|

नेपालगन्ज : 'मेहेनतको फल मिठो हुन्छ' भन्ने उखान फत्तेपुर गाविस–८, मेहमानपुरकी बासमोती बुढामा चरितार्थ भएको छ। पेशाप्रतिको लगाव, मेहनत र इमान्दारिताले उनी ७० हजार राशीको ‘स्वर्णिम प्रतिभा पुरस्कार’ बाट सम्मानित हुने भएकी छन्। उनलाई यहि मंसिर २३ गते एक कार्यक्रमकाबीच हेफर इन्टरनेशनले पुरस्कार प्रदान गर्ने भएको छ। 

दुईवटा बाख्राबाट ब्यवसाय सुरु गरेकी बासमोतीसँग अहिले ९ वटा ब्याउने बाख्रासहित १७ वटा बाख्रा रहेका छन्। भने उनले एक वर्षमा ७ वटा खसी विक्री गरिसकेकी छिन्। पहिले पनि बाख्रापालन गरेकी उनले सुरुमा बाख्रा पालन गर्न हिम्मत गरिनन्। ‘पुरानो चलन अनुसार बाख्रा पालन गर्दा सबै मरेपछि माया मारेर पाल्न छाडेकी थिएँ, घाँसको ब्यवस्था गरेर ब्यवसायीक रुपमा पाल्न थालेपछि फाइदा हुन थाल्यो,’ उनले भनिन्- ‘मेरो र परिवारको लगाव, मेहनत र इमान्दारिताको फल आज पाउन थालेको छु, पुरस्कार पनि मेरो परिश्रमको फल नै हो।’

उनीसँग ५८ वटा लोकल कुखुरा र २ वटा भैँसी पनि छन्। भैँसीमा कृतिम गर्भाधान गरेपछि उनलाई फाइदा हुन थालेको छ। उनको वार्षिक आम्दानी बढेर २ लाख ५८ हजार पुगेको छ। उनले भनिन्- ‘छोराछोरीको शिक्षादिक्षा, लालनपालन, औषधी उपचार, घर खर्च सबै यसैले धानेको छ।’

विदेश गएका श्रीमानलाई समेत रोजगार 

बालबच्चाको पालन पोषण र शिक्षादिक्षा दिन समस्या भएपछि बासमोतीले १ लाख ५० हजार ऋण लिएर श्रीमानलाई कामका लागि कतार पठाएकी थिइन्। त्यहाँ राम्रो काम नपाएपछि उनका श्रीमान मदन बुढा त्यसै फर्किए। अहिले उनका श्रीमानले उनको काममा सघाउँदै आएका छन्। ‘आफ्नै पहलमा श्रीमानलाई समेत रोजगारी दिन सकेकोमा खुसी लागेको छ, अहिले श्रीमान श्रीमती मिलेर काम गर्छौँ,’ उनले भनिन्। 

बाख्रा ब्यवसायबाट भएको आम्दानीले जेठी छोरीलाई जेटिए तथा एक छोरा र एक छोरीलाई नेपालगन्जमै राखेर क्याम्पस पढाइरहेकी छन्। आफूसँग भएको खेतियोग्य जमिनमा समेत उनले घाँस खेति गरेकी छन्। ‘थोरै खेतमामात्र धान खेति हुन्छ, बाँकी खेत र खेतको आलीमा कोषे घाँस रोपेका छौँ,’ बासमोती बुढाले भनिन्- ‘घाँसका लागि वनजंगल धाउनु पर्दैन, आफ्नै बारीमा प्रशस्त छ।’

साधारण महिलाले उछिनिन् ३० हजार महिला

बाँकेको विकट गाविस मानिने फत्तेपुरकी एक साधारण लेखपढ गर्न जान्ने महिला सन् २०१६ को उत्कृष्ट महिलामा परेकी छन्। उनी १ हजार १ सय वटा समूहका करिव ३० हजार महिलालाई उछिन्दै ‘स्वर्णिम प्रतिभा पुरस्कार’ जित्न सफल भएकी हुन्।

थोरै सहयोग र लगानीबाट धेरै आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बन्न सफल भएकोले उनलाई सन् २०१६ को स्वर्णिम प्रतिभा पुरस्कारले सम्मान गर्न लागेको हेफर इन्टरनेशनलका सह–कार्यक्रम निर्देशक दुर्गा केसीले बताए। उनले बासमोती जस्ता महिलाले गरेको प्रगतिबाट पाठ सिकेर अन्य महिलालाई पनि अघि बढ्ने प्रेरणा मिलोस् भन्ने उद्देश्य रहेको बताए। ‘राशी सानो भएपनि थोरै लगानी र सहयोगबाट धेरै गर्न सकिन्छ भन्ने देखाउनुनै यो पुरस्कारको मूख्य उद्देश्य हो,’ केसीले भने। 

यसअघि गत बर्ष दाङ देउखुरीकी चन्द्रा रोका मगरले यो पुरस्कार पाएकी थिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.