यो, मैले टाउको। बाँकी सबै तर्सिएर भित्र छिरिहाले। मुसलमानको छोरा नवाज खानले आफ्नो घरमा खसी काट्न हामीलाई रोकेनन्। बरु सबै झ्याल ढोका थुनेर भित्रै बसे।

    निरजले मार हान्यो। के छिन्थ्यो भुत्ते खुकुरीले? १०–१२ पटक हानेपछि बल्ल छिन्यो। खसी छिनेको थाहा पाएपछि भित्रबाट अरू मित्र पनि निस्किए। अनि सोधे, ‘छिन्यो? कति मारमा?’ हत्त न पत्त निरजले नै भन्यो, ‘दुई पटक हान्नु पर्‍यो!’ प्रशान्त र म एकअर्काको मुख हेरेर झन्डै त्यही बेहोस नभएको, बस् मुस्कुरायौँ मात्र। तर, साथीले बोलेको वचनको इज्जत राख्यौँ। लामै समयपछि मात्र वास्तविकता खोल्यौँ।

    मार हानेको खसी हामीले खान परिवारलाई पनि दियौँ। तर खाएनन्, भने ‘हमारे लिए हराम हे।’ बरु आफ्नो फ्रिजमा लगेर हामीले काटेको खसी राखिदिए। हाम्रो खुकुरी त मार हान्दा नै भुत्ते भइसकेको थियो। हामीलाई मासु टुक्रा पार्न हम्मे पर्‍यो। एउटा मुस्लिम मासु पसलेले टुक्रा बनाइदिने भयो। खुसी भयौँ। लिएर गयौँ। तर, हामीले ल्याएको मासु हेर्ने बित्तिकै ‘ए तो कुत्ता हे’ पो भनिदियो। बल्लतल्ल सम्झाएर टुक्रा बनायौँ। काट्ने पो सबैलाई रहर पकाउने कोही थिएन। आधाभन्दा बढी मासु त कुहिएर फाल्नुसमेत पर्‍यो। काटेकै दिन मैले आन्द्रा भुँडी पकाएँ। अलि–अलि पिरो पनि हालेँ। म बिस्तारै पिरो खान सक्ने भइसकेको थिएँ। तर, प्रशान्त जस्ताको तस्तै, अहिले पनि त्यस्तै छ। यति रिसायो कि साध्य नै छैन। केही बोलेन पनि।

    मद्रासमा हिन्दी बोल्न जान्ने भएर पनि होला, हामी खान परिवारको निकै नजिक आयौँ। उनको परिवार पनि सानै थियो। आफू, पत्नी, बुढी आमा (अम्मी) अनि एक छोरा–एक छोरी। कहिलेकाहीँ बहिनी पाहुना लाग्न आउँथिन्। राम्री थिइन्, गोरी चिटिक्क परेकी। शायद हामीभन्दा केही जेठी पनि थिइन्। जे भए पनि लुकेर हेर्न छाडिन्नथ्यो, मौका परे गफ गर्न पनि। तर, हाम्रै अगाडि अर्कोले बिहे गरेर लिएर गयो। भँवरे ने खिलाया फूल, फूलको ले गया राज कुँवर भनेर गीत गायौँ, बस्यौँ।

    हामी जो कोही पनि काठमाडौं घर आउँदा उनीहरूका लागि उपहार लिएर जान्थ्यौँ। मैले त्यो बेला भर्खर नेपालमा आएको चिटिक्कको चाइनिज डिजिटल टेबल घडी लगिदिएको थिएँ, एक पटक। वर्षौँपछि चेन्नइ गएको थिएँ। पत्नी र छोरीसहित। खान परिवारलाई भेट्न गयौँ। मलाई लागेको थियो, अम्मी हामी हुँदा नै निकै बुढी थिइन्, अहिलेसम्म त ‘अल्लाहकी प्यारी’ भइसकिन् होला भन्ने। मनमा त्यस्तै विचार केलाउँदै यताउतै हेर्दै त्यो घरमा पुगेर घण्टी बजाएँ। ढोका त अम्मीले नै खोलिन्। अचम्म र हर्षको सीमा रहेन। मैले उ बेला उपहार दिएको टेबल घडी त्यो बेला पनि उनको टेबलको सान बनिरहेको थियो, अर्को अचम्म लाग्यो। बरु उनका छोरा मजहर र छोरी अनिशा ठुला भइसकेका रहेछन्। साह्रै खुसी भए। उनीहरूको घरमा भाडामा बसेका कोही पनि अहिलेसम्म त्यसरी भेट्न पुगेका रहेनछन्, म पहिलो परेछु। अनि सोधेँ पनि, ‘पुलिस में हि जब कर रहेँ हें?’ उनले गरिरहेको छु भने। अनि मैले फेरि सोधेँ ‘भैया जब हम यहाँ थिए, आप डिएसपी थिए, अब क्या हें?’

