|
तस्विर– अन्नपूर्ण पोस्ट

भद्रपुर :  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गत बिहीबार बन्द आह्वान गर्‍यो। यसको प्रभाव मुलुकभरका विद्यालयमा पर्‍यो। झापाको भद्रपुर नगरपालिका–३ सानोगाउँस्थित मेची आधारभूत विद्यालयमा भने त्यस दिन पूरै पढाइ भयो।

अन्नपूर्ण पोस्ट दैनिकमा  समाचार छ, विद्यार्थी ४ बजे छुट्टी भएपछि घर फर्किए। विद्यालयमा बन्दकर्ता हौं भन्दै कोही पुगेनन्। शिक्षक र विद्यार्थीले धम्कीपूर्ण व्यवहार पनि खेप्न परेन। मेची नदीपारि भारतीय भूमिसँगै सिमाना जोडिएको गाउँमा रहेको यो विद्यालयमा भयरहित वातावरणमा पठनपाठन भयो। भोलिपल्ट पनि विद्यालयको पठनपाठनमा अवरोध भएन।

यसअघि पटकपटका बन्दहडतालमा पनि विद्यालयमा पठपाठन हुँदै आएको छ। सार्वजनिक बिदाबाहेक विद्यालय बन्द हुँदैन। यहाँका अभिभावक र शिक्षकले बन्दहडतालबाट शैक्षिक क्षेत्र चौपट हुने राम्ररी बुझेका छन्।

कुनै समूह विद्यालय बन्द गर्नुपर्छ भन्दै आएमा अभिभावक सामूहिक प्रतिकारमा उत्रन्छन्। त्यसमा शिक्षक र विद्यार्थीले साथ दिन्छन्। ‘२०४४ सालदेखि सञ्चालनमा आएको विद्यालय सार्वजनिक बिदाबाहेक बन्द भएको इतिहास छैन,’ बिहीबार नानी डोर्‍याउँदै विद्यालयतिर लम्किरहेका अभिभावक धीरेन राजवंशीले भने, ‘विद्यालय बन्द गर्नुपर्छ भन्ने आँट कसैले गर्न सक्दैनन्।’ शैक्षिक संस्थामा बन्दहडताल गरिँदा बालबालिकाको भविष्य अन्धकारतर्फ धकेलिने उनले बताए।

स्थानीय अभिभावक गाउँलाई राज्यले हेपेको गुनासो गर्छन्। ‘राज्यले हेपेको गाउँमा यही एउटा विद्यालय छ। त्यसलाई पनि बन्दहडतालको प्रभाव पर्न दियो भने बालबालिकाको भविष्य बिग्रन्छ,’ राजवंशीले भने, ‘त्यही भएर बन्दहडतालमा पनि हामी विद्यालय खोल्न तयार हुन्छौं। बन्द आह्वान गरेका दिन विद्यालय बन्द गर्न केही आउँछन् कि भनेर सबै अभिभावक चनाखो भएर बस्छौं।’

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.