|
फोटो : लोकेन्द्र बस्‍नेत\राखेप

काठमाडौं : नेपाली खेलाडी विमललाल श्रेष्ठ आठौं डब्लुबीपीएफ विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक च्याम्पियनसिपको पुरुष फिट्नेस फिजिक १७० सेन्टीमिटरसम्म उचाईमा चौथो भएका छन्।

विमलको स्पर्धामा ६ राष्ट्रका ७ खेलाडी प्रिजजिङमा सहभागी थिए। प्रिजजिङमा भारतका मंगेश गाउडी र चाइना मकाउका इयोङ वेङकुनलाई पछि पारी विमल शीर्ष ५ पाँच स्थानमा परे। उनी फाइनल चरण पुगे।

विमलको स्पर्धामा सुरुमा बाँडिएको खेलाडी सूचीमा ९ खेलाडीले भाग लिने उल्लेख थियो। तर कार्यक्रम उद्घोषकले दुई खेलाडीको नाम निर्णायक मण्डललाई हटाउन सूचित गरेपछि सात खेलाडीको अन्तिम नामावली तयार भएको थियो।  हटाइएका दुवै खेलाडी इजिप्टका हुन्।

फाइनल चरणमा विमल पाँचौं स्थानमा प्रदर्शन गर्न आएका थिए। पदकबाट थोरै चुकेका विमलले फाइनलमा दक्षिण कोरियाका किम मिन वुलाई मात्र पछि पार्न सके। थाइल्यान्डका  वान्चाई कान्जानापिमिन र रत्चावत कापन्या क्रमशः पहिलो र दोश्रो भए भने इरानका शरोक कजेमी तेश्रो भए।

दक्षिण एसियाली, एसियाली तथा विश्व शारीरिक सुगठन च्याम्पियनसिपको अनुभव बटुलिसकेका विमलले भारतको मुम्बईमा भएको छैटौं विश्व च्याम्पियनसिपको स्पोर्ट्स फिजिकमा रजत जितेका थिए। विमलले दुई दक्षिण एसियाली, एक एसियाली तथा तीन विश्व च्याम्पियनसिप (अहिलेको समेत) मा भाग लिइसकेका छन्।

यसपटक दुई स्पर्धामा सहभागिता जनाएका विमलले शुक्रबार स्पोर्ट्स फिजिकमा भाग लिएका थिए। त्यसमा उनी प्रिजजिङ राउन्डबाटै बाहिरिए।

शनिबारै नेपालका विनोद वज्राचार्यले स्पोर्ट्स फिजिकको १७५ सेन्टीमिटर उचाईमा भाग लिदै अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘डेब्यु’ गरे। विनोद पनि प्रिजजिङ राउन्डमै सीमित भए।

अब प्रतियोगिताको अन्तिम दिन आइतबार नेपालकी ननिता महर्जनले महिला एथलेटिक फिजिकको १६० सेन्टीमिटर उचाईमा खेल्नेछिन् । त्यो खेल नै नेपाली खेलाडीको अन्तिम खेल हुनेछ। प्रतियोगितामा एक महिलासहित चार नेपाली खेलाडीले विभिन्‍न स्पर्धामा भाग लिएका छन्।

विश्व शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स महासंघ (डब्लुबीपीएफ) को तत्वावधान र थाइल्यान्ड शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक संघको आयोजनामा थाइल्यान्डको पटायास्थित एम्बासडर सिटी होटलको कन्भेन्सन हलमा जारी प्रतियोगिताको औपचारिक उद्घाटन भने शनिबार मात्र गरियो। थाइल्यान्ड खेलकुद प्राधिकरणका डेपुटी गोभर्नर नत्तावुट रुइङगेभ्सले प्रतियोगिताको उद्घाटन गरे।

उद्‍घाटन कार्यक्रममा थाइल्यान्डका स्व. राजा भूमिबोल अदुल्याडेजको सम्झनामा मौन धारण गरिएको थियो। छोटो उद्घाटन समारोहमा प्रतियोगितामा सहभागी ४९ राष्ट्रका राष्ट्रिय झण्डा अंकित प्लेकार्ड लिएर थाइ सैनिकले मार्चपास गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.