विचार

नेपाली सेना र सैनिक कुटनीतिमा आक्षेपको खेल
SHARES

दुईदेशका सरकार बीच सिधा संवाद गर्नु उपयुक्त

चैत २०, २०७५

    काठमाडौँ : नेपालमा अहिलेसम्म परराष्ट्र सम्बन्धका विषयमा विवादमा नआएको संस्था नेपाली सेना हो। तर, यति बेला आन्तरिक वा बाह्य रूपमा सेनालाई पनि राजनीतिमा मुछ्न थालिएको छ।

     पछिल्लो उदाहरण बिमस्टेकको काठमाडौँमा भएको चौथो शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको बिमस्टेक सदस्य राष्ट्रको सैन्य अभ्यास हो। सम्मेलनपछि पुनामा हुने भनिएको बिमस्टेक राष्ट्रको संयुक्त सैन्य अभ्यासमा जाने तयारीमा रहेका बेला सरकारले अन्तिम समयमा जान रोक लगाएको थियो। यो विषयलाई लिएर परराष्ट्र सम्बन्धमा दीर्घकालीन असर पर्न सक्ने विश्लेषण नेपाली परराष्ट्रविद्हरूले गरेका थिए। तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाका परराष्ट्र सल्लाहकार रहेका डाक्टर दिनेश भट्टराईले एक दैनिक पत्रिकामा लेखेको लेखमा सेनालाई अन्तिम समयमा सरकारले लगाएको रोकको असर भविष्यमा देखिन सक्ने उल्लेख गरे। 

    यतिवेला भारतीय सञ्चारमाध्यमहरूले नेपाली सेना माथि अनर्गल विषयहरूको उठान गर्दै आरोप थोपर्न थालेका छन्। कतै त्यतिवेलाको तिक्ततालाई लिएर यतिवेला  केही भारतीय सञ्चारमाध्यमले परराष्ट्र सम्बन्धका विषयमा विवादमा नआएको नेपाली सेनालाई विवादमा ल्याउने आशयले समाचार प्रकाशन गर्न थालेका छन्। भारतीय निर्वाचनको पूर्व सन्ध्यामा भारतीय सञ्चारमाध्यमले दुईदेशीय सम्बन्धको संवेदनशील विषयलाई यसरी उठान गर्नु अर्थपूर्ण रूपमा हेरिएको छ। 

    भारतीय सञ्चारमाध्यम आजतकको अप्रिल २ को अनलाइन संस्करणमा  ‘नेपाल की सेना में घुसपैठ कर पाक रच रहा भारत के खिलाफ साजिश’ शीर्षक दिएर नेपाली सेनाका बारेमा यस्तै समाचार प्रकाशित भएको छ। जुन नेपालसँगको सम्बन्धका हिसाबले आफैमा संवेदनशील विषय हो। समाचारमा नेपाली सेनाको बिश्वसनियताकाबारेमा शङ्का गर्दै एकतर्फी रूपमा आरोपित गरिएको छ। जसमा पाकिस्तानले नेपाली सेनाको सहकार्यमा काठमाडौँमा नेशनल डिफेन्स कलेज स्थापना गर्ने कुरा उल्लेख गरिएको छ।

    करिब तीन सय वर्षको इतिहास रहेको नेपाली सेनाले अहिलेसम्म कुनै देशसँग पनि मिलेर डिफेन्स कलेज सञ्चालन गरेको छैन। पहिलो र दोस्रो विश्वयुद्धमा ब्रिटिस सेनालाई सघाएको नेपाली सेनाले ब्रिटिससँगको सहकार्यमा पनि नेपालमा त्यस किसिमको कुनै संस्थागत अभ्यास या प्रशिक्षण चलाएको छैन। दुई देशीय आपसी सम्बन्धका आधारमा नेपाली सेना र भारतीय सेनाका बीचमा भगिनी सम्बन्ध रहँदै आएको छ।

    करिब तीन सय वर्षको इतिहास रहेको नेपाली सेनाले अहिलेसम्म कुनै देशसँग पनि मिलेर डिफेन्स कलेज सञ्चालन गरेको छैन। पहिलो र दोस्रो विश्वयुद्धमा ब्रिटिस सेनालाई सघाएको नेपाली सेनाले ब्रिटिससँगको सहकार्यमा समेत नेपालमा त्यस किसिमको कुनै संस्थागत अभ्यास या प्रशिक्षण चलाएको छैन। दुई देशीय आपसी सम्बन्धका आधारमा नेपाली सेना र भारतीय सेनाका बीचमा भगिनी सम्बन्ध रहँदै आएको छ। नेपाली सेनाका प्रधानसेनापतिलाई भारतमा मानार्थ प्रधानसेनापतिको सम्मान दिने गरिएको छ भने भारतीय स्थल सेनाका प्रमुखलाई सोही दर्जाको सम्मान नेपाली सेनाले पनि दिंदै आएको छ। 
    यति निकटतम सम्बन्ध रहेको संस्थाका बीचमा शङ्का र भय उत्पन्न हुने काम गर्नु आफैमा राम्रो सन्देश होइन। उल्लिखित समाचार अनुसार नेपाली सेनाले छिमेकी भारतका विरुद्ध नेपालमा गतिविधि गर्न लागेको जनाइएको छ। तर, यसरी दुई देशीय सम्बन्धकाबीचमा रहेको आपसी विश्वासलाई शङ्का उत्पन्न हुने गरी समाचार प्रकाशन प्रसारण हुनु आफैमा दुखद विषय हो।

    समाचारले दुई देशीय सम्बन्धमा रही आएको सुमधुर सम्बन्धलाई क्षय पुर्‍याउन सक्दछ। समाचार यदि भारतीय सुरक्षा एजेन्सीको समन्वयमा लेखिएको हो भने त्यसले विश्वास र परिपक्वता प्रकट गर्दैन। नेपालले पनि दुई देशीय सम्बन्धमा चिरा पार्ने यस्ता विषयमा निर्णय गर्दा सतर्कता अपनाउन आवश्यक छ। 
    नेपाल र भारतकाबीचमा सैन्य सम्बन्धलाई प्रगाढ बनाउन दुवै देशका दूतावासमा सैनिक सहचारी समेत राखिँदै आएको छ। सहचारी मार्फत यस्ता समाचार र जानकारीका बारेमा आपसी छलफल गरी शङ्का निवारण गर्न आवश्यक रहन्छ। दूतावासहरूले पनि यस्ता संवेदनशील विषयमा ध्यान दिएर आ आफ्ना संयन्त्रलाई सत्य र तथ्यका आधारमा प्रशिक्षित गर्न आवश्यक रहन्छ। 

    दुई देशीय सम्बन्धको कुरा गर्दा सन् १९६२ मा भारत र चीनबीच सीमा विषयलाई लिएर युद्ध भइसकेपछि नेपालसँगको सम्बन्धलाई लिएर दुवै देशले संयमताका साथ भूमिका निर्वाह गरेका थिए। युद्धपछि नेपाल पठाइएका आ आफ्ना राजदूतलाई नेपाल सम्बन्धका बारेमा संवेदनशील अवस्थामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सचेत तुल्याएका थिए। नेपालले पनि ती देशमा नियुक्त गरेका राजदूतहरूलाई दुई देशीय सम्बन्धको संवेदनशीलतालाई ध्यान दिन सचेत गराएको थियो। सन्दर्भले सन् १९६२ पछि भारतले नेपाल पठाएका राजदूत श्रीमन नारायणको आत्म समिक्षात्मक पुस्तक अध्ययन गर्दा ती सबै विषय जानकारी हुन आउँछन्। 

    तत्कालीन समयमा भारतले नेपालसँगको सम्बन्धका बारेमा दिएको महत्त्व पुस्तक अध्ययन गर्दा जानकारी हुन्छ। पुस्तकमा श्रीमन नारायणले उल्लेख गरेका सन्दर्भलाई यहाँ स्मरण गर्नु सान्दर्भिक हुनेछ। नारायणले पुस्तकमा आफ्ना भनाइहरूलाई यसरी उल्लेख गरेका छन्।  ‘सन् १९६२ को भारत चीन युद्धपछि श्रीमन नारायणलाई नेपालका लागि भारतीय राजदूत नियुक्ति गर्ने क्रममा भौगोलिक हिसाबले नेपाल एउटा महत्त्वपूर्ण छिमेकी हो र उसलाई विश्वासमा लिएर मित्रवत सम्बन्ध कायम राख्नु आजको आवश्यकता हो। त्यो मर्यादा कायम गर्न सक्ने व्यक्ति तपाईँ भएको हुनाले राजदूतको जिम्मेवारी वहन गर्न अनुरोध गर्दछु। भारतीय प्रधानमन्त्री लालबहादुर शास्त्रीको अनुरोध स्वीकार गरी गैर कूटनीतिक क्षेत्रका व्यक्ति श्रीमन नारायण नेपालको राजदूत भएर आए। 

    नेपालका तत्कालीन राजा महेन्द्रलाई आफ्नो ओहोदाको प्रमाणपत्र चढाउने क्रममा आफू कूटनीतिज्ञ भएर आएपनि आफूलाई यो कूटनीति मन नपर्ने र सत्यमा विश्वास रहेको जाहेर गरेका थिए। उनको त्यो भनाइलाई महेन्द्रले आत्मसात् गर्दै महामहिम म तपाईँको भनाइबाट शतप्रतिशत सहमत छु। हाम्रो सम्बन्धमा सत्यमा आधारित रहँदै आएको छ र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिन सकियोस्।’

    संवेदनशील विषयहरूमा सरकारका निर्णयले दीर्घकालीन असर पारेको हुन्छ। यति बेला नेपाली सेनाको विषयमा भारतको महत्त्वपूर्ण सञ्चारमाध्यमले उठान गरेको विषय दुई देशीय सम्बन्धको सुक्ष्मतुष्टी भनेर बुझ्न सकिन्छ। समय, सान्दर्भिकता र सम्बन्धलाई ध्यान दिएर दुई देशीय सम्बन्धमा विश्वास आर्जन गर्ने काम सरकारको हो। सरकारले पनि आफ्ना निर्णय गर्दा छिमेक वा अन्य देशसँगको सम्बन्धलाई ध्यान दिन आवश्यक रहन्छ।

    सरकारको निर्णयको निशाना देशभित्रका संवेदनशील संस्थाहरू बन्नु हुँदैन। यस्ता निशानाले संस्थामात्र नभएर संरचना प्रति नै भय र आशङ्का उत्पन्न गराउँछ। त्यसैले आफ्नो गोपनीयतालाई संस्था र संस्था अन्तर्गतका पदाधिकारीहरूले पनि ध्यान दिन आवश्यक रहन्छ। अहिलेसम्म रही आएको नेपाली सेनाको विश्वसनीयतालाई कायम राख्नु नेपाल सरकार, नेपाली सेना र नेपाली सञ्चारमाध्यमको पनि जिम्मेवारी हो।

    अरूको निराधार आरोपमा प्रतिशोधको भावना उजागर गर्नुभन्दा शङ्का र भय निवारण हुने गरी समझदारी कायम गर्नु स्वयं नेपाली सेनाको जिम्मेवारी हो। त्यो जिम्मेवारी नेपाली सेनाले कसरी निर्वाह गर्छ त्यो उसकै विषय हो।   
    यस अगाडी पनि मधेस आन्दोलनका क्रममा र नाकाबन्दीको समयमा केही भारतीय सञ्चारमाध्यमले यस्तै तथ्यहिन समाचारहरू सम्प्रेषण गरेका थिए। बेलाबखत कतिपय भारतीय सञ्चारमाध्यमले काल्पनिक समाचारको बाढी नैं बगाउने गर्छ्न भन्ने धेरैलाई थाहा छ। यस्ता समाचारको विश्वसनियतमा प्रश्न चिन्ह उठ्ने भएकाले यसकै आधारमा धारणा बनाउनु पनि हुँदैन। सकेसम्म त यस्ता बिषयलाई दुबै देशले आआफ्नो क्षेत्रमा उचाल्न र उछाल्न नदिन आवश्यक कदम चाल्ने र सरकार सरकार बीच सिधा संवाद गरिहाल्नु पर्छ। किनभने सञ्चारमाध्यममा आएका यस्ता बिषयले यदाकदा असमझदारी पनि उत्पन्न हुन सक्छ।  दुई देशको सम्बन्धमा खलल पुग्ने गरी संसारका कुनै पनि देशका मिडियाले समाचार दिनु हुँदैन भन्ने मान्यतालाई सबैले सम्मान गर्नुपर्छ। देशको राष्ट्रिय सेना कमजोर भए देश कमजोर हुन्छ र शत्रुको निशाना सधैं सेना माथि नैं हुन्छ भन्ने समकालिन राजनीतिले पनि बुझ्नु पर्छ।

माधव दुलाल

लामो समयदेखि पत्रकारितामा सक्रिय दुलाल हाल रेडियो थाहासंचारमा आवद्ध छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]