|

सल्यान : कुमाख गाउँपालिका–७ जिमालीस्थित बिर्केनेटी आधारभूत विद्यालयको कक्षा ८ का विद्यार्थी मीनराज चलाउनेले अहिलेसम्म कम्प्युटर देखेका छैनन्। तर, उनले दुईपटक कम्प्युटर विषयको वार्षिक परीक्षा दिइसकेका छन्। ‘खै, कम्प्युटर कस्तो हुन्छ देखेको छैन,’ मीनराजले भने, ‘कम्प्युटर नदेखे पनि पास हुनलाई परीक्षा त दिनैपर्‍यो नि!’

नयाँ पत्रिका दैनिकमा समाचार छ, उनले कक्षा ६ र ७ को वार्षिक परीक्षामा कम्प्युटर विषयको परीक्षा दिएका हुन्। अझ त्रैमासिक र अर्धवार्षिक परीक्षा त कक्षा ८ मा पनि दिइसके । तीन वर्षदेखि कम्प्युटर विषय पढ्दै पनि आएका छन् । ‘एक सय पूर्णांकको छ, नपढी भयो त ?,’ उनले प्रश्न गरे। 

उनी मात्रै होइनन्, बिर्केनेटी आधारभूत विद्यालयका कक्षा ६ देखि ८ सम्मका सबै विद्यार्थी कम्प्युटर नदेखेरै कम्प्युटर विषय पढ्छन्। त्रैमासिक, अर्धवार्षिक र वार्षिक परीक्षा दिन्छन् र पास पनि हुन्छन्। 

शिक्षकले पनि कालोपाटीमा कम्प्युटरको चित्र कोर्छन्। यस्तो उस्तो हुन्छ भनेर पढाउँछन्। कक्षामा कम्प्युटर त शिक्षकले पनि छुन पाउँदैनन्। किनकि, यो विद्यालयमा कम्प्युटर नै छैन। कम्प्युटर नभएकाले समस्या भएको विद्यालयका प्रधानाध्यापक डिल्लीबहादुर बुढाथोकीले बताए। ‘०७० देखि यसरी नै पढाइरहेका छौँ,’ प्रधानाध्यापक बुढाथोकीले भने। 

सरकारले कक्षा ६ देखि ८ सम्म एक सय पूर्णांकको मातृभाषा वा स्थानीय विषय वा संस्कृत वा अन्य विषय राख्न सकिनेगरी साप्ताहिक रूपमा पाँच पाठ्यभार छुट्याएको छ। यो विद्यालयले ऐच्छिक विषयका रूपमा एक सय पूर्णांकको कम्प्युटर विषय पढाउने गरेको हो। तर, कम्प्युटर नहुँदा विद्यार्थीले पुस्तक पढेकै भरमा कम्प्युटर विषयको परीक्षा दिने गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.