|

हेटौँडा : हेटौँडामा जारी राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा जथाभावी हेलिकोप्टर उडाएर ‘स्टण्ड’ देखाउने प्रभु हेलिकोप्टरका पाइलटको लाइसेन्स तत्कालका लागि निलम्बन गरिएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले महोत्सवमा जथाभावी ‘स्टण्ड’ देखाएर हेलिकोप्टर उडान गर्ने प्रभु हेलिकप्टरका पाइलट रामेश डंगोलको लाइसेन्स तत्कालका लागि निलम्बन गरेको हो। फागुन १८ गतेबाट सुरु भएको महोत्सवमा दैनिक उडान भर्ने क्रममा हेटौँडा बजार क्षेत्रमा स्टण्ड देखाएर हेलिकोप्टर उडाएका पाइलट डंगोलको लाइसेन्स प्राधिकरणले तत्कालका लागि निलम्बन गर्दै छानबिन प्रक्रिया अगाडि  बढाएको हो। प्रभुले हेटौंडामा नाइ एन एजेडब्लु हेलिकोप्टर महोत्सवमा उडाएको थियो।

‘हामीलाई प्राप्त भएको भिडियोका आधारमा हामीले तत्काल उडान अनुमति पत्र निलम्बन गरेर छानविन प्रक्रिया अगाडि बढाएका हौं। हेलिकोप्ट स्टण्ड देखाउने साधन होइन र गर्न पनि पाइँदैन। अझै महोत्सव जस्तो हजारौं मान्छे भएको ठाउँमा यो गर्नु गलत हो। त्यहाँ दुर्घटना भएको भए सयौंको ज्यान जान सक्थ्यो’, भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले उनीमाथि छानबिन सुरु भइसकेको बताए।

‘छानबिन नसकिँदासम्म पाइलटले उडान भर्न पाउने छैनन्। हामीले सर्वसाधारणबाट प्राप्त भएको सूचनाका आधारमा समेत पाइलटलाई कारबाही गर्न सक्छौं’, उनले भने। महानिर्देशक गौतमले सर्वसाधारणसँग भएको भिडियो प्राप्त भएको खण्डमा अझै छानबिन गर्न सजिलो हुने बताए।

विभागले हेटौँडामा हेलिकप्टर स्टण्ड देखाएको थाहा पाउनेबित्तिकै पत्र काटेर हेलिकोप्टर नउडाउन पाइलट र प्रभुलाई निर्देशन दिएको थियो। ‘हामीले भनेपछि हेटौँडामा फ्लाइट भएन। हामीले पाइलटलाई पत्राचार गरेका छौं’, उनले भने। विभागले पत्राचार गरेसँगै महोत्सव सकिन्नुभन्दा तीनदिन अगाडि नै हेलिकोप्टर फर्किएको थियो।

हेलिकोप्टर दुर्घटनामा बाहलवाला मन्त्रीसहित सातजनाले ज्यान गुमाएको एक महिना पनि नबित्दै हेटौँडामा पाइलटले नै स्टण्ड देखाएर उडान भरेसँगै प्राधिकरणको ध्यानाकर्षण भएको हो।  प्रभु हेलिकोप्टर नेपालको ठूलो हेलिकोप्टर सेवा प्रदायक कम्पनी पनि हो।

निगमका अनुसार तत्काल नेपालमा विमान दुर्घटना भएको खण्डमा नेपालमाथि ईयु लगाउँदै आएको प्रतिबन्ध अझै २० वर्षसम्म हट्दैन। पछिल्लो समय नेपाली आकाश असुरक्षित भएको प्रति विश्वको ध्यानाकर्षणा भइरहेको छ। अधिकांश दुर्घटना विमान चालकको लापरबाही र विमान चालकमाथिको दबाबले हुने गरेको बताइरहेको समयमा पाइलटले यसरी हेलिकोप्टर स्टण्ड देखाउनु दुःखद् भएको बताइएको छ।

हेटौँडा बजार क्षेत्रका युवा, व्यवसायी तथा बुद्धिजीवीहरूले महोत्सवमा ल्याइएको हेलिकोप्टरले स्टण्ड देखाउँदा दुर्घटनाको सम्भावना बढेको बताउँदै सामाजिक सञ्जालमा समेत टीकाटिप्पणी गरेका थिए। प्रभु र मकवानपुर उद्योग वाणिज्य संघबीच सम्झौता भएर हेलिकोप्टर महोत्सवमा ल्याएको थियो। महोत्सवमा एक फ्लाइटमा तीनजनाले सवार गर्ने र एकजनाबापत चार हजार रुपैयाँ लिइएको थियो। जसमध्ये एक फ्लाइटको उद्योग बाणिज्य संघले दुईहजार रुपैयाँ प्राप्त गरेको थियो। महोत्सव अवधिभर करिब एकसय २५ फ्लाइट भएको बुझिएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.