|

काठमाडौं : आकर्षक तलबमा बैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर ३३ लाख रुपैयाँ ठगी गर्ने एक जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरी टोलीले काभ्रे कात्तिके देउराली घर भई लाजिम्पाट बस्दै आएका ३७ वर्षिय बुद्धकुमार लामालाई पक्राउ गरेको हो। 

उनले दुबईमा आकर्षक तलव पाउने कम्पनीमा पठाइदिन्छु भनी १३ जनाबाट २३ लाख रुपैयाँ ठगी गरेका थिए। नक्कली भिसा देखाएर सिन्धुली बेलघारीका गितिन्द्रबहादुर ठकुरीसमेत पाँच जनासँग १० लाख रुपैयाँ, डल्लुका कविन शाहीसमेत सात जनाबाट ११ लाख र डडेल्धुरा अमरगढीका दिलबहादुर तमोलीबाट एक लाख ९२ हजार रुपैयाँ लिएका थिए।

यसैगरी युरोप पठाइदिन्छु भनी बविता काजु र कविता श्रेष्ठबाट तीन लाख, राकेश प्रधान र जनकलाल पौडेलबाट पाँच लाख ५० हजार र खगेन्द्र गुरुङबाट दुई लाख रुपैयाँ लिएको प्रहरीले जनाएको छ। रकम लिई सम्पर्कबिहीन भएका लामालाई आइतबार प्रहरीले लाजिम्पाटबाट पक्राउ गरेको हो।

लामालाई आवश्यक अनुसन्धान र कारवाहीका लागि महाशाखाले बैदेशिक रोजगार विभाग, बुद्धनगर पठाइएको पनि महाशाखाले जनाएको छ। लामाले दुबईमा कृष्णबहादुर क्षेत्रीले सञ्चालन गरेको कृष्ण एण्ड कन्सल्टेन्सी देखाएर बेरोजगार युवायुवतीलाई ठगी गर्ने गरेको महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.