|

विराटनगर : विराटनगरमा मंगलबारदेखि पाँचौ साफ च्याम्पियनसीप महिला फुटबल प्रतियोगिता जारी छ। साफ प्रतियोगिता आयोजना गर्न नेपालले पाएको यो पहिलो अवसर हो।

आयोजकले प्रतियोगिता भव्य बनाउन विराटनगरस्थित शहीद रंगशालालाई नयाँपन दिएको छ। तर, प्रतियोगिता हेर्ने दर्शकको भने खासै सहभागिता देखिएको छैन। नेपालमै पहिलोपटक त्यसमा पनि विराटनगरमा आयोजना गरिएको पाँचौ संस्करणको साफ महिला च्याम्पियनसीप २०१९ हुर्ने घुइँचो लाग्नुपर्ने हो। तर, विराटनगरस्थित शहिद रंगशालाको प्याराफिट भने खाली देखिन्छ।

मंगलबार सम्पन्न नेपाल र भुटानको प्रतियोगिता हेर्न केही दर्शक उपस्थित भए पनि अन्य दिन प्याराफिट खाली नै देखिए। अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता भए पनि विराटनगरवासीमा खासै उत्साह नदेखिएको खेलप्रेमीहरू बताउँछन्। साथै प्रचारप्रसारमा पनि कमी भएको उनीहरूको भनाइ छ।

‘महिलाको खेल भएको कारण पनि हुनसक्छ, हाम्रो समाजमा अझै महिलालाई हेप्ने प्रवृत्ती छ,’ फुटबल प्रेमी सुनिल प्रधानले भने, ‘आयोजकले प्रचारप्रसार पनि राम्रो गर्न नसकेको हो कि जस्तो लाग्छ।’ 

यसअघि विराटनगरमा आयोजना हुने खेलकुद प्रतियोगितामा विराटनगरवासीको सहभागिता कमै हुने गरेको थियो। त्यसैले पनि भन्ने गरिन्छ विराटनगरमा खेलप्रतिको लगाव कमै देखिन्छ। त्यसमाथि विराटनगरका सडकमा देखिएको अस्तव्यस्तता र धूलोको समस्याका कारण पनि सर्वसाधारण रंगशालासम्म पुग्न हिच्किचाउने गरेका छन्। ‘विराटनगरका भित्री बाहिरी सबै बाटो खनेर धूलो मय बनाइएको छ,’ खेलप्रेमी किशोर धमलाले भने, ‘फुटबल हेर्न भनेर जान बाटो पत्ता लगाउन पनि समस्या छ, धूलोको समस्या पनि उस्तै छ।’

अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेल हेर्न आउने दर्शकका लागि भिआइपीतर्फ ३ सय रुपैयाँ टिकट दर तोकेको छ। त्यस्तै, साधारण प्याराफिटतर्फको टिकट दर सय रुपैयाँ तोकेको छ। ‘टिकट पनि अलिक महँगो भएजस्तो लागेको छ,’ फुटबल खेलाडी पुनम थापाले भने, ‘टिकट अलिक सस्तो गरेको भए दर्शक अलिक आउने थिएकी?’

दर्शकको अभाव हुँदा आयोजक मात्रै नभएर प्रतियोगितामा सहभागी राष्ट्रका खेल क्षेत्रका अगुवाहरूले पनि चासो देखाएको थापाको भनाइ छ। ‘दर्शक नहुँदा वास्तवमा प्रतियोगितामा सहभागी टिमका मेनेजरहरुले आश्चर्य मान्नु भएको छ,’ उनले भने, ‘अन्तर्राष्ट्रियस्तरको यो प्रतियोगितामा जस्तो आकर्षण देखिनुपर्ने थियो त्यो देखिएन।’

साफ महिला च्याम्पियनसिप सम्पन्न गर्नका लागि करिब १ करोड ६५ लाख नगद लाग्ने एन्फाले जनाएको छ। त्यस्तै, प्रतियोगिता सम्पन्न गर्नका लागि विराटनगर महानरपालिकाले एन्फालाई एक करोड सहयोग गरेको छ।

दर्शकको अभाव तत्काल देखिए पनि सेमिफाइनलदेखि उल्लेख्य सहभागी हुने आशा रहेको प्रतियोगिताका प्रचारप्रसार समितिका संयोजक किरण राईले बताए। ‘अहिले कमै दर्शक देखियो, यद्यपि सेमिफाइनल र फाइनलमा उल्लेख्य उपस्थिति हुने अपेक्षा हामीले गरेका छौँ,’ उनले भने, ‘प्रचारप्रसार र सकेसम्म हामीले दर्शकको उपस्थितिका लागि प्रयास गरेका हौं, त्यति प्रभावकारी किन भएन भन्ने हामीलाई पनि अचम्म लागिरहेको छ।’

प्रतियोगितामा आयोजक नेपालसहित भारत, श्रीलंका, बंगलादेश, भुटान र माल्दिभ्स रहेका छन्। आयोजकले मोफसलमा भएको यस प्रतियोगितामा दर्शकलाई आकर्षण गर्न प्रतियोगिता उत्साहजन बनाउन आवश्यक कदम चाल्नुपर्ने खेलप्रेमीको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.