|

धनगढी : संघीय प्रहरी कार्यालयको खेल मैदानमा भइरहेका महिला क्रिकेट अन्तर्गतको शुक्रबार भएको खेल जित्दै सुदूरपश्चिम फाइनल प्रवेश गरेको छ। शुक्रबार सुदूरपश्चिमले गण्डकी प्रदेशलाई २१० रनको फराकिलो अन्तरले पराजित गरेको हो। यसअघि सुदूरपश्चिमले कर्णाली प्रदेशलाई २२७ रनको फराकिलो अन्तरले हराएको थियो।

टस जितेर पहिले ब्याटिङ गर्दै सुदूरपश्चिमले २० ओभरमा ४ विकेट क्षतिमा २४८ रन बनायो। सुदूरपश्चिमकी कविता कुँवरले १०१ रनको शतकीय पारी खेलिन्। उनले ५८ बलमा १०१ रन बनाएकी थिइन्। यस्तै विन्दु रावलले ६१ बलमा ७९ रन बनाइन्। गण्डकी प्रदेशका लागि एलिसा लामिछानेले दुई विकेट लिएकी थिइन्। प्रतिउत्तरमा गण्डकी प्रदेश १५ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ३८ रनमा समेटिएको थियो। झिनमाया थापाले १३ रन बनाउनुबाहेक अरूले दोहोरो अंक छुन सकेनन्। सुदूरपश्चिमका लागि कविता जोशीले ४ विकेट र कविता कुँवरले ३ विकेट लिइन्। फाइनल पुग्ने अर्को टोलीको टुङगो भोलि हुने लिग चरणका अन्तिम खेलले लगाउनेछ।

पुरुष क्रिकेटमा प्रदेश १ सेमिफाइनलमा प्रवेश

प्रथम अन्तर प्रदेश स्तरीय मुख्यमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तर्गत पुरुषमा प्रदेश १ सेमिफाइनलमा प्रवेश गरेको छ। प्रदेश १ ले प्रदेश ३ लाई ७ विकेटले हराएको हो। यसअघि भएको खेलमा प्रदेश १ ले गण्डकी प्रदेशलाई ५ रनले पराजित गरेको थियो।

फाप्ला मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै प्रदेश ३ ले १६ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ९१ रन बनायो। सो पारीमा सम कंसाकारले ३६ रन बनाए। प्रदेश १ का लागि दीपेन्द्र कण्डेल र पुष्प थापाले ३/३ विकेट लिए।

९२ रनको विजय लक्ष्य प्रदेश १ ले १७ दशमलव ४ ओभरमा ३ विकेट क्षतिमा पूरा गर्‍यो। प्रदेश १ लाई जिताउन मिनाष थापाले ३८ रन र पुष्प थापाले ३६ रन बनाए। प्रदेश ३ का लागि नन्दन यादव र अनिल पौडेलले एक/एक विकेट लिए। समूह 'ए' मा प्रदेश १ सेमिफाइनल पुग्दा यो समूहबाट सेमिफाइनल र फाइनल पुग्ने टिमको टुंगो भने भोलि हुने लिग चरणको गण्डकी प्रदेश र प्रदेश ३ बीच हुने खेलपछि लाग्नेछ।

पुरुष क्रिकेटमा समूह 'बि' मा सुदूरपश्चिम कर्णाली प्रदेश र प्रदेश २ रहेकोमा सुदूरपश्चिम र प्रदेश २ सेमिफाइनल पुगेका छन्। दुवै प्रदेशबीच भोलि हुने लिग चरणको अन्तिम खेलले फाइनल पुग्ने टिमको टुंगो लाग्नेछ। महिला र पुरुष क्रिकेटमा दुवै समूहका विजेता स्वतः फाइनल पुग्नेछन् भने उपविजेता तेस्रो र चौथो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्।

फुटबलको सेमिफाइनल समीकरण पूरा

धनगढी रंगशालामा भइरहेको पुरुष फुटबल प्रतियोगिता अन्तर्गतको सेमिफाईनल समीकरण पूरा भएको छ। शुक्रवार सम्पन्न भएका लिग चरणहरूका खेलहरूको नतिजापछि सेमिफाईनल समीरकण पूरा भएको हो। समूह 'ए' बाट विजेता बन्दै प्रदेश २ र उपविजेता बन्दै प्रदेश १ अन्तिम चारमा पुगेका छन्। फूलबारीमको खेल मैदानमा शुक्रबार भएको प्रदेश १ र २ बीचको खेल ३–३ को बराबरीमा सकिएको हो।

