प्रश्नपत्र सार्वजनिक गर्नेलाई कानुनी कारबाही हुन्छ : मन्त्री पोखरेल

|

काठमाडौं : शिक्षा मन्त्रालयले ढाकेको अकास्मिक बैठकले प्रदेश २ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई) का सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ।

एकपछि अर्को प्रश्नपत्र बाहिरिएपछि शुक्रबार मन्त्रालयमा बसेको आकस्मिक बैठकले प्रदेश २ का २६२ परीक्षा केन्द्रको एसइई अन्तर्गतको चैत १४ देखि २१ गतेसम्म तय भएका सबै विषयका परीक्षा स्थगित गर्ने निर्णय गरेको हो। आइतबारदेखि एसइई परीक्षा सुरु भएको थियो। प्रदेश २ मा प्रश्नपत्र बाहिरिनु पहिले आइतबार अनिवार्य अंग्रेजी, सोमबार अनिवार्य नेपाली र बुधबार गणित विषयको परीक्षा भएको थियो। यी तीन विषयको परीक्षा भने पुनः दिनुपर्ने छैन।

गत चैत्र १४ र १५ गते प्रदेश दुईमा क्रमशः विज्ञान र सामाजिक विषयको प्रश्नपत्र परीक्षा दिनुअघि नै सार्वजनिक भएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न मन्त्री पोखरेल अध्यक्ष रहेको माध्यामिक शिक्षा परीक्षा संचालन तथा व्यवस्थापन उच्चस्तरीय सुरक्षा समितिको बैठक बसेको थियो। बैठकपछिको पत्रकार सम्मेलनमा प्रश्नपत्र सार्वजनिक गर्ने कार्य अपराधिक क्रियाकलाप भएको बताउँदै उक्त घटनामा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताए। उनले विद्यार्थीको मनोबल घटाउने काम नगरी प्रदेश सरकार, स्थानीय तह, शिक्षक, सुरक्षाकर्मीलगायत सबैलाई परीक्षाको वातावरण बनाउने आग्रह गरे।

उनले प्रश्नपत्र बाहिर ल्याएर अनियमिता गर्नेलाई कारवाही गर्ने बताउँदै मन्त्रालयको विशेष आग्रहमा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान विभाग सिआइबीले घटनाको छानबिन गर्ने उल्लेख गरे। 'प्रश्नपत्र बाहिर ल्याउनेलाई कानुनको दायारमा ल्याइने छ। मन्त्रालयको विशेष आग्रहमा छानबिनका लागि सिआइबी पठाएको छ', उनले भने।

उनले तीनवटा सुरक्षा घेरामा जनकशिक्षा सामग्री केन्द्रमा छापिएका प्रश्नपत्र कसरी बाहिरिए भन्नेमा आफू अचम्मित परेको बताए। 'तीनवटा सुरक्षा घेरभित्र जनकशिक्षा सामग्री केन्द्रको मुद्रण प्रेसमा छापिए र त्यहाँबाट विशेष सुरक्षाका साथ जिल्ला प्रहरी कार्यालयमा पठाइएको र त्यहाँबाट परीक्षा केन्द्रको नजिकको प्रहरी चौकीमा प्रहरीको सुरक्षामा पठाइएको पेपर कसरी बाहियो भन्ने विषयमा गम्भीर भएका छौँ। यस्तो अपराध गर्नेलाई कानुनी कारबाही गर्छौँ' उनले भने।

मन्त्री पोखरेलले अन्य प्रदेशको हकमा भने परीक्षा नियमित ढंगले संचालन हुने उल्लेख गर्दै ढुक्क भएर सहभागी हुन पनि सबै परीक्षार्थीहरुलाई आह्वान गरे। उनले स्थगित भएको परीक्षा यसै महिनाभित्र सञ्चालन गरिनेसमेत बताए। उनका अनुसार २२ गते लिन भनिएको विज्ञान विषयको परीक्षा भने स्थगित गरिएको छैन।

प्रदेश सरकारले राजीनामा मागेको विषयमा मन्त्री पोखरेलले पहिले परीक्षाको काम सक्ने त्यसपछि मात्रै अरू कुरा गर्ने बताए। प्रश्नपत्र बाहिरिएपछि मन्त्री पोखरेलको राजीनामा मागिएको थियो। बिहीबार र शुक्रबार लगातार दुई दिन परीक्षा स्थगित भएपछि प्रदेश दुईका विद्यार्थी आन्दोलित बनेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.