    उनको सहज जवाफ थियो, ‘अब भी डिएसपी हि हुँ।’ धत्! त्यत्रो वर्षमा पनि उनको बढुवा भएको रहेनछ। लाग्यो, मेरो देश र धर्म झैँ उनको देश र धर्म पनि बेइमान नै रहेछ, इमान्दारिताको कदर गर्न नसक्ने। पत्नी र छोरीको अगाडि खान परिवारले मेरो प्रशंसामा निकै शब्द खर्चिए। नाकै फुल्यो। अनि त्यो घरबाट बाहिर आएपछि मैले पत्नीजीलाई हाँस्दै भने, ‘देख्यौँ त, तिमी मात्र हौँ, यो संसारमा मलाई नराम्रो देख्ने। बाँकी त सबै प्रशंसा नै गर्छन्।’

    हामी त्यहाँ हुँदा अनिशा निकै सानी थिइन्। हामीलाई ‘मामु’ भन्थिन्, साह्रै लुट्पुटिन्थिन्। छोरा ठुलो थियो, साह्रै बाठो। मुलाको होमवर्कसमेत हामीले गरिदिनु पर्ने। तामिल भाषाको होमवर्क भयो भने साथीको कपि ल्याउँथ्यो, म नबुझेपनि जस्ताको तस्तै सारिदिन्थ्ये। कुनै भाषाको ‘स्क्रिप्ट’, मेरा लागि चित्रकला बनिदिन्थ्यो। नजाव खान पनि कम थिएनन्। हिन्दुका छोरालाई दीपावलीमा नरमाइलो लाग्ला भनेर पट्कासमेत ल्याइदिएका थिए। दीपावलीको दिन अरूहरूले पट्काएको सुनेरै दिमाग तातिसकेको थियो, त्यो दिन त्यति पड्काइएन। मजहर र अनिशाको मन राख्न केही पड्काइयो। बरु भोलिपल्ट निकै पड्कायौँ। टोलियाले गुनासो पनि गरे। हाम्रो जवाफ सहज थियो, ‘आज हाम्रो दीपावली हो, हिजो हामीले तिमीहरूलाई केही भनेनौँ, आज तिमीहरूले केही भन्न मिल्दैन, सबैको आ–आफ्नै पर्व हुन्छ नि!’ सबै चुप। वास्तवमा भन्ने हो भने हामीले मद्रासी टोलियासँग अघिल्लो दिन राम्ररी सुत्न नदिएको मिठो बदला लिएका थियौँ, त्यो रात।

    खान परिवारको घरमा बस्दा लाग्थ्यो मात्र, तर अहिले पक्का भइएको छ। धर्म–जात भनेको केही खुराफाती विद्धानको घमन्ड र दम्भको कारखानामा उत्पादित पाखण्ड मात्र हो। जसबाट विनाशबाहेक केही हात लाग्दैन। जसले शरीरमा एउटै ग्रुपको रगत बोकेका मान्छेलाई समेत त्यो मानिसभन्दा बेग्लै बनाउँछ। कि हिन्दु बनाउँछ, कि मुस्लिम, कित इस्लाम। मान्छेलाई मात्र मान्छे बनेर कहिल्यै न बाँच्न दिन्छ न त मर्न।

    उनको सहज जवाफ थियो, ‘अब भी डिएसपी हि हुँ।’ धत्! त्यत्रो वर्षमा पनि उनको बढुवा भएको रहेनछ। लाग्यो, मेरो देश र धर्म झैँ उनको देश र धर्म पनि बेइमान नै रहेछ, इमान्दारीको कदर गर्न नसक्ने।

    हाम्रा कलेजमा पढ्ने नेपालीहरू पनि कमका थिएनन्। ब्रालाई गीत गाउने र ड्रम बजाउने शौख, उसँगै अर्का एक जनालाई गितार बजाउने। एक दिन कलेजमा भएको कार्यक्रममा नेपाली गीत गाउन आग्रह गरियो, उनीहरू दुई जना तयार भए। अनि गीत सुरु गरे, ‘पहिलो बच्चा कहिले, दोस्रो स्कुल जान्छ जहिले’ अनि नेपालमा बनेका परिवार नियोजनका सबै ‘जिंगल’लाई लय मिलाएर गाए। जसको बीच–बीचमा केही ‘ननभेज’ गीतको सहारासमेत लिएका थिए, उनीहरूले। कसले के बुझुन् र? बुझ्ने हामीहरू हाँसेको हाँसै, उनीहरू गाएको गाएै। मञ्चबाट ओर्लंदा ताली र स्याबासी पनि पाए। फटाहा मोराहरू!

    ब्रा मान्छे अलि आँटिलो पनि हो। एक पटक हामीले नयाँ क्यासेट प्लेयर किनेर ल्यायौँ। स्पिकरमा जोड्ने र सबै तार मिलाउने जिम्मा ब्राले लियो। हामी बाहिर निस्केन भएकाले। अलिकति लगाएछ, अनि काम सुरु गरेछ। स्पिकरमा जोडेपछि छरपस्ट भएका तारहरू बाँध्न उसले डोरी भेटेनछ। निरजको जुत्ताको फित्ता काटेरै तारहरू बाँधिदिएछ। कम रन्किएन निरज, त्यो बेला। त्यो रिस स्वाभाविकै पनि थियो।

    जिन्दगी कहिले कता बटारिन्छ, थाहा हुँदैन। चेन्नइको खाना र हावापानी मलाई कहिल्यै फापेन। दुई पटक ‘डिहाइड्रेसन’ भएर अस्पतालमै गएर ग्लुकोजसमेत चढाउनु पर्‍यो। एक पटक त काठमाडौंबाट मम्मी आउँदा नै बिरामी परेँ। निको भएपछि ममीलाई जँचाउन भेल्लोर गइयो। अनि म पनि ममीलाई छाड्न काठमाडौं आएँ। अरू बेला पनि काठमाडौं आउने टिकट काटेपछि निकै रमाइलो लाग्थ्यो। तर, त्यसपछि यति सुस्तरी समय चल्थ्यो कि, दिक्कै लाग्ने। काठमाडौं आउने अघिल्लो रातभर जाग्राम नै बसिन्थ्यो। सपना कै संसारमा फर्कन लागे झैँ।

    दारुको नशामा मैले पनि उसलाई भनिदिएँ, ‘आफैँले बोलेको डाइलगसमेत नबुझ्ने भाषाको फिल्म खेल्दिनँ म।’ त्यो बेला त लागेन, अहिले भने चुकचुक लाग्छ। जिन्दगीमा मौका आइरहँदैन, त्यसैले आएको समातिहाल्नुपर्छ रे। के गर्नु अहिले आएर यो मन्त्र सिकियो।

    एक पटक काठमाडौंबाट फर्कँदा हामीले क्याबिनको सिट पाएका थियौँ। सामान्यतया रेलका नयाँ डिब्बामा क्याबिन हुँदैन थिए। त्यो डिब्बा अलि पुरानो रहेछ। हामीसँगै क्याबिनमा दुई–तीन जना मद्रासी पनि थिए। निकै सौखिन खालका। साथमा विदेशी रक्सीका बोतलसमेत ल्याएका थिए। गफ गर्दै मस्त खान्थे। बिस्तारै दोस्ती भयो, हामीले पनि त्यो रक्सी चाख्न पायौँ। उनीहरूको मुख्य काम जे भए पनि तामिल चलचित्रमा पनि लगानी गर्दा रहेछन्। त्यो बेला म अहिले जस्तो थिइन, हेर्दा ठिकै थिएँ। त्यसमाथि मेरो शारीरिक रूपरेखा अनि रंगरोगन पनि अन्तर्राष्ट्रिय नै छ। जता गयो, त्यतैको झैँ लाग्ने। नेपालमा हुँदा नेपाली, चेन्नइमा हुँदा तामिल झैंँ। चेन्नइमा बाटोमा हिँड्दा कहिलेकाहीँ ठेगाना सोध्नसमेत आउँथे। साथीभाइ उडाउँथे। त्यही यात्राको क्रममा विदेशी रक्सी कै मातमा एकजनाले त मलाई तामिल फिल्ममा खेल्ने अफरसहित भिजिटिङ कार्डसमेत दिएका थिए। दारुको नशामा मैले पनि उसलाई भनिदिएँ, ‘आफैँले बोलेको डाइलगसमेत नबुझ्ने भाषाको फिल्म खेल्दिन म।’ त्यो बेला त लागेन, अहिले भने चुकचुक लाग्छ। जिन्दगीमा मौका आइरहँदैन, त्यसैले आएको समातिहाल्नुपर्छ रे। के गर्नु अहिले आएर यो मन्त्र सिकियो। त्यही बेला थाहा भएको भए त अहिले म पनि काठमाडौंको घर–घरको टेलिभिजनको सेटमा प्रसिद्ध भएका कुनै तामिल फिल्मको हिन्दी रिमेकमा देखिन्थेँ कि? २०–४० जना गुण्डालाई सिठ्ठी बजाएर ढालिरहेको हुन्थेँ कि? वा कुनै गुण्डाको रोलमा हिरोको कुटाइ खाइरहेको हुन्थेँ कि? जे पनि हुन सक्थ्यो। त्यत्तिकै भन्ने हो भने बितेको कुराको मलाई कुनै पश्चात्ताप लाग्दैन। तर, मनभित्रदेखि भन्ने हो भने त्यो अस्वीकारोक्तीको पश्चात्ताप अहिले भने बेला–बेलामा हुन्छ नै। अहिले पनि लाग्छ, फक्रेको बेला मैले गुलाफ टिप्न सकिन। अनि मुर्झाराएको फूललाई हेरेर के रुनूँ।

    हिजोआज मेरो सम्पर्कमा चेन्नइमा वर्षौँ बिताएका कोही साथीभाइ छैनन्। तर, प्रशान्त र मेरो दोस्ती उस्तै छ। जय–वीरुको जस्तै। होला, उमेरले भेटघाटमा केही कमी ल्याएकै छ। तर, केही सम्बन्ध बुढो रुख झैँ दह्रो हुँदो रहेछ। सधैँ अटल, सधैँ अमर। भेटेका बेला बितेका दिनका कुरा गरेर अहिले पनि हामी मक्ख पर्छौँ। चेसको बोर्ड र खानेकुरा बोकेर दुई जनामात्र नगरकोट अनि ककनीसम्म पुगेका दिन सम्झन्छौँ। हामी दुवै चेसका सौखिन थियौँ। तर, खेलाडीका रूपमा दुवै अनाडी। म अलि राम्रो खेल्छु कि जस्तो लाग्थ्यो तर, प्रशान्तलाई हराउन सधैँ हम्मे नै पर्थ्यो। धेरै खेलको अन्त्य उसको जितमै भएका थिए। तर पनि, उ मेरो मन राख्न आफ्नो जितलाई काकताली भन्थ्यो। हारका कारण मेरो मन दुख्यो कि? भनेर। वास्तवमा भन्ने हो भने खेल जसले जित्छ, त्यो नै विजेता बन्छ यार! मैले बुझेको छु। सबैले बुझेका छन्।

चेतन पाण्डे

पाण्डे साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय छन्। pandechetan@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]