|

लहान : सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनको राष्ट्रिय परिषद् बैठक दोस्रो दिन सोमबार पनि जारी छ। सोमबार बिहान ९ बजेदेखि सुरु भएको बैठमा गठबन्धनका तर्फबाट संयोजक राउतले फागुन २४ गते सरकारसँग गरेको ११ बुँदे सहमतिको विषयमा छलफल भइरहेको छ।

आइतबार दिउँसो साढे १२ बजे शुरु भएको परिषद्को बैठकमा ११ बुँदे सहमतिको विषयमा आफ्नो कुरा राखेपछि सहभागीहरुले राति करिब ८ बजेसम्म आ–आफ्नो विचार राखेका थिए। बैठकमा तराई मधेसअन्तर्गत २२ जिल्लाका गठबन्धनका करिब २०० जना परिषद् सदस्यहरु सहभागी रहेको परिषद्का सदस्य सुदीपराज कुशवाहाले जानकारी दिए।

सहमतिको विषयमा सहभागीहरुको धारणा आएपछि सोमबार मध्याह्नको खानापछि आगामी रणनीति तय गरी सोमबार रातिसम्म बैठक समापन गरिने उनले बताए। ‘बैठकले गरेका निर्णयहरु पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेने छ’ उनले भने। लहान नगरपालिका-७ स्थित मारवाडी सेवा सदनको तेस्रो तलाको सभाकक्षमा जारी बैठकमा सहभागीहरुलाई सदनमै खाने बस्ने व्यवस्था गरिएकाले कार्यकर्ताहरु भित्र बाहिर गर्न समेत रोक लगाइएको छ।

सोमबार बिहान सदनमै व्यवस्था गरिएको चिया खाजापछि बैठक अहिले सुरु भएको परिषद् सदस्य कुशावाहाले बताए। बैठकमा सहभागीमध्ये सिरहाको लहान क्षेत्रकाबाहेक अन्य जिल्लाकालाई दुई वटा ठूलो हल र १७ वटा कोठा बुक गरी सबैलाई सदनमै बस्ने व्यवस्था गरिएको छ। 

बैठक स्थलभित्र सञ्चारकर्मीलाई पनि प्रवेश निषेध गरिएकाले भित्रको गतिविधिको विषयमा अन्य स्रोतसँगको कुराकानीको आधारमा सञ्चारकर्मीहरुले रिपोर्टिङ् गरिरहेका छन्। स्वतन्त्र मधेस गठबन्धनका नाममा करिब ६ वर्षदेखि पृथकतावादी आन्दोलनको नेतृत्व गरिरहेका राउतले परिषद् बैठकमार्फत् खुला राजनीतिको खाका तयार गरी अगाडि बढ्न सक्ने अनुमान गरिएको छ। आइतबार विहान १० बजे बैठक स्थल पुगेका राउतलाई मंसिर पाँच गते मधेस आन्दोलनका प्रथम शहीद रमेश महतो चोकमा नागरिक अभिनन्दन कार्यक्रम रहेको परिषद् सदस्य कुशवाहाले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.