|

ओखलढुंगा : सोलु करिडोरमा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले चन्दा माग्न थालेपछि आयोजनाको काम प्रभावित भएको छ। आयोजनाको निर्माणस्थल पुगेर विप्लव कार्यकर्ताले चन्दा मागेपछि आयोजनाको कामसमेत प्रभावित भएको हो।

विप्लवका कार्यकर्ताले आयोजनाको निर्माणस्थलमा पुगेर चन्दा माग्न थालेको आयोजना प्रमुख जनार्दनप्रसाद गौतमले बताए। सोलु करिडोरको सोलुखुम्बुमा काम भइरहेको क्षेत्रमा विप्लवका कार्यकर्ताले चन्दा माग्न थालेको जानकारी दिँदै वन क्षेत्रको उपयोग र मुआब्जाको विषयमा टुंगो नलागेको बताए। आयोजनाको काम प्रभावित भइरहेको अवस्थामा विप्लवका कार्यकर्ताले चन्दा आतंक मच्चाएपछि काम झन् प्रभावित भएको उनको भनाइ छ।

वन क्षेत्रको प्रयोगसम्बन्धी विषय मन्त्रिपरिषद् पुगेर अड्किएको छ भने ओखलढुंगा र सोलुखुम्बुमा गरी १५ वटा सामुदायिक वनको क्षेत्र आयोजनाले प्रयोगमा ल्याउनेछ। राष्ट्रिय प्राथमिकता प्राप्त यो आयोजना नेकपा विप्लवका कारण थप प्रभावित हुने अवस्था आएको आयोजना प्रमुख गौतमको भनाइ छ। केही दिनदेखि चन्दा माग गर्ने काम भइरहेको गुनासो गर्दै कार्यस्थलमै चन्दा माग गर्न थालेपछि आयोजनाका काम अवरुद्ध हुने भन्दै सरोकारवालाले ध्यान दिनुपर्ने पनि गौतमले बताए।

सिरहाको मिर्चैयादेखि सोलुखुम्बुसम्म निर्माण भइरहेको १३२ केभी विद्युत् प्रसारण आयोजना ओखलढुंगा हुँदै सोलुखुम्बु पुग्नेछ। पहिलो चरणमा मुआब्जाको काम सकिए पनि वन क्षेत्र प्रयोग गर्ने विषयमा टुंगो नलाग्दा काम प्रभावित भएको थियो। सरकारले सन् २०१९ भित्र उक्त आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको थियो। लक्ष्यअनुसार प्रसारण लाइन निर्माण सम्पन्न नभएमा सोलुखुम्बुको सोलु खोलामा निर्माण भइरहेका ६ वटा २१७.५ मेगावाट क्षमताका जलविद्युत् आयोजनालाई नेपाल विद्युत् प्राधिकरणले ४५ प्रतिशतसम्म हर्जाना तिर्ने प्रतिबद्धता सहितको विद्युत खरिद सम्झौता गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.