|

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान संशोधन प्रस्ताव दर्ता भएपछि लगातार भइरहेको संसद अवरोधप्रति चासो देखाएकी छन्। आइतबार संसदभित्र र बाहिरका रहेका दलका नेताहरुलाई छलफलका लागि राष्ट्रपति निवास बोलाएर उनले संविधान कार्यान्वयन गर्नुपर्ने बेलामा संसद अवरुद्ध हुँदा आफू दुखी भएको बताएकी हुन्। बैठकपछि नेकपा मालेका महासचिव सीपी मैनालीले राष्ट्रपति भण्डारीले संविधान कार्यान्वयनमा दलहरु मिलेर अघि बढ्न सुझाव दिएको बताए।

सरकारले मंसिर १४ गते सीमांकन हेरफेर सहित संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गरेपछि प्रतिपक्षी नेकपा एमाले लगायतका दलले लगातार संसद र सडकमा आन्दोलन चलाइरहेका छन्। सत्तारुढ र प्रतिपक्षी दलहरुबीच दूरी बढेका बेला राष्ट्रपतिले सबै पक्षलाई छलफलमा बोलाएकी हुन्। ‘सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका-संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग भेट गर्नुभयो। उक्त अवसरमा नेपालको संविधानको कार्यान्वयनमा देखापरेका चुनौती तथा समसामायिक राजनीतिक विषयहरुमा छलफल भयो’ बैठकपछि राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

संशोधन प्रस्ताव परिमार्जन हुन सक्छ : प्रधानमन्त्री

छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावमा परिमार्जन गर्न सकिने बताएका छन्। राष्ट्रपति कार्यालयमा भएको छलफलमा उनले सबैलाई स्वीकार्य हुने गरी संशोधन प्रस्तावलाई परिमार्जन गर्न सकिने बताएका हुन्।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको संविधान संशोधन प्रस्तावले मधेसी मोर्चाले उठाएको माग पूरा गर्ने भएकाले परिमार्जनको आवश्यकता नभएको बताएका थिए।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको संविधानमा सीमांकन परिमार्जन गर्न सकिने व्यवस्था नै नभएको बताए। उनले प्रतिपक्षी नेताहरुसँग छलफल नै नगरिएको र जसको माग पूरा गर्न संविधान संशोधन प्रस्ताव ल्याइयो उनीहरु नै असन्तुष्ट रहेकाले संसशोधन प्रस्ताव फिर्ता लिनुपर्ने बताएका मालेका महासचिव सीपी मैनालीले बताए।

संशोधन परिमार्जन गरे स्वीकार्य : मोर्चा

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले अहिलेकै अवस्थामा आफूहरुलाई संविधान संशोधन प्रस्ताव स्वीकार्य नभएको बताए। तर प्रधानमन्त्री प्रचण्डले परिमार्जन गर्न सकिने बताएकाले आशावादी हुने ठाउँ रहेको बताए।

तराई मधेस लोकतान्त्रिक पार्टीका नेता महन्थ ठाकुरले प्रमुख दलले मधेसको मागलाई वेवास्ता गर्दा मधेसी जनताबाट अलग भएको बताए। उनले भनेको कुरा उधृत गर्दै श्रोतले भन्यो ‘ अहिले त मधेसी जनतालाई मात्र गुमाउँदै हुनुहुन्छ, यही अवस्था रहे मधेस पनि गुमाउन सक्नुहुन्छ।‘

छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख ओनसरी घर्ती, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायतका नेताहरु सहभागी थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.