दुवै टोलीको समान समान ७ अंक भए पनि गोल अन्तरले समूह विजेता र उपविजेता को टुंगो लागेको हो। प्रदेश १ का लागि राम तामाङ सन्तोष तामाङ र दीपेन्द्र घिसिङले गोल गरे। प्रदेश २ का लागि सुनिल लामाले दुई गोल गरे। एक गोल प्रदेश १ ले आत्मघाती उपहार पाएको हो।

यस्तै समूह 'बी'बाट शुक्रबार भएको खेल जित्दै सुदूरपश्चिम पनि उपविजेता भएर सेमिफाइनल पुगेको छ। धनगढी रंगशालामा सुदूरपश्चिमले प्रदेश ३ लाई ३–० ले हराएको हो। सानदार जितमा चेतन कठायतले दुई र जीवन चौधरीले एक गोल गरे। यो समूहबाट एक जित र एक बराबरी गर्दै चार अंकसहित समूह विजेता बनेर कर्णाली प्रदेश सेमिफाईनल पुगेको छ। सुदूरपश्चिम प्रदेश कर्णाली प्रदेशसँग यसअघि १–० ले हारेको थियो। धनगढी रंगशालामा भोलि हुने सेमिफाइनलमा सुदूरपश्चिम र प्रदेश २ तथा प्रदेश १ र कर्णाली प्रदेश फाइनल प्रवेशका लागि खेल्नेछन्।

भलिबलमा लिग चरणका ६ खेल सम्पन्न

पुरुष तथा महिला भलिबलमा लिग चरणका ६ खेल सम्पन्न भएका छन्। शुक्रबारदेखि सुरु भएको पुरुष र महिला भलिबलका तीन/तीन खेल भएका हुन्। महिला भलिबलमा प्रदेश ५ ले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा हरायो। प्रदेश ३ र गण्डकी प्रदेश बीचको खेलमा प्रदेश ३, ३–१ ले विजयी भयो। प्रदेश १ ले प्रदेश २ लाई ३–१ को सेटले हरायो। पुरुष भलिबलमा पनि सुदूरपश्चिमले कर्णाली प्रदेशलाई ३–१ ले हरायो। गण्डकी प्रदेश र प्रदेश ३ बीचको खेलमा गण्डकी प्रदेश ३–१ को सेटले विजयी भयो। प्रदेश ५ ले प्रदेश ३ लाई ३–० को सेटमा हरायो।

व्याटमिन्टनमा पनि प्रि क्वाटरफाइनलका खेल सम्पन्न

महिला तथा पुरुष तर्फका यु–१९ र यु–१७ उमेर समूहका प्रि क्वाटरफाइनलका खेल सम्पन्न भएका छन्। यु– १९ पुरुष तर्फ प्रदेश ५ का सरोज अधिकारीले कर्णाली प्रदेशका सुजित कार्कीलाई हराए। सुप प्रदेशका प्रकाश चन्दले गण्डकी प्रदेशका प्रकाश मगरलाई किनारा लगाए।

सुप प्रदेशका अंकित चौधरीले प्रदेश २ का सुनिल चौधरीलाई किनारा लगाए। प्रदेश ५ का विनोद पाण्डेयले प्रदेश ३ का अलिस थापालाई हराए। सुपका देशराज रानाले प्रदेश २ का विवेक मण्डललाई हराए। सुपका योगेश खड्काले प्रदेश २ का भोज गुरुङलाई पराजित गरे। जित हात पारेका सबै पुरुष खेलाडीहरूले क्वाटरफाईनलमा आफ्नो स्थान सुरक्षित गरेका छन्।

यु–१९ र यु– १७ महिला तर्फका पनि प्रि क्वाटरफाइनलका खेल सम्पन्न भएका छन्। यु–१९ महिला तर्फ कर्णाली प्रदेशकी सामना भट्टराइले सुदूरपश्चिमकी विमला ओझालाई हराइन्। कर्णाली प्रदेशकी पार्वती रोकायाले घाइते भएर खेल त्यागेपछि गण्डकी प्रदेशकी विनीता सुनार अघिल्लो चरणमा पुगिन्। प्रदेश ५ की सुष्मा श्रेष्ठले प्रदेश २ की शशि खत्रीलाई हराइन्। ती खेलमा जित हात पारेका महिला खेलाडीहरू पनि क्वाटरफाईनल पुगेका छन्।

यु–१७ महिला तर्फ पनि कर्णाली प्रदेशकी पुस शाहीले सुप प्रदेशकी दिव्यानी बमलाई पराजित गरिन्। सुप प्रदेशकी पोयुम तामाङले प्रदेश ५ की सरु बराललाई किनारा लगाइन्। कर्णाली प्रदेशकी अग्रिम भण्डारीले सुप प्रदेशकी जसुना खत्रीलाई हराइन्। विजयी भएका यो उमेर समूहका महिला खेलाडी पनि अन्तिम आठमा पुगेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.