सेना र प्रहरी उद्दारमा खटियो, सयौँ घाइतेको उपचार हुँदै

|

काठमाडौं : हावा हुरीका कारण बारा जिल्लामा २४ जनाको मृत्यु भएको छ।

आइतबार साँझ आएको हावा हुरीले २४ जनाको मृत्यु भएको र अझै ठूलो संख्यामा मानवीय क्षति भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी हेम शाहीले जानकारी दिए।

डिएसपी शाहीले थाहाखबरसँगको टेलिफोन कुराकानीमा भने, ‘जिल्लाभरी सुरक्षाकर्मी परिचालन भएको छ। राति साढे १० बजेसम्म २४ जनाको शव भेटिएको छ। क्षतिको अवस्था हेर्दा अझैँ ठूलो संख्यामा मानवीय क्षति भएको हुनसक्ने अनुमान गर्न सकिन्छ।’

घाइतेहरूलाई वीरगन्ज क्षेत्रीय अस्पताल र जिल्लाका अन्य अस्पतालहरूमा राखिएको र त्यहाँ उपचारका लागि ठाउँको अभाव भएको खबर आएको शाहीले बताए।

ठूलो हावाहुरी आएको र घर लगायतका भौतिक संरचनामा क्षति भएकाले त्यहाँ पुरिएको हुनसक्ने शाहीले बताए।

उद्दार कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन भएको पनि शाहीले बताए।

त्यस्तै, पर्सा जिल्लामा पनि हुरीका कारण एकजनाको मृत्यु भएको छ। राससका अनुसार पर्साको हरबडियामा एकजनाको मृत्यु भएको हो।

पर्साका विभिन्न स्थानमा १२० जना घाइते भएको र उनीहरूको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। ग्रामीण क्षेत्रमा आएको हावाहुरीका कारण घर, पर्खाल भत्किनाका साथै ठूलो जनधनको क्षति भएको छ। हुरीका कारण आपत्मा परेकाहरूको उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासी खटिएको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.