|

पोखरा : कहिले काहिँ खुद्रा पैसा हुँदा गाडीको सहचालक र कन्डक्टरको हप्की नखाने कमै यात्रु होलान्। पोखरामा सबैभन्दा छोटो दूरीको यात्रा गर्दा बस भाडा कम्तिमा १५ रुपैयाँ तिर्नै पर्छ। लाग्ने भाडा जति हो ठ्याक्कै त्यति नै खुद्रा पैसा नहुँदा थुप्रै समस्या आइपरिरहेका छन्। एक त ठूलो नोटको पैसा दिँदा साट्न समयको झन्झट अर्को सहचालकको हप्की।

अब पोखराको सार्वजनिक सवारीमा यात्रा गर्ने जो कोहिले यी सबै झन्झट बेहोर्नु नपर्ने भएको छ। सार्वजनिक बसमा विद्युतीय टिकट प्रणाली जडान गर्न पोखरा महानगर, वस ब्यवसायीहरू र काठमाडौंको एनक्लाउड कम्पनीबीच सम्झौतासमेत भएको छ। यो प्रविधि सुरु भएपछि व्यवसायीले प्रत्येक यात्रुहरूलाई जिपिएस जडित विद्युतीय कार्ड दिइनेछन्।

‘पहिलो चरणमा पोखराका करिब ८ सय बसमा इटिकेटिङ सेवा लागू हुनेछ,’ पोखरा महानगरका सूचना अधिकारी गंगालाल सुवेदी भन्छन्, ‘यात्रुले १४० रुपैयाँ खर्चेर स्मार्ट कार्ड गरिद गर्न सक्नेछन्। यो कार्ड भएपछि यात्रुले खुद्रा पैसाको झन्झट पनि बेहोर्नु पर्दैन। उक्त कार्डबाट लागेको भाडा सोझै बैंक खातामा जान्छ।’

कार्डबाट कसरी पैसा काट्ने भन्नेबारे कम्पनीले गाडीका सहचालकहरूलाई तालिम दिनेछ। यो सेवाले यात्रुलाई निकै सजिलो र ठगिनबाट समेत बच्न सक्ने प्राविधिक कम्पनीका सिइओ दिपेन्द्र नारायण श्रेष्ठले जानकारी दिए।

पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले यात्रु ठगिने दिनको अन्त्य भएको बताए। ‘अब यात्रु ठगिने दिनको अन्त्य भएको छ,’ उनले भने, ‘अब बसको रोक्ने चढ्ने पनि निश्चित स्टेशन हुन्छ। पोखराको ट्राफिक व्यवस्थापनको पहिलो चरणमा कार्ड सिस्टम लागू गर्न लागेका हौँ। पोखरामा चल्ने गाडीहरुको स्तरवृद्धीमा पनि महानगरले जोड दिनेछ ।’ अहिले पोखरा उपत्यकाभित्र चल्ने सार्वजनिक सवारीमा सुरु भएको यो सेवा लामो दूरीको सवारीमा पनि सञ्चालन हुने बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.