विधेयक फिर्ता लिएपछि महाभियोग पनि अघि बढ्छः एमाले प्रमुख सचेतक

|
संसद बैठकमा एमाले उपाध्यक्ष बामदेव गौतम।

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बिहीबार व्यवस्थापिका संसदको बैठक अवरोध गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्ताव सदनमै अड्किएको छ।

संसदको बिहीबारको बैठकमा महाभियोग प्रस्तावमाथि छलफल हुने कार्यसूची थियो। ‘छलफलमा करिव आठ/दश माननीयले भाग लिन नाम टिपाउनु भएको थियो’, संसदका सहप्रवक्ता सुदर्शन कुईंकेलले भने ‘सदन चल्न नसकेपछि अब बस्ने बैठकमा अघि बढ्ला।’

सभामुख ओनसरी घर्तीले महाभियोग प्रस्तावमाथिको छलफलमा भाग लिने सांसदलाई मंगलबार साढे चार बजेसम्म संसद सचिवालयमा नाम टिपाउन रोस्टमबाटै आग्रह गरेकी थिइन्। बिहीबार छलफलमा भाग लिने सांसदले बोलिसकेपछि प्रस्तावलाई महाभियोग सिफारिस समितिमा पठाउने सभामुखको योजना थियो। 

प्रमुख प्रतिपक्षी एमालेका एक दर्जन सांसदले मंगलबार सदनको बैठकमा महाभियोग प्रस्तावलाई चाँडो भन्दा चाँडो महाभियोग सिफारिस समितिमा पठाउन माग गरेका थिए। तर बिहीबारको बैठकमा सोही दलका नेताले सदनको कारबाही चलिरहँदा आ–आफ्नो आशनबाट उठेर बैठक अवरोध गराए। र, सदनको कार्यसूची प्रभावित भयो। तथापि बिहीबारको संसदको कार्यसूचीमा संविधान संशोधनको विधेयक राखिएको थिएन। 

एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले महाभियोगभन्दा महत्वपूर्ण विषय भएकाले सदन अवरुद्ध गर्नुपरेको र त्यसले महाभियोग प्रस्तावलाई पनि प्रभावित तुल्याएको स्वीकारे। 

'महाभियोग प्रस्तावप्रति हामी गम्भीर छौँ तर त्यो भन्दा पनि महत्वपूर्ण राष्ट्रसँगै जोडिएको संविधान संशोधनको प्रस्ताव सरकारले ल्याएकोले अवरोध गरेका हौँ', प्रमुख सचेतक ढकालले थाहाखबरसँग भने, 'जहिलेसम्म संशोधन विधेयक फिर्ता हुँदैन, तबसम्म सदन चल्न नदिने पार्टीकै निर्णय छ, फिर्ता भएपछि सदन चलेपछि त अगाडि (महाभियोग) बढिहाल्छ नि।' 

अख्तियारका प्रमुख आयुक्त कार्कीविरुद्ध गत कात्तिक ३ गते माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाही प्रस्तावक भइ १५७ